शैक्षिक गुणस्तर सुधारका लागि दुई दिने कार्यशाला सम्पन्न

बिहीबार, जेठ १७, २०८१

रुकुम पूर्व/ जिल्लामा बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवालाहरुको उपस्थितिमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । हुरेड कार्स रुकुमको आयोजनामा रुकुमकोटमा जेठ १६ देखि संचालन भएको दुइ दिने कार्यशाला सम्पन्न भएको हो ।

विकास साझेदार संस्थाहरु अमेरिकी अन्तराष्ट्रिय विकास नियोग, सिविल सोसाइटी एण्ड मिडिया एक्टिभिटी, सिकाईमा समूदायको सहभागिता(च्यालेन्ज फन्ड)को सहयोगमा द एशिया फाउनडेशन र हुरेड कार्स नेपालको साझेदारीमा संचालित परियोजना अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको हो । 

सामुदायिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, प्रधानाध्यापकहरु र अभिभावकहरुको क्षमता अभिबृद्दि गर्ने उदेश्यले कार्यशालाको आयोजना गरिएको आयोजक संस्थाका परियोजना संयोजक टेक बहादुर बिकले बताउनुभयो ।

कार्यशालामा बिद्यालयहरुको बर्तमान अवस्था, बिद्यालय सुशासन, बिद्यालय सुधार योजना, बिद्यालय सुरक्षा, आपतकालिन अवस्थामा शैक्षिक निरन्तरताको तयारी, बिद्यालय आचार संहिता, बिद्यालयमा गुनासो सुनुवाइ प्रणालिको स्थापना, बिद्यालय ब्यवस्थापन समितिको काम कर्तब्य र अधिकार लगायतका बिषयमा छलफल, अन्तर्क्रिया गरि शैक्षिक गुणस्तरका लागि योजना निर्माण भएको समेत संयोजक बिक ले जानकारी दिनुभयो ।

उक्त कार्यशालामा सिस्ने गाउँपालिकाका वडा नं ५ र ६ का वडाध्यक्ष, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु,  शिक्षक अभिभावक संघका पदाधिकारीहरु, प्रधानाध्यापक तथा शिक्षकहरु र परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण केशब कुमार बिसीले गर्नुभएको थियो ।

हुरेड कार्स रुकुमले साझेदार निकायहरुको सहयोगमा रुकुम पूर्व जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिका र रोल्पा जिल्लाको थबाङ गाउँपालिकाका अठार बिद्यालयहरुमा समूदाय र संजालको सहभागिता मार्फत सामूदायिक बिद्यालयको शैक्षिक सुधार परियोजना संचालन गरिरहेको र सोहि परियोजना मार्फत कार्यशाला संचालन गरिएको बताएको छ । 

संस्थाले यस अघि नै जिल्लाका पुथाउत्तरगंगा  गाउँपालिका, भूमे गाउँपालिका र रोल्पा जिल्लाको थवाङ गाउँपालिका रोल्पामा कार्यशाला संचालन गरिसकिएको बताएको छ ।

बिहिवार सिस्ने गाउँपालिका वडा नं ६ का वडाध्यक्ष पूर्ण बहादुर मल्लको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरि कार्यशालाको समापन गरिएको थियो । समापन कार्यक्रममा बोल्दै रुक्मिणी माध्यमिक बिद्यालय रुकुमकोटका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले शैक्षिक सुधारका लागि चाहना हुदाहुदै पनि कतिपय योजनाहरुको कार्यान्वयन नहुने अवस्थामा प्रभावकारी रुपले कार्यक्रम तथा योजनाहरु बनाउन र कार्यान्वयन गर्न यो कार्यशालाले बाटो निर्माण गरेको बताउनुभयो ।

समापन कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका तर्फबाट ओमप्रकाश थापा, प्रधानाध्यापकको तर्फबाट चन्द्रबहादुर मल्ल र वडाध्यक्ष बिरेन्द्र बस्नेतले दुइ दिने कार्यशालाका बिषयमा आफ्ना भनाईहरु राख्नुभएको थियो ।

दुई दिने कार्यशाला निकै प्रभावकारी रहेको र आगामी दिनहरुमा शैक्षिक गुणस्तर सुधारका लागि पहिचान गरिएका क्रियाकलाप र योजनाको प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै सरोकारवालाहरुको भूमिका रहेको वडा नं ६ का वडाध्यक्ष तथा समापन कार्यक्रमका अध्यक्ष पूर्ण बहादुर मल्लले बताउनुभयो । साथै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै समुदाय स्तर सम्म पुर्याउनुपर्ने आवश्यकता रहेको समेत अध्यक्ष मल्लले बताउनुभयो ।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  २३:१२
प्रतिक्रिया दिनुहोस्