नेभिगेशन
साहित्य

स्थानीय प्रज्ञा प्रतिष्ठानः एक अनुकरणीय अनुष्ठान

मेसेन्जरमा अनपेक्षित झुल्किएको रोमाञ्चक निमन्त्रणा पत्रले मलाई अच्चम्मित तुल्यायो । प्रेषणको माध्य बन्नुभएको थियो अल्पपरिचित चरित्रा शाह । पत्रको बेहोरा वा माध्यमले नभई म पत्रप्रेषकको नाम र पदनामले चकित परेको थिएँ । पत्रप्रेषकको नाम थियोः खजुरा प्रज्ञा प्रतिष्ठान ।

आमन्त्रकको रूपमा हस्ताक्षर गर्ने हुनुहुन्थ्यो डा. इन्द्रप्रसाद भण्डारी । हस्ताक्षरकर्ताको पदनाम थियो 'उपकुलपति' । केन्द्रीय निकायहरूमा त थुप्रै प्रतिष्ठान र कुलपतिको पदनाम सुनिसकेको थिएँ तर स्थानीय तहले गरेको सिको मेरो लागि अच्चम्मित तुल्याउने विषयवस्तु बन्यो ।

पछिल्लो समयका सशक्त कवि एवम् प्रखर समालोचक महेश पौड्यालले केही दिनअघि नै सामाजिक सञ्जालमा यस्तो स्टाटस राखिसक्नुभएको थियोः
"गाउँपालिकाहरूले साहित्यको विकासका निम्ति यस तहको जिम्मेवारीबोध गर्नु र मातहतका प्रज्ञा-प्रतिष्ठानले यस प्रकारको पहल गर्नु साहित्यको विकासरविस्तारका लागि ज्यादै सकारात्मक कुरा हो । पायक परेसम्म यस महोत्सवमा पुगौँ । खजुरा प्रज्ञा-प्रतिष्ठानलाई अग्रिम शुभकामना ।"

महेश पौड्यालजीको स्टाटसले नै खजुरा प्रज्ञा प्रतिष्ठानको बारेमा जान्न मन चहचह भइसकेको थियो । खजुरा प्रज्ञा प्रतिष्ठानकै निम्तो पाएपछि त झन् के चाहियो र रु खुट्टा धौथाम्नु भइसकेका थिए १ उपकुलपतिज्यूलाई फोन गरेर कार्यक्रमको उद्देश्य र रुपरेखाबारेमा चासो राखेपछि उहाँले बताउनुभयोः "खजुरा गाउँपालिकाअन्तर्गतको खजुरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा वैशाख ५ बेलुका ३ बजेदेखि र ६ गते दिनभर खजुरा साहित्य महोत्सव हुँदै छ । यो महोत्सव खजुराको साहित्य र संस्कृतिको सम्बर्धनहेतु आयोजना गरिएको हो ।

महोत्सवमा साहित्य सङ्गम तथा चिन्तन कार्यक्रमको साथै खजुरा प्रतिभा–२०८१, खजुरा प्रज्ञा सम्मान–२०८१, खजुरा प्रज्ञा प्रतिभा पुरस्कार वितरण र ख्यातिप्राप्त समालोचक महेश पौड्यालबाट विचारपत्र प्रस्तुत तथा छलफल कार्यक्रम हुनेछ । विभिन्न जिल्लाबाट आउने पाहुनाहरूलाई खान बस्नको लागि होटेलको व्यवस्था भैसकेको छ र यातायात खर्चसमेत दिइनेछ ।"

कार्यक्रम सभ्य र भव्य तुल्याइने इन्द्रजीको हरियो बत्तीले मेरो मन बेलगाम हुन पुग्यो । यस आमन्त्रणले सिर्जिएको उत्कट हर्ष र तीव्र उल्लास वर्णनातीत थियो ।

बैशाख महिनाको घरायसी कामको तगारो मेरो घाँटीसम्मै तेर्छिएको थियो । तर घरायसी कामले दोलायमान हुने अवकाश थिएन । तगारो नाघेरै भए पनि बैशाख ५ गते सार्वजनिक बसमा सवार भएर म हुत्तिएँ नेपालगन्जतिर । मेरो गन्तव्य चालपाएपछि साथीहरूले माग तेर्स्याउनुभएको थियोः "नेपालगन्जको कोसेली खजुर नै चाहिन्छ है ।"

म जति तलतिर झर्दै थिएँ उति गर्मी चढिरहेको थियो । मनमा कौतुहलताको चिसो हुरी मच्चिएकोले उखर्माउलो बाहिरी गर्मीलाई पनि तिरोहित गरिरहेको थियो । नेपालगन्जको धम्बोजी चोकमा उत्रँदा अपरान्ह ४ बजिसकेको थियो । त्यहाँबाट अटोरिक्सा चढी बर्दियाभिमुख हुँदै हुइँकिएँ पश्चिमतिर । ८ किलोमिटरको दूरी पार गरेपछि उत्तरतर्फ देखियोः मिनि पार्क । थकानले लखतरान भएको जिउ लतार्दै म मिनि पार्कका चोकचोक टहलिन थालेँ । एकैछिनमा सोधखोज गर्दै कार्यक्रम हलभित्र छिरेँ ।

सुन्दर सन्निवेश हलमा गहन शान्ति फैलिएको थियो मानौँ समयले नै विश्रान्ति लिइरहेको छ । भान्छा घरका जस्ता केही थान गोल टेबुलहरूलाई दर्शकहरूले घेरिरहेका थिए ।  सबैका युगल नजरहरू मन्चतिर अपलक सोझिएका थिए ।

मन्चमा एकजना किशोरी उत्तम परिधान र आकर्षक तर कृत्रिम शृंगारले झरिझुट्ट भएर मृदु सङ्गीतको तालमा बुर्कुसी मार्दै नाचिरहेकी थिइन् । उनको पालो सकिएपछि दुरुस्तै उस्तै अर्की नानी मन्चमा उक्लिइन् र अर्को सङ्गीतमा झनै सुन्दर नृत्यले दर्शकको ध्यान आकृष्ट गर्न थालिन् । मेरो थकान फुःमन्तर भैसकेको थियो ।

म पछिल्लो कुर्सीमा थकित मुद्रामा नृत्यतिर एकोहोरिएको देखेर एकजना बालिका पानीको बोत्तल लिएर मेरो सन्मुख उभिइन्, 'अङ्कल, चिसो पानी खानू !' चरित्रा नै बालिकामा बदलिएर आफूसन्मुख उभिएजस्तो लाग्यो । दुरुस्तै चरित्रा ! चिसो पानीले सुकेको घाँटी भिजाएपछि अनुमान गरेँ चरित्राकै छोरी होलिन् यिनी । चरित्राका चकचके छोरा घरी मन्चमा त घरी दर्शकदीर्घातिर कुदिरहेका थिए ।

पहिल्यै उद्घाटन भएर कार्यक्रम निकै अगाडि बढेको भान भए पनि प्रस्तुत नृत्यले पूर्ण क्षतिपूर्ति दिलाएको थियो । उनको पनि नृत्य सकिएपछि वाचाल सञ्चालक मणि अर्यालजीले मिश्रीमधुर स्वरमा चारजना किशोरीहरूलाई मन्चमा आह्वान गर्नुभयो । 

कविता, वक्तृत्व, गायनकला, नृत्य गरी चारवटै विधामा प्रतिष्पर्धा गराइसकेपछि अब यिनीहरूको कुशाग्रबुद्धि परीक्षणको पालो रहेछ । मूल्याङ्कनकर्ताहरूले खजुरा प्रतिभा प्रदर्शनार्थी नानीहरूलाई विधागत प्रश्नका वाणहरू बर्साउन थाले । नानीहरूले पनि मन्चरूपी रणमैदानमा खडा भएर जवाफरुपी अग्न्यास्त्र, वारुणास्त्र, पवनास्त्र, मायास्त्र प्रयोग गरेर मूल्याङ्कनकर्ताका प्रश्नहरूलाई आकाशमै काट्ने प्रयत्न गर्न थाले । 

कार्यक्रम सञ्चालक मणि अर्यालले ती प्रतिभाहरूको बुद्धिपरीक्षण प्रतिष्पर्धाको अन्त्य गरी साहित्य सङ्ग्राम प्रारम्भ भएको जानकारी गराउनुभयो । साहित्य सङ्गमको लागि कविसेनाहरू इलाम, चितवन, दाङ, रुकुम, सुर्खेत, दैलेख, बाँके, बर्दिया, कैलाली, सल्यान, कन्चनपुर आदि जिल्लाबाट खजुरा आइपुगेका थिए । प्रवाहशील कविहरूद्वारा सुन्दर कवितास्त्र, अभेद्य मुक्तकास्त्र, सटिक गजलास्त्र प्रयोग गरेर दर्शकहरूलाई मुर्छित तुल्याउने उपक्रम चलिरह्यो । घाम नडुब्दै यस सङ्ग्राम टुङ्ग्याउने मणिजीको घोषणाले फेल खायो ।

अविच्छिन्न सङ्ग्रामले रात नै डुब्लाजस्तो भएकोले प्रज्ञा परिषद् सदस्य कल्पना पौडेलले भोलि घाम उदाउनेबित्तिकै सङ्ग्राम यथावत् चल्ने जानकारी गराउँदै आजको सङ्ग्राम स्थगन गरिएको घोषणा गर्नुभयो ।

बेलुका राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा र म एउटै कोठामा बस्यौँ । हामी दुईबिच पनि सानोतिनो काव्यिक सङ्ग्राम चल्यो । राति ११ बजेपछि मात्र हाम्रो सङ्ग्राम रोकियो । बिहानको ३ बजे नै उठेर कमलमणि सर योगाभ्यासरुपी मनोसङ्ग्राममा भिडिसक्नुभएको रहेछ । 

भोलिपल्टको चियापान कार्यक्रममा क्याम्पसकालीन सहपाठी शिक्षाविद् जितबहादुर शाह र प्राज्ञ शशिराम कार्कीसँग भेटिएपछि म खुसीले आल्हादित भएँ । महानन्द ढकाल, सनत रेग्मीलगायतका विशिष्ट साहित्यकारहरूसँग चिनजानको अवसर पनि जुट्यो ।

पूर्व निर्धारित कार्यक्रमअनुसार ८ बजे नै खजुरा गाउँपालिकाका अध्यक्ष तथा प्रतिष्ठानका कुलपति डम्बरबहादुर बिक तुफानको प्रमुख आतिथ्य र प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। इन्द्रबहादुर भण्डारीको सभापतित्वमा साहित्यिक महोत्सवको सुरुवात भयो । प्रतिष्ठानका सदस्य कल्पना पौडेल जिज्ञासुले स्वागत मन्तव्य दिँदै कार्यक्रमको औचित्वमाथि प्रकाश पार्नुभयो ।

साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउनुभएको चार जना स्रष्टाहरूः समालोचनातर्फ इलामका महेश पौड्याल, खोज तथा अनुसन्धानतर्फ बर्दियाका ईश्वरीप्रसाद रिजाल, पद्य साहित्यतर्फ बाँकेका शशिराम कार्की र कला संस्कृतितर्फ बाँकेकै गायक तथा संगीतकर्मी सुन्दर गुरुङलाई जनही २० हजार रुपैयाँ राशिको ‘खजुरा प्रज्ञा पुरस्कार’ प्रदान गरियो । 

तत्पश्चात् समकालीन नेपाली साहित्यको सैद्धान्तिक स्वरूपमाथि खरो समालोचक महेश पौड्यालले विचारपत्र प्रस्तुत गर्नुभयो भने उक्त विचारपत्रमाथि डा. हरिप्रसाद तिमल्सिना र कमलमणि देवकोटाले टिप्पणी गर्न थाल्नुभयो । महाभारतको असली सङ्ग्राम बल्ल सुरु भयो । साहित्यमा केन्द्रभञ्जन हुने र नहुने विषयको शब्दचातुर्यले देवासुर सङ्ग्रामकै रूप धारण गर्‍यो । दर्शकहरू सुर र असुरमा विभक्त भए ।

तरकासुरले युद्ध जित्न थाल्दा कार्तिकेयको जन्म गराइयो । महिषासुरले इन्द्रलोक कब्जामा पार्न खोज्दा नवदुर्गा प्रकट गराइयो । बलिले तीनै लोकमा आधिपत्य जमाएर देवताहरूलाई भूमिहीन तुल्याउँदा विष्णुले वामन अवतारको चतुर्‍याइँ प्रयोग गरेर भूमि फिर्ता लिनुपर्‍यो । यो साहित्यिक रणसङ्ग्राम साँच्चिकै हेर्नलायक हुनगयो ।

बहुरूपी साहित्यकारले अर्कोलाई सुरको भूमिकामा देख्दा आफूलाई असुर तुल्याइहाल्छ । यस प्रकारको सङ्ग्राम अनन्तसम्म चलिरहन्छ । तर यस्तो सङ्ग्राम जसले विध्वंसको सट्टा विनिर्माण गरिरहन्छ, जसले विभाजनको सट्टा एकताको अभिष्ट राख्दछ ।

पर्यवेक्षकको भूमिकामा रहनुभएका सनत रेग्मीले समकालीन चिन्तन पद्धतितिर औँला ठड्याउँदै भन्नुभयोः "तपाईँहरू एक पक्षले वासुकी नागको टाउको र अर्कोले पुच्छर समातेर जतिसुकै मन्दराचल घुमाए पनि एआई नामको अर्को अत्याधुनिक असुरले अमृत चोरेर भाग्दै छ । त्यसको पछि लागेर तपाईँहरू उसलाई कहिल्यै भेट्टाउन सक्नुहुनेछैन । अगाडि पुगेर छेक्नुहोस् ।"

कार्यक्रमको शुभकामना मन्तव्य दिँदै पालिकाका प्रवक्ता एवं खजुरा गाउँपालिकाका वडा नं २ का अध्यक्ष धनराम ओलीले साहित्य र विकास तथा मानव विकासको सम्बन्धलाई निकै गहनतापूर्वक चिरफार गर्नुभयो । उहाँले भन्नुभयोः "साहित्यविनाको विकास, विकास नै होइन । मासु, रगत र आत्माविनाको कङ्काल मात्र हो त्यो विकास ।" उहाँले वर्तमान समाजमा साहित्यको वीभव, महिमा र ऐशको तार्किक फेहरिस्त पेश गर्नुभयो ।

प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै डम्बरबहादुर बिक 'तुफान'ले साहित्यकै आकर्षणले आफू जनयुद्धमा सामेल भएको र साहित्यले नै डोर्‍याएर गाउँपालिका अध्यक्षसम्म ल्याइपुर्‍याएको विचार प्रस्तुत गर्नुभयो । उहाँले खजुरा प्रज्ञा प्रतिष्ठानले केन्द्रको नेपाल प्रज्ञा प्रतिष्ठानभन्दा पनि महत्त्वपूर्ण काम फत्ते गर्ने प्रतिबद्धता व्यक्त गर्दै लेखकहरूलाई समाजका विकृति र विसंगति विरुद्ध कलम चलाउन आग्रह गर्नुभयो । कवि महेश पौड्यालले गरेको स्थानीय स्तरको जागरूकताको प्रशंसा यहाँ आएर परिपुष्टि भएको देखी म छक्क परेँ ।

शुभकामना मन्तव्यको पालोपछि खजुरा प्रतिभा घोषणा हुन थालेकोले सबैका आँखाकान मन्चतिरै ठाडा भए । आखिरमा श्री शुक्र मावि, खजुराकी छात्रा रेखा थापालाई ‘खजुरा प्रतिभा २०८१’ घोषित गर्दै रु १५ हजार नगद पुरस्कार र प्रमाणपत्रले सम्मानित गर्दा तालीका पर्राले सभाहल गुल्जार हुन पुग्यो ।

यसपछि कार्यक्रमलाई पुनः साहित्य सङ्गममा जोडियो । प्रत्येक सहभागीले सुमधुर स्वरमा सुन्दर रचना वाचन गरे र मायाको चिनो प्राप्त गरे । अन्त्यमा महोत्सवको समापन गरियो ।

मेरो जिज्ञासा यतिमा सीमित थिएन । मलाई त खजुरा आइपुग्नुको मुख्य उद्देश्य स्थानीय स्तरमा प्रज्ञा प्रतिष्ठानको स्थापना कसरी गरियो भन्ने थियो । यससम्बन्धी जानकारी हासिल गरी रुकुममा पनि यसको अभ्यास गर्ने खुलदुली जागेको थियो । अतः बिदाइ हुँदै गर्दा कार्यक्रम आयोजक चरित्रा शाहजीलाई आफ्नो कौतुहलता व्यक्त गरिहालेँ । 

उहाँले नेपालको संविधान २०७२ को धारा २२६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ (१) बमोजिम खजुरा गाउँपालिका प्रज्ञा प्रतिष्ठान ऐन, २०७९ जारी गरी सोहीबमोजिम स्वतन्त्र र अधिकार सम्पन्न खजुरा प्रज्ञा प्रतिष्ठान संस्थागत रूपमा क्रियाशील रहेको बताउनुभयो । उहाँका अनुसार खजुरा गाउँसभाबाट २०७९ साल असार २३ गते यो विधयक पारित भएको थियो ।

नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरी स्थानीय सरकारको व्यवस्था गरेबमोजिम खजुरा गाउँपालिकाले पनि भाषा, साहित्य, संस्कृति र कलाको संरक्षणमा आफ्ना गतिविधिहरू स्वतन्त्र, मर्यादित र व्यवस्थित ढङ्गमा सञ्चालन गर्ने मूल उद्देश्य रहेको बताउनुभयो ।

उहाँले खजुरा प्रज्ञा प्रतिष्ठानको स्थापना, काम, कर्तव्य र अधिकारको बारेमा बताउँदै खजुरा गाउँपालिकाभित्र रहेका भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, उत्थान, अध्ययन, अनुसन्धान र विकास, संरक्षण र सवर्दधनका लागि यस प्रतिष्ठानले नीति तथा कार्यक्रम बनाइरहेको बताउनुभयो ।

यसका अतिरिक्त खजुरा गाउँपालिकाभित्रका स्रष्टाहरूका सिर्जना प्रकाशनको लागि प्रोत्साहन गर्ने, खजुरा गाउँपालिकाभित्र साहित्यकारका साहित्यिक कृतिहरू निश्चित प्रति खरिद गरी प्रोत्साहन गर्ने, स्वदेशी तथा विदेशी साहित्यिक कृतिहरूको सहयोग उपहारस्वरूप ग्रहण गर्ने, पालिका क्षेत्रभित्रका सामुदायिक पुस्तकालयहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न प्रोत्साहन गर्ने, खजुरा गाउँपालिकाभित्र रहेका साहित्यक संस्थाहरूलाई यस पालिकामा दर्ता, नवीकरण र सूचीकरण गर्ने साहित्यिक संस्थाहरूको अनुगमन र मूल्यांकन गर्ने नियामक भूमिका निर्वाह गर्ने प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

यसै गरी विश्वविद्यालयहरू स्थानीय क्याम्पस र विद्यालयहरूसित सहकार्य गरी स्नातकोत्तर तहका विद्यार्थीहरूलाई भाषा, कला, साहित्य, संस्कृतिसँग सम्बन्धित विषयमा शोध कार्यका लागि देशभित्रका विविध भाषाका कृति र विदेशी भाषामा लेखिएका साहित्यिक कृतिहरूको अनुवादका लागि लेखनवृत्ति प्रदान गर्नेस भाषा, साहित्य, संस्कृति संम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा सम्मेलन, गोष्ठी सञ्चालन गर्ने तथा यस गाउँपालिकाभित्र रहेका विभिन्न जात, जाति, धर्म, सम्प्रदायका सांस्कृतिक पहिचान झल्कने प्रदर्शनी कक्ष र संग्राहलय निर्माण गर्नेस लामो समयदेखि साहित्य र कला साधनामा लागेर विशिष्ट पहिचान बनाएका स्रष्टाहरूलाई सम्मान गर्नेस लोपोन्मुख भाषा, संस्कृतिको संरक्षण गर्ने स्थानीय कलाको संरक्षण र संवर्धन गर्ने गाउँपालिका स्तरीय कला गृह (आर्ट ग्यालरी) निर्माण गर्ने पनि बताउनुभयो ।

यी सबै काम गर्न त बजेट पनि थुप्रै चाहिने होला भन्ने मेरो आशङ्कालाई सम्बोधन गर्दै उहाँले बताउनुभयो कि हाल गाउँपालिकाले २०र२५ लाख विनियोजन गरिसकेको र आगामी वर्षहरूमा यो बजेटको आकारलाई बढाउँदै लगिने तथा यस प्रतिष्ठानलाई स्वतन्त्र एवम् प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि आन्तरिक बजेटको खोजी गरिने समेत बताउनुभयो । 

प्रतिष्ठान एक्लैले यी कामहरू गर्न सम्भव छ त रु भनी जिज्ञासा राख्दा उहाँले बताउनुभयो कि यी कामहरू गर्न प्रदेश, स्थानीय पालिका तथा संघीय सरकार एवम नेपाल प्रज्ञा प्रतिष्ठान, नाटय कला प्रतिष्ठान, ललितकला लगायत सरोकारवाला संस्थाहरूसित समन्वय र सहकार्य गरिनेछ ।

प्रज्ञा प्रतिष्ठानको संरचनाको बारेमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो, 'प्रज्ञा प्रतिष्ठानमा सर्वोच्च निकायको रूपमा पन्ध्र सदस्यीय प्रज्ञा सभाको गठन हुन्छ । जसको कुलपति गाउँपालिकाका अध्यक्ष र सहकुलपति गाउँपालिकाका उपाध्यक्ष हुन्छन् । प्रतिष्ठानको  उपकुलपतिलाई  प्रतिष्ठित साहित्यकारहरू सम्मिलित ३ सदस्यीय सिफारिस समितिको सिफारिसमा कुलपतिले नियुक्त गर्दछन् । प्रज्ञासभाले प्रज्ञा प्रतिष्ठानको नीति निर्धारण गर्ने र गाउँसभाले तोकेको बजेटको सीमामा रही प्रज्ञा प्रतिष्ठानको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत गर्नेजस्ता विधायिकी कामहरू गर्दछ ।' 

यस्तै गरी कार्यकारी निकायको रूपमा पाँच सदस्यीय प्रज्ञा परिषदको गठन हुन्छ ।  प्रतिष्ठानको उपकूलपतिले परिषद्को प्रमुखको जिम्मेवारी निर्वाह गर्दछन् । परिषद् अन्तर्गत विभिन्न विभाग र उपसमिति गठन भएर क्रियाशील छन् । 

स्थानीय स्तरको प्रज्ञा प्रतिष्ठानसम्बन्धी मेरो भोक नमरेको देखेर चरित्राजीले, 'प्रतिष्ठानसम्बन्धी विस्तृतमा जान्न मन लागे यो हेर्नुहोला' भन्दै मेरो हातमा "खजुरा गाउँपालिका प्रज्ञा प्रतिष्ठान ऐन २०७९" को प्रतिलिपि थमाइदिनुभयो ।

रुकुम फर्कँदै गर्दा मनमा अर्कै प्रकारको कौतुहलता मच्चिएको थियो, यस प्रकारको अभ्यास रुकुममा गर्न सकिएला कि नसकिएला रु रुकुमका स्थानीय सरकारहरू प्रज्ञा प्रतिष्ठान स्थापना गर्न सकारात्मक होलान् कि नहोलान् ?

हुन त नेपालका ७५३ वटा स्थानीय सरकारमध्ये  थुलुङ दुधकोशी गाउँपालिका,  देवदह नगरपालिका, बर्दघाट नगरपालिका, व्यास नगरपालिका, पोखरा महानगरपालिका,स् भरतपुर महानगरपालिका, बेलबारी नगरपालिका, मण्डनदेउपुर नगरपालिका, गोरखा नगरपालिका, वालिङ नगरपालिका, दमक नगरपालिका, धरान उपमहानगरपालिका, दुधौली नगरपालिका आदि गरी ३ दर्जनजति पालिकाहरूमा प्रज्ञा प्रतिष्ठान स्थापना गरिएका देखिन्छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा त प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने दिशामा स्थानीय तहहरू धेरै पछि परेका देखिन्छन् ।

केही स्थानीय तहहरूले प्रज्ञा प्रतिष्ठान गठन गरेर साहित्यिक कार्यक्रम, स्थानीय संस्कृति संरक्षणका अभियान, पुस्तक प्रकाशन, बालसाहित्य प्रतियोगिता आदि सञ्चालन गरेका छन् भने स्थानीय भाषामा कृति प्रकाशन, मौलिक नाटकको संरक्षण र कला प्रदर्शनी जस्ता कामहरू गरिएका छन् ।

तर, धेरै पालिकाहरूले अझै योजना, बजेट र जनशक्ति अभावका कारण संविधानप्रदत्त अधिकार प्रयोग गरेर प्रज्ञा प्रतिष्ठान स्थापना गर्न सकेका छैनन् । कतै प्राज्ञहरू नियुक्त गरिए पनि औपचारिकता मात्रै निभाइएको छ । कतै ऐनले निर्दिष्ट गरेबमोजिमका निरन्तर कार्यक्रम, अनुसन्धान र गतिविधि गर्न सकेका छैनन् ।

कतिपय स्थानमा प्रतिष्ठान गठन गरिएको भए पनि प्रतिष्ठान सञ्चालन कार्यविधि, नियमावली नबनाई निष्क्रिय अवस्थामा छन् । कतै बजेटको अभाव,  साहित्यिक तथा सांस्कृतिक चेतनाको कमी,  राजनीतिक हस्तक्षेप, योग्य प्राज्ञहरूको छनोटमा लापरवाही, स्थानीय संस्कृति र साहित्यलाई जगेर्ना गर्नुको सट्टा औपचारिकतामा सीमित कार्यक्रम मात्र बनाउँदा प्रतिष्ठानहरू धरमराएको अवस्थामा छन् । 

तथापि स्वार्थ र सङ्कुचित राजनीतिक चेतनाबाट माथि उठी स्वतन्त्र र अधिकार सम्पन्न प्रज्ञा प्रतिष्ठानको स्थापना गरी  न्यूनतम बजेट सुनिश्चित गरेर हरेक वर्ष साहित्यिक र सांस्कृतिक गतिविधि बढाउँदै लग्ने हो भने मानव विकास सूचकाङ्क मात्र उकालो लाग्ने होइन समाजमा व्याप्त अनैतिकता, भ्रष्टाचार, अपराध, अज्ञानता, अन्याय, असमानता, आत्महत्या, आदिजस्ता अनाचार र कदाचारहरू साहित्यकै माध्यमबाट उल्लेख्य रूपमा समन गर्न सकिने देखिन्छ ।

माटोप्रतिको साँचो अनुराग र स्वप्नदर्शिता सुहृद र हितैषी साहित्यकारजति अरूमा बिरलै पाइन्छ । साहित्यकारहरू उदारमना, उद्बोध्य, अनुशासित, विनम्र र कर्मशील हुन्छन् । साहित्यकारहरू विद्या, बुद्धि, चातुर्य र विवेकका पर्याय हुन् भनेर सत्य उजागर गर्दा पनि मान्न तयार नहुने एउटा जमातले नै समाजमा अस्थिरता सिर्जना गरिरहेको हुन्छ ।

समाजले विगत ५० वर्ष यता भौतिक विकासमा तीब्र फड्को मार्दा पनि किन अनाचार र असन्तुष्टि बढिरहेको छ रु स्वतःसिद्ध छः हामीले भौतिक विकासलाई मात्र ध्यान दियौँ । मानव विकासलाई पटक्कै ध्यान दिएनौँ ।

मानव विकासको लागि भनेर शिक्षा, स्वास्थ्य, सञ्चार आदिमा पैसाको खोलो त बगायौँ, तर त्यसमा पनि मान्छेको खोल मात्र हेर्‍यौँ । मान्छेभित्र पसेर विकास गर्न सकेनौँ । विकासमा हार्डवेयर पक्षलाई मात्र ध्यान दिइयो, सफ्टवेयर पक्षलाई उपेक्षा गरियो ।

यसको हल स्थानीय प्रज्ञा प्रतिष्ठानहरूले गर्न सक्दछन् भन्ने देखाउन नै खजुरा साहित्य महोत्सवको आयोजना गरिएको जस्तो लाग्यो । महोत्सवमा प्रत्यक्ष सहभागी भएर मेरो मनोरथ तृप्त भइसकेको थियो । महोत्सवको कोसेलीस्वरूप उत्साह र उमङ्गका झिल्काहरू मुछेर खजुराका खजुरजत्तिकै मिठा प्रज्ञाहरूको स्मृति हृदयभरि र खजुरा प्रज्ञा प्रतिष्ठानको खजुरतुल्य ज्ञान मस्तिष्कमा कुटुरो पारेर पुलकित हुँदै रुकुमतिर उक्लँदै छु । जतिजति माथि चढ्छु, बाह्य गर्मी घट्दै छ, आन्तरिक शीतलता बढ्दै छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य

गजल - विकास खड्का

कथा : भूतसँगको भेट !

कथा : रूकुम ३६

बाँफिकोटको सम्झनामा

कविता : स्यार्पुको रङ्ग