मलेसियामा घाईते रुकुमका युवा भन्छन्, ‘खुट्टा भाँचियो, कम्पनीले उपचार गरिदिएन, नेपाल फर्किन पाउँ’

शनिबार, वैशाख १५, २०८१

बैदेशिक रोजगारीको क्रममा मलेसिया गएको बेला दुर्घटनामा परेर घाईते भएका रुकुम पश्चिमका एक युवालाई उपचारमा समस्या भएको छ । 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ घर भई हाल मलेसियामा रहनुभएका २५ वर्षिय बिष्णु केसीलाई उपचारमा समस्या भएको हो । 

मलेसियाको सिलिङ शहरमा रहनुभएका घाईते केसीले आफू करिब डेढ महिना पहिला मोटरसाईकल दुर्घटनामा परेको र हालसम्म गतिलो उपचार पाउन नसकेको बताउनुभयो । उहाँले दुर्घटनामा परेर आफ्नो दायाँ खुट्टा भाँचिएको तर भरपर्दो उपचार नपाएको जानकारी दिनुभयो । 

केसीले दुर्घटनामा परेको बेला खुट्टाको अप्रेशन गरिएको तर सफल नभएको बताउनुभयो । त्यसयता हालसम्म पनि थप उपचार हुन नसकेको उहाँले जनाउनुभयो । ‘म साथीहरुसँगै कोठामा थन्किएको छु’, केसीले भन्नुभयो, ‘कम्पनीले मेरो उपचारमा चासो दिदैन, म नेपाल फर्किएर उपचार गर्न चाहन्छु ।’ उहाँलाई कम्पनीले नेपाल फर्काईदिने बताएपनि अहिलेसम्म वास्ता गरेको छैन । 

उहाँ तीन महिना पहिला चार लाख आठ हजार रुपियाँ खर्च गरेर मलेसिया पुग्नु भएको थियो । मलेसिया गएर काम सुरु गरेको डेढ महिनामै मोटरसाईकलको ठक्करबाट घाईते हुनपुगेको उहाँले जनाउनुभयो ।

ठक्कर दिएर घाईते बनाउने मोटरसाईकल र चालक पत्ता नलागेको र आफू कार्यरत कम्पनीले पनि वास्ता नगरेको उहाँको भनाई छ । साहु ऋण गरेर बैदशिक रोजगारी रोज्नु भएका उहाँले मलेसियाको मुल्टेस नामक कम्पनीमा काम सुरु गर्नुभएको थियो । 

पहिलो पटकको उपचारले कुनै सुधार नभएपछि उहाँलाई अहिलेसम्म अस्पतालमा लगिएको छैन । उहाँलाई अहिले साथीहरुले आश्रय दिईरहनुभएको छ । उपचार पनि नपाएको र हिड्डुल समेत गर्न नसक्ने अवस्था रहेको उहाँको अवस्था दयनिय बन्दै गएको उहाँका साथीहरुले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्