नेभिगेशन
साहित्य
यात्रा संस्मरण

दयालुहरूको लेक : दयालेक !

करिब पन्ध्र दिनअघि जिबाङका कलिला विद्यार्थीहरूलाई लिएर दिनभर गुफाहरू चहारेर साँझ घर फर्कँदा शरीर यति थाकेको थियो कि लागेको थियो, सायद यही नै मेरो अन्तिम लामो पदयात्रा हो । अब यस्ता अग्ला लेक र कठिन उकालाहरू चढ्ने सामर्थ्य जुटाउन सक्दिनँ होला । उमेरसँगै शरीरले आँट गर्न हार खाँदै थियो ।

तर साठीको नजिक पुगिरहेको शरीरले अर्को लामो पदयात्रा गर्ने साहस जुटायो ।

असार २० गते बिहान सेरीगाउँबाट मनलाल ओली सर सोलाबाङ आइपुग्नुभयो । सामान्य खाजापछि हामी नुवाकोट डाँडाको यात्रामा निस्कियौँ ।  उद्देश्य केवल एउटा लेक चढ्नु मात्र थिएन । त्रिवेणी गाउँपालिकाको पाठ्यपुस्तकमा समेटिएका पर्यटकीय सम्पदाहरूलाई आफ्नै आँखाले हेर्ने, नबुझेका कुरा स्थानीयसँग बुझ्ने र कागजमा लेखिएका तथ्यहरूलाई भूमिमा टेकेर पुनः पुष्टि गर्ने हाम्रो योजना थियो ।

सोलाबाङ बजारमा पुग्दा पेउघातर्फ जाँदै गरेको एउटा अटो छुट्नै लागेको रहेछ । यात्रुहरू भरिइसकेका थिए । अर्को गाडी कुर्दा समय खेर जाने देखेर हामी पनि चालकको सिटको दायाँबायाँ जेनतेन अट्यौँ । अटो बिस्तारै बजार छोडेर मुग्लुखोला तर्‍यो र काइँयाखोलाको किनारै किनार पश्चिमतिर लाग्यो ।

केही दिनदेखिको वर्षातले पहाडहरू धोईपखालेर स्निग्ध बनाइदिएको थियो । तर सधैँ कञ्चन देखिने काइँयाखोला भने बेसरी धमिलिएको थियो । गहिरो साँघुरो खोँचभित्र चञ्चल युवकझैँ उफ्रिँदै बगिरहेको थियो । कतै कालोपत्रे सडक चिल्लो चापुल्लो देखिन्थ्यो भने कतै रातारात खसेका पहिराहरूले त्यसको अनुहार निर्ममतापूर्वक चिथोरेका थिए ।

प्रकृतिले मान्छेको श्रमलाई चुनौती दिइरहेको थियो, तर गाडी चालकहरू र यात्रुहरूको उत्साह र यात्रा गर्नै पर्ने बाध्यता भने त्योभन्दा जब्बर बलियो देखिन्थ्यो ।

भयाँरथान पुगेपछि हामीले अटोलाई एकछिन रोक्न अनुरोध गर्‍यौँ र माेबाइल तेर्स्याउँदै बाहिर निस्कियौँ । यो ठाउँ किन महत्त्वपूर्ण थियो भने एउटा सानो खोल्साले मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाको सिमानाको काम गरेको थियो । वरिपरि अग्ला पहाड भएकाले माथिल्लो भूभाग देखिँदैनथ्यो । मनलाल सरले पारितिर बाह्रधार्नी गाउँ र माथितिर बरनेटी गाउँ रहेको बताउनुभयो ।

‘भयाँरथान’ नाम सुन्नासाथ त्यसको इतिहास खोज्ने जिज्ञासा जाग्यो । त्यहीँ भेटिएका स्थानीयसँग थानको बारेमा सोध्यौँ । उनीहरू वर्षौ देखि त्यहीँ बस्दै आएका रहेछन्, तर थान कहाँ छ वा किन त्यो ठाउँको नाम भयाँरथान रह्यो भन्ने कुरा कसैलाई थाहा रहेनछ । भूगोलले इतिहासलाई जोगाइराखेको थियो भने इतिहास भने मान्छेको स्मृतिबाट हराइसकेको देखियो ।

अलि माथि चढ्दै जाँदा पेदीखेत, सालघारी, लामपाटा र मान्टुराजस्ता बस्तीहरू देखा पर्न थाले । तल काइँयाखोलाले फराकिलो फाँटलाई सिञ्चित गरिरहेको थियो । अधकांश गरामा खेत रोपाइ सकिए पनि बाँकी खेत रोप्न मान्छेहरू खेतभरि ओइरिएका थिए । 

त्रिवेणी गाउँपालिकाको नाम रुँघाखोला, खाराखोला र मुरुखोलाको सङ्गम त्रिवेणीबाट रहन गएको कुरा हामीले पाठ्यपुस्तकमा समावेश गरेका थियौँ । तर यस भेगका साथीहरूले बारम्बार एउटा प्रश्न उठाउने गर्नुहुन्थ्यो - ‘त्रिवेणीको सबैभन्दा ठुलो खोला त त काइँयाखोला हो, त्यसलाई किन छुटाइयो ?’

त्यो दिन आफ्नै आँखाले हेर्दा उनीहरूको जिज्ञासा अस्वाभाविक लागेन । लम्बाइ, जलप्रवाह र वरिपरिका उर्वर फाँटहरूलाई जीवन दिने भूमिकाका हिसाबले काइँयाखोलाको महत्त्व अन्य खोलाहरूभन्दा साँच्चिकै उल्लेखनीय देखियो । पुस्तकमा लेखिएका शब्दहरूभन्दा प्रत्यक्ष देखिएको दृश्य धेरै प्रभावशाली हुँदो रहेछ ।

Daya11-1783686565.jpgशनिबार भएकाले सडकमा गुड्ने गाडीको तुलनामा प्रतीक्षारत यात्रुहरू धेरै थिए, । पेदीखोलाबाट तीन सिटे अटोमा सात जना कोचिएर बस्यौँ । कोलडाँडाको खोलो पार गरेपछि टुनीबोटदेखि हाम्रो बाटो ठाडै उकालियो । नुवाकोट डाँडातिर सोझिएको नागबेली सडकले अटोको क्षमताको परीक्षा लिइरहेको थियो । एउटा मोडमा पुग्दा अटो पछाडि चिप्लेलाझैँ भयो । तल गहिरो खोँच थियो । चालकले स्टेरिङ रोक्दा, हामीले सास रोकेका थियौँ ।

चौताराको नजिक नजिक पुग्दा यात्रुहरू एक–एक गर्दै ओर्लिए । अन्त्यमा मनलाल सर र म मात्र बाँकी रह्यौँ । हिजो अस्तिको वर्षातले केही माथि बाटो नै चिरिएको रहेछ । बाटो चिरिएको ठाउँमै अटो रोकियो । चालकले अटो त्यसभन्दा अगाडि लैजान नसकिने बताए ।

त्यसपछि भएको भाडाको प्रसङ्गले भने यात्राको पहिलो झट्का दियो।

चालकले सात सय रुपैयाँ भाडा मागे । क्षणभर त मलाई आफूले ठिक सुनिनँ कि जस्तो लाग्यो । चार सय मागेको होला भन्ने भयो । सोलाबाङबाट करिब १५ किलोमिटर दूरीको यात्रा, त्यसमाथि आधा बाटोमै ओर्लनुपरेको अवस्था । मनभित्र प्रतिवादका धेरै वाक्य एकैचोटि उम्लिए । तर मनलाल सरले केही भन्नुभएन । उहाँले खल्तीबाट सात सय रुपैयाँ निकालेर चालकको हातमा थमाइदिनुभयो ।

चार सय माग्दा किन सात सय दिनुभयो भनी मनलाल सरलाई सोधेँ । उहाँ मुस्कुराउनुभयो मात्र । चालकले कहाँ चार सय भन्नु भाडा सात सय नै हो भनेर पुनर्पुष्टि गरे । म हेरेको हेरेई भएँ ।

सामान्यतया मनलाल सर र मेरो गोजीमा सय रुपैयाँ पनि भेटिन मुस्किल पर्छ । त्यो दिन लामो यात्राको अनुमान गरेर मैले पाँच सय रुपैयाँ बोकेको थिएँ । यदि भाडा मैले तिर्नुपरेको भए त मोबाइल वा छाता नै धरौटीमा राख्नुपर्ने अवस्था आउँदो रहेछ । चालकले पैसा हात पार्नासाथ अटो घुमाए र एकैछिनमा धुलो उडाउँदै तलतिर हराए ।

क्षणभर अघि लेकको हरियालीले आह्लादित भएको मनमा अब भाडाले एउटा सानो काँडा बिझाइदिएको थियो । जति झिक्न खोजे पनि केही बेरसम्म चस्स चस्स घोचिरह्यो ।

तर यात्राको एउटा सुन्दर विशेषता हुन्छ यात्राका सकारात्मक पक्षहरूले झिना मसिना अनुभूतिलाई धेरैबेर ठाउँ दिँदैनन् ।

हामी सडक छोडेर गाउँलेहरूले वर्षौंदेखि प्रयोग गर्दै आएको छोटो बाटोको उकालो समात्यौँ । बिच बिचमा हराउने साँघुरो गोरेटो बाटो, बारीका आली, घाँसे पाखा र ससाना चौतारी हुँदै हामी माथि माथि उक्लँदै गयौँ । वर्षातले गोरेटो बाटोमा स्यालीँ बिछ्याउन थालिसकेको थियो । पाइला घरी घरी तलतिर चिप्लन्थे । तर वरिपरिको मनोरम वातावरणले तानेर फेरि माथि नै पुर्‍याइदिन्थ्यो । लगातारको उकालोले उत्पन्न थकान पनि क्षणभरमा बिलाइहाल्थ्यो । 

Daya10-1783686765.jpgकरिब आधा घण्टाको उकालो चढेपछि हामीले समातेको बाटो एउटा घरको आँगनमा पुग्यो । त्यहाँ केही मानिसहरू आफ्नै काममा व्यस्त थिए भने कसैले नौला मानिसहरू हिँड्दै गरेको देखेर आश्चर्य मानेर हामीतिर हेरिरहेका थिए ।

मनलाल सरले मौकामा चौका हानिहाल्नुभयो : “ गोरस पाइन्छ कि हजुर ?”
एकजना अधबैँसे व्यक्तिले भन्नुभयोः "मही खाने भए छ । आजै पारेको हो । आलै छ ।"

उनले व्यक्त गरेका शब्दहरूमा यति आत्मीयता थियो कि हामी पाहुना होइन, आफन्तझैँ उहाँको पछि पछि लाग्यौँ ।

हामी पहिलो घरको पछाडिको दोस्रो घरमा पुग्यौँ । दैलोमा खप्ट्याएर राखिएका कुर्सीहरू झिकेर आँगनमा फिँजाइयो । केहीबेरमै गिलासभरि बाक्लो, चिसो मही ल्याइयो । पहिलो घुट्को घाँटी हुँदै तल झर्दा लाग्यो, यो केवल मही होइन, उकालोले जम्मा गरेको थकानजति बगाएर लगिदिने कुनै रामवाण औषधि हो ।

कुराकानी हुँदै जाँदा उहाँ त यस वडाका वडा सदस्य सन्तोष ओलीका पिता तिलवीरजी पो हुनुहुँदो रहेछ । नजिकै वडाध्यक्ष हरिबहादुर खड्काको घर पनि रहेछ । जनप्रतिनिधिहरूसँग भेट्ने हाम्रो इच्छा थियो । तर दुवै जना गाउँबाहिर हुनुहुँदो रहेछ ।

तिलवीरजीले जनप्रतिनिधिको कमी महसुस हुन दिनुभएन । आफूले गर्नुपर्ने घरायसी काम केहीबेर पन्छाएर हामीसँगै नुवाकोट डाँडासम्म पुग्नुभयो ।

बाटो देखाउँदै जाँदा उहाँले वरपरका डाँडा, खोला र बस्तीको नाम र विशेषता बताउँदै जानुहुन्थ्यो । हामीले पुस्तकका लागि तथ्य खोजिरहेका थियौँ, उहाँले भने ती तथ्यमा जीवन भर्दै जानुभएको थियो ।

मलाई लाग्यो - नक्सामा कोरिएका रेखाले भूगोल चिनाउँछन्, तर पैदल हिँडेको मान्छेले मात्रै समाज चिनाउँछ ।

नुवाकोटडाँडामा पुग्दा बिहानको घाम पनि चर्किसकेको थियो । बादलका गुच्छाहरू आकाशको पर पर थिए । डाँडामा पुगेपछि दक्षिणपट्टि सल्यानको दार्माकोट गाउँपालिकाका थुप्रै गाउँहरू डाँडाभरि छरिएका देखिए । पश्चिमतिर चौरजहारी नगरपालिकाका अनेकौँ गाउँहरू देखिए । उत्तरपश्चिमपट्टि एउटा अग्लो शिखरले आकाश थामेर उभिएझैँ प्रतीत भयो । 

“त्यही हो दयालेक, आँखाले देखेजति धेरै टाढा छैन । तपाईँहरू २ घण्टाभित्रै पुग्न सक्नुहुन्छ ।” तिलवीरजीले औँलाले देखाउँदै भन्नुभयो ।
हामी त्यही शिखरतिर केहीबेर निःशब्द हेरिरह्यौँ ।

दयालेक पुग्ने हाम्रो कुनै बनीबनाउ योजना थिएन । नुवाकोटडाँडाबाट निपानेतिर जाने सोच बनाएका थियौँ । तर दयालेक नजिकै देखिएपछि यत्तिकै छोड्न पनि मन राजी भएन ।

स्थानीयका लागि डेढ घण्टा भनेको हामीजस्ता यात्रीको लागि प्रायः दुई–तीन घण्टा लाग्ने अनुभव हामीसँग प्रशस्तै थियो । तर मोबाइलको घडी हेर्दा बिहानको दश मात्र बजेको रहेछ । दिन पूरै बाँकी नै थियो ।

हामीले एकअर्काको अनुहार हेर्‍यौँ । निर्णय गर्न धेरै शब्द चाहिएन । मैले “जाऔँ ।” भनेपछि मनलालले आफ्नो मनकै कुरा भनेझैँ मुसुक्क मुस्कुराउनुभयो ।

“सडकै–सडक जानुस् । सेतीपोखरीको प्रहरी चौकीबाट बायाँतिरको बाटो समात्नुहोला । कतै छुट्दैन ।”

नुवाकोटडाँडाबाट उहाँसँग बिदा माग्यौँ र हामी उकालोतिर पाइला चाल्न थाल्यौँ । केही तिर्पायाँ तिर्पायाँ हिँडेपछि प्रहरीचौकी त भेटियो तर सेतीपोखरीको दर्शन भने पाइएन ।

माथि उक्लिसकेको बाटो ओरालो झर्न थाल्यो । बाटो जति ओरालो झर्थ्यो, दयालेक उति अग्लिने मौका पाउँथ्यो । कतै तिलवीरजीले गलत बाटो त देखाउनु भएन ? मन सशङ्कित हुन थाल्यो ।

नयाँ सडकका घुम्तीहरू पार गर्दै हामी लिउरेबारी पुग्यौँ । एउटा घरमा पानी माग्यौँ । मनलाल सरले साथमा ल्याएको बोतल भर्न दिनुभयो । पानी हाल्न खोज्दा पेट्रोलको गन्ध आयो । जति पखाल्दा पनि गन्ध मेटिएन । अन्ततः बोतल त्यहीँ छोड्नुपर्‍यो । हामी लेकयात्रामा पानीबिनाका यात्री बन्यौँ ।

उहिले हटारुले नुन बोक्ने र घोडा–खच्चरलाई सामान बोकाएर हिडाउने बाटोझैँ फराकिलो तर पुरानो बाटो सुरु भयो ।

बाटोमा फराकिला पिपलचौतारीहरू भेटिए । यो बाटोले यौवनकालमा हटारुको पछिपछि लागेर नेपालगन्जसम्म हिँडेको स्मृति ताजा बनाइछोड्यो । घोडेटो बाटो तिर्पायाँ तिर्पायाँ लेकतिर उक्लिएको थियो । पाखाभरि छरिएका लेकाली रुखहरू हावासँग सुसाइरहेका थिए । ठाडो उकालो थिएन तथापि निरन्तर उकालो थियो । थकानले गर्दा हाम्रो सासले हावासँगै लय मिलाउन थाल्यो ।

मनलाल सर भन्दै हुनुहुन्थ्योः उकालोमा यति पनि स्वाँस्वाँ भएन भने शरीरमा न हेमोग्लोबिन बढ्छ न अक्सिजन । अनायासै स्वाँस्वाँ गर्न पाउनु योग–व्यायामभन्दा ठुलो ओखती हो । 

Daya9-1783686034.jpgलेकको केही तलै हाम्रा कदमले नाप्दै गरेको बाटो देब्रेतिर लाग्यो भने दायाँतिर फराकिलो ढुङ्गेसिँढी सुरु भयो । सिँढीको छेउछेउमा स्टिलका रेलिङ चम्किरहेका थिए । माथि एउटा विशाल प्रतीक्षालय र चट्टानको काखमा फलामे ढोका देखियो । यही रहेछ सिद्धगुफा ।

ढोकामा ताल्चा झुन्डिएको थियो । फलामका साङ्लाबिचबाट भित्र चियाउँदा अँध्यारोले गहिराइ लुकाइरहेको देखिन्थ्यो । रेलिङमा चिप्लेटी खेलिरहेका केटाहरूले भनेः पूर्वसूचना दिएपछि मात्र ताल्चा खुल्छ । बाघ पस्ने भएकाले गुफा बन्द राखिएको हो ।

क्षणभर मन खिन्न भयो । यति टाढा आएर पनि गुफाको अन्तरमनसम्म पुग्न नपाउनु यात्रुको लागि पश्चात्तापपूर्ण पीडा हो । मनलालले भन्नुभयो— प्रकृतिले सबै कुरा एकै दिनमा दिँदैन । केही रहस्यहरू फेरि फर्केर आउनका लागि सुरक्षित राखिदिन्छिन् । 

गुफाको मानवनिर्मित ढोका मान्छेले नै बन्द गर्न सके पनि प्रकृतिको ढोका कसैले बन्द गर्न सक्दैन । गुफाको बाहिरपट्टिको प्रतीक्षालयमा बसेर प्रकृतिको छटा स्वतन्त्र रूपमा दृश्यपान गरिरह्यौँ । त्यहाँ एकछिन बिसाएपछि वारिपारिको विहङ्गम दृश्यावलोकन गर्दै फेरि ढुङ्गेसिँढी हुँदै माथि उक्लिँदै गयौँ ।

हाम्रो अगाडि एकाएक खुला चौर फैलियो । बिचमा पानीले टल्किरहेको ठुलो पोखरी देखियो । वरिपरि झारले घेरेकाले होला यसलाई झारपोखरी भनिँदो रहेछ ।

Daya3-1783686204.jpegपोखरी धेरै ठूलो थिएन तथापि त्यसले पुरै लेकको आकाश आफ्नो काखमा बोकेर खेलाइरहेको जस्तो प्रतीत हुन्थ्यो । पोखरीको छेउतिरको पानी केटाकेटी र डिङाबाछाले धुमालेको भए पनि बिचतिर सङ्लो थियो । पानीको सङ्लो सतहमा बादलका सेता गुच्छाहरू पौडिरहेका थिए ।

त्यो दृश्यले थकाइलाई सर्लक्कै बिर्साइदियो । मनलालले प्रकृतिको इच्छानुसार योगका अभ्यासहरू देखाउन थाल्नुभयो । दयालेकका चुचुराहरू आफै ध्यानमग्न जस्ता देखिन्थे । प्राकृतिक शान्ति अवर्णनीय थियो ।

हामी झारपोखरीबाट अलिकति पूर्वतिर उक्लियौँ । पानी प्यासले जिब्रोदेखि घाँटीसम्म ओभानो भइसकेको थियो । एउटा गोठको आँगनमा पुगेर पानी माग्यौँ । गोठालाहरूले आफ्नै दुःख सुनाए - "यो लेकमा पानी पाइँदैन, तल खोँचबाट बोकेर ल्याउनुपर्छ ।"

अभावका बिच पनि उनीहरूले निकै तलबाट बोकेर ल्याएको पानी अम्खारामा भरेर हामीलाई पिउन दिए । पानी जति चिसो थियो त्योभन्दा मिठो आतिथ्यता घुलिएको थियो ।

अमृततुल्य पानीको प्रत्येक घुट्कामा उनीहरूको उदारता मिसिएको थियो । लेकमा पानीको अभाव छ ।  तर यहाँका मान्छेको मनमा पानीको अभाव छैन । 

हामीले निसङ्कोच आधा गाग्री रित्याइदिँदा पनि उनीहरू मुस्कुराइरहे । सायद यस्तै दयालुजनका कारण यस ठाउँको नाम दयालेक रहन गएको हो कि ! संसारमा सबथोक पुगेकाहरुका निम्ति सबसे महङ्गो हिरामोती होला । तर मृत्युशैयामा छटपटाएकाहरूको निम्ति एक थोपा पानीभन्दा महङ्गो अर्को कुन थोक होला र ?

पानी पिएपछि लेकको थाप्लो कति माथि छ भन्दै हामी फेरि उक्लने जमर्को गर्‍यौँ । गोठालाहरूले माथि नजान सल्लाह दिँदै भनेः काँडाको घना झाडी छ । बाटो छैन । बाघ र भालुको जोखिम पनि छ ।

तर यात्राको सौन्दर्य लेकको थाप्लोमा नपुगी बोध हुँदैन । चेतावनीलाई बेपर्वाह गर्दै हामी झाडीभित्र पस्यौँ । काँडाहरूले कपडा चिथोर्थे । बुट्यानले अगाडि बढिसकेका कदम रोक्थे । कहिले झुक्दै, कहिले हातले हाँगा पन्छाउँदै, कहिले दुलो बनाउँदै अघि बढिरह्यौँ ।

अन्ततः झाडीले हार्‍यो र हामी दयालेकको शिखरमा उभिन सफल भयौँ ।

समुद्री सतहबाट २०६५ मिटर ।
हिमाल चढेकाहरूका लागि यो उचाइ ठुलो नहुन सक्छ तथापि भेरी किनारदेखि १५०० मिटर उचाइमा रहेको यो शिखर होचो पनि थिएन । दक्षिणतिरका सम्पूर्ण पहाडहरूमध्ये यो अग्लो थियो ।

यसको थाप्लोमाथि उभिँदा दयालेक एउटा सानो सगरमाथाजस्तै प्रतीत भएको थियो । चौरजहारी नगरपालिकाको निम्ति सगरमाथा नै थियो यो । हामी एकछिनलाई सानो सगरमाथाका आरोहीको अनुभूति सँगाल्यौँ ।

बाक्लो झाडीले चारैतिरको दृश्य छेकेको थियो । अलिकति उत्तरी मोहोडातिर झरेपछि एकाएक क्षितिज खुल्यो । मौराखारा, सिंहलेक, सानीभेरीले बनाएका फराकिला फाँटहरू, आठबिसकोटका गाउँहरू, बाँफिकोटका डाँडाहरू, जाजरकोटका बस्तीहरू—सबै मानौँ एउटै विशाल चित्रपटमा कोरिएका जस्ता देखिन्थे ।

उत्तरतिर कुहिरोले हिमाल लुकाएको थियो । मनलालले भनेको फेरि पनि प्रमाणित भयो, प्रकृतिले पनि सबै कुरा एकैपटक देखाउँदिनन् ।

हामी केही बेर त्यहीँ उभियौँ, घुँडा टेकेर बस्यौँ, घाँसमा ढलीमली गर्‍यौँ । अनि फर्किने बेला आयो ।

कठिन परिश्रमले बल्लतल्ल भेटाएको शिखर हत्पती छोड्नु गाह्रो नै हुन्छ । तर यात्राको नियम उक्लनु मात्र होइन, सुरक्षित फर्किनु पनि त हो ।

ओरालो निकै चिप्लो थियो । पानीले बाटोलाई हरियोपत्रे गरिदिएको थियो । त्यही स्याँलीमा मनलाल सरको खुट्टा एक्कासि चिप्लियो । उहाँको शरीर भिरतिर ढल्कियो । मेरो सास रोकियो । जिउले सिरिङ्ग गर्‍यो । धन्न, एउटा सानो बुट्यानले उहाँउपर दया देखाइदियो । मान्छे मात्र होइन यहाँका बुट्यान र झारपातसमेत दयाका प्रतिमूर्ति रहेछन् । 

Daya1-1783686765.jpeg
दयालेकबाट झर्दै गर्दा हामीले केवल एउटा लेकको उचाइ नापिरहेको थिएनौँ । यस यात्रामा भेटिएका मानिसहरूको मनको उचाइ पनि नाप्दै थियौँ । हृदयको चौडाइ पनि नाप्दै थियौँ । हामी शिखर चढ्न निस्केका थियौँ तर झन् अग्लो मानवताको शिखर पनि भेट्टायौँ ।

यो यात्रामा हामीउपर सबैभन्दा बढी दया प्रकृतिले देखाइन् । मध्यबर्खामा लेक चढ्ने पागलपनले कुतकुत्याएर यात्रा थालनी गरेका थियौँ । तर टाढाका लेकहरूमा एकदुई धब्बा बादलबाहेक आकाश र धर्ती सबै सफा थियो । हामीले नजरले भ्याएसम्म टाढाटाढाको मनग्गे दृश्यावलोकन गर्न पायौँ । एक यात्रीको निम्ति योभन्दा अनुकूल परिस्थिति अरू के नै हुन सक्छ र ?

कुनै ठाउँको उचाइ त्यसको शिखरले होइन, त्यहाँ बस्ने मानिसहरूको दिलले निर्धारण गर्दछ । मेरो स्मृतिमा दयालेक दयालुहरूको अटल लेक बनेर बसिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य