मुसिकोटको रिनदहमा तिर्थ स्मृति पार्क निर्माण हुँदै (फोटोहरु)

बुधबार, चैत २८, २०८०

रुकुम पश्चिमको पर्यटकियस्थल मुसिकोटको रिनदहमा तिर्थ स्मृति पार्क तथा प्रतिक्षालय निर्माणको काम तिब्र रुपमा भईरहेको छ । मुसिकोट नगरपालिका वडा नम्वर ७ र ८ को संगमस्थल रिनदह परिसरमा प्रतिक्षालसहितको पार्क बन्न थालेकोे हो । 

मुसिकोट नगरपालिका वडा नम्वर ७ खालबोट साँख निवासी स्व. तिर्थ बहादुर पुनको स्मृतिमा पार्क र प्रतिक्षालय निर्माण हुन लागेको हो । स्थानीय चँयरी सामुदायिक वन उपभोक्ता समुहले स्व. पुनको परिवार र अन्य सहयोगीदाताहरुको आर्थिक सहयोगमा पार्क बनाउन लागेको हो ।

rindaha-2-1712719875.png
दुर्घटनामा परेर घाईते हुनुभएका पुनको २०७३ साल साउन २२ गते उपचारको क्रममा निधन भएको थियो । अघिल्लो दिन साउन २१ गते जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाबाट घर फर्कने क्रममा मुसिकोट नगरपालिका –६ को कानेबाङमा भएको जिप दुर्घटनामा परेर उहाँ घाईते हुनुभएको थियो । उपचारको लागि नेपालगञ्ज लैजाने क्रममा उहाँको निधन भएको थियो । 

समाजसेवा र राजनीतिमा जोडिनु भएका पुनको सामाजिक तथा राजनीतिक क्षेत्रको योगदानको कदर गर्दै उहाँकै स्मृतिमा पार्क र प्रतिक्षालय बनाउन लागेको वन समुहले जनाएको छ ।

समुहका अध्यक्ष नविन कुमार पुनका अनुसार वन क्षेत्रमा निर्माण गरिने पार्क र प्रतिक्षालय मार्फत पर्यापर्यटनको विकास, पर्यटन व्यवसाय सञ्चालन मार्फत आय आर्जन गर्न सकिने छ । विभिन्न निकायहरुसँगको साझेदारीमा आवश्यक संरचनाहरु थप गरेर महत्वपूर्ण पर्यटकियस्थलको रुपमा विकास गरिने अध्यक्ष पुनको भनाई छ । 

rindaha-3-1712719880.png
स्व. पुनका छोरा लोकेन्द्र पुनका अनुसार करिब १६ लाखको लागतमा पार्क र प्रतिक्षालय बनाउन थालिएको हो । आगामी बैशाख मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरेर काम भईरहेको छ । हालसम्म पार्क निमार्णको करिब ७० प्रतिशत काम पुरा भईसकेको उल्लेख गर्नुहुँदै लोकेन्द्रले निर्माण कार्य पुरा गर्नमा विभिन्न व्यक्ति तथा निकायबाट सहयोगको लागि अपिल समेत गर्नुभयो ।

हालसम्म १२ लाख रुपियाँ खर्च भईसकेको बताईएको छ । पार्क निमार्णपछि त्यसको स्वामित्व स्थानीय सरकारले लिएमा थप राम्रो हुने पुन परिवारको भनाई छ ।

मध्यपहाडी लोकमार्गसँगै जोडिएकोे यस ठाउँमा पार्क तथा प्रतिक्षालय निर्माण हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटकीय गतिविधिहरु समेत बढ्न सक्ने बिश्वास गरिएको छ ।

rindaha4-1712719891.png
यस क्षेत्रमा सिद्धपुज्ने र बराहपुज्ने धार्मिकस्थलका साथै नौाधरी डाँडा, गर्पा धुरी, तीन बहिनी लेक लगायतका पर्यटकिय सम्भावना बोकेका स्थानहरु रहेका छन् । वरिपरी वन जङगलले घेरिएको यस क्षेत्रमा वनभोजका साथै हिमपातको समयमा पर्यटकहरुको बाक्लो उपस्थिति हुने गर्दछ । 

rindaha-1-1712720010.png
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्