कविता : छोरा तिमी पुलिस बन !

शनिबार, फागुन १२, २०८०
  • पारस भट्ट 'प्यासी'

मेरा बा भन्नुहुन्छ,
सलाम गर, जय नेपाल भन
छोरा तिमी पुलिस बन
नेपालको मान, सम्मान 
इज्जत, भरोसा तिमी बनिदेऊ
जिद्दी नगर तिमी 
बा'ले भनेको मान 
यत्ति कुरा जान
त्यो रामे, श्यामेको छोरालाई 
विदेश जान देऊ
तिमी बा'ले भनेको मानिदेऊ
अब तिमी धेरै नपढ 
छोरा तिमी पुलिस बन।

पुलिस बन्यो भने 
तिमी बलियो हुन्छौ
तिमीलाई धेरै केही चाहिँदैन 
रहर, इच्छा, चाहना आफैं मर्छन्
तिमी भोकै पनि सुत्न सक्छौ
एक छाल लुगाले पनि
जीवन बिताउन सक्छौ 
तिमीलाई घर चाहिँदैन
तिमी देशको सेवा गर्न पाउँछौ
तिमी राति बाह्र बजे पनि 
उठ्न सक्छौ
तिमी रातभरि नसुतेर नि बस्न सक्छौ
खानामा तिमीलाई
रात-दिन सुक्खा भात भए नि हुन्छ
रोटि चाहिँदैन, तरकारी चाहिँदैन 
दूध मोहि चाहिँदैन, खेतबारी चाहिँदैन 
चियाको अमल हट्छ
आगोमा आमाले बनाएको 
दाल तरकारी भातको स्वाद हट्छ
किनकि तिमी आफैं बनाएर खान्छौ
आफैं भाँडा धुन्छौ
आफैं बजार जान्छौ 
आफैं किनेर ल्याउछौ
तिमीलाई कोही चाहिँदैन

आमाको याद 
छोराछोरीको याद
म बूढो बाउको याद आउला
भनेको बेला छुट्टी मिल्दैन
र त घर परिवार भेट्न मिल्दैन्
तिमी एक्लै पनि जिउन सक्छौ
कतै हुल झैं झगडा होला 
तिमी छुटाउनू
दुई जनालाई मिलाउनू
कहिँ केहीँ चोरी होला 
चोर पत्ता लाउनू 
रात नभन्नू, दिन नभन्नू, खटिरहनू 
देश र जनताकै लागि परिरहनू
छोरा तिमी पुलिस बन

दोषी भाग्न सक्छ
केही तिमीले नजानेको नि हुनसक्छ
नबुझ्नेले तिमीलाई कहिले गाली पनि गर्ला
गाली किन गर्यौ भन्दै 
कसैले उस्लाई पनि हातपात गर्ला 
तिमी मिलाइदिनू
कुरा नबुज्नु उस्को गल्ती होला 
तिमीलाई गाली दिनू
ठिकै छ छोरा तिमी उस्लाई ताली दिनु
बुझ्नेलाई धन्यवाद दिनू 
नबुझ्नेलाई सम्झाइदिनू
सहिदिनू, देश र जनतालाई बचाइदिनू
हुन्छ बा, म पुलिस बन्छु भनिदेऊ न
देश र जनताकै लागि यो ज्यान दिन्छु भनिदेऊ न
निराश नहुनू, एकदिन त 
मेरो पनि दिन आउला भन
मेहनतको फल मीठो हुन्छ
स्यालरी आउला पसले दाइको 
ऋण बुझाउला भन
छोरा तिमी पुलिस बन।
- सेतोपाटिबाट 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : त्यो युद्ध र सपनाहरु
शनिबार, फागुन १२, २०८०

कविता : प्रिय कर्णाली !
शनिबार, फागुन १२, २०८०

कविता : पालमुनीको बसाई 
शनिबार, फागुन १२, २०८०