मध्य मंसिर भएपनि जाडो चरम उत्कटमा पुगेको थियो । मौसम बेस्सरी चिसो भएपनि प्रचण्ड र प्रभाकरको बैचारिक सम्बन्ध बिच्छेदले रुकुम उस्तै बेस्सरी तातेको थियो । चोक, चौतारी र चिया पसलमा । फेसबुक, टिकटक र ट्युटरमा । जताततै छलफलको विषय उही राजनीति थियो ।
प्राय शनिवार मेरो कार्यतालिका रुकुम पश्चिम घरबाट कार्यक्षेत्र रुकुम पूर्व जाने हुन्छ । सदा झैँ त्यो शनिवार पनि म दिउँसो ४ बजेतिर घरबाट निक्लिएँ ।
डुब्ने बेलाका घाममा टहलाउँदै सिम्रुतुमा चिया गफ र खलंगामा खाजा गफमा भुलेर मध्य पहाडी लोकमार्गको बाटो साँख पुग्दा साँझको ७ बजिसकेको थियो । हिमाली क्षेत्र, चिसो मौसम, मोटरसाइकलको यात्रा, त्यसमा छिप्पिदै गरेको साँझ । पुथा र सिस्ने हिमालबाट आएको चिसो सिरेटोले मुटु नै चस्स घोच्थ्यो ।
आकाशबाट शीत बर्सिन थालिसकेको थियो । सडकमा तुसारो जमेका कारण बाइकको गति धेरै बढाउने अवस्था थिएन । यही बेला मूत्र प्रणाली बढी सक्रिय हुनुपर्ने । घोरखानी खोलानेर मूत्र बिसर्जन कार्यक्रम गरेर यात्रा अघि बढ्यो ।
°°°
बेसुरमा हुँईकिदै थिएँ । खोपिचार भन्ने ठाउँ पुग्नै लाग्दा झन्डै सय मिटर टाढाबाट एकजना केटीले लिफ्ट मागेको शैलीमा हात उठाइन ।
आर्य बर्णकी । झन्डै ४ फिट ६ इन्च उचाई । निलो रङको टाइट जिन्स पाइन्ट, कालो रङको Kel Me ब्रान्डको ज्याकेट, सेतो हल्का बुट टाइपको जुत्ता, खुल्ला छोडेको थाइकर्ट कपाल, घाँटीमा भगवान शीवको चित्र भएको चाँदीको सिक्री, पातलो शरीर तर चौडा छाती, उस्तै चौडा चाक, घाँटीमा रातो उनीको सल, हातमा पैदल यात्री पर्यटकले बोक्ने जस्तो स्मार्ट लट्ठी............।
साँच्चिकै आकर्षक थिइन उनी । मेरो पापी मनले एकैपटक शिरदेखि पाउसम्म हेर्न भ्यायो । सोच्न त झन केके सोच्यो केके । कहाँकहाँ पुग्यो कहाँकहाँ । मन, जो हुन्छ नै यस्तो ।
न आसपास घर, न हातमा झोला, न साथमा कोही......... । के कामले यस्तो अवेर यसरी सडकमा उभिएको होला यो केटी । म अचम्मित भएँ । धेरै सोच्न समय नै कहाँ थियो र । पलकभरमै उनको अगाडि पुगेर मैले ब्रेक लगाएँ । म केही बोलिन । उनी पनि केही बोलिनन् । भनिन्छ, मौनता स्वीकारोक्ती हो । मैले त्यस्तै बुझेँ । सायद उनले पनि त्यस्तै बुझिन होला ।
केही नबोलेरै उनी मेरो पछाडि चढिन । मैले बाइक स्टार्ट गरेँ । एक्सलेटर छोडेँ । बाइक अगाडि बढेन । हुत्तियो मात्र । ओहो ! बाइक त चार गेयरमा पो रहेछ । गेयर झारेर एकमा ल्याएँ । यही मौकामा मिलाउनु पर्ने झोला पनि थियो । पिठ्युँको झोला निकालेर छातीमा भिरेँ । यसले मेरो पछाडि बसेको अपरिचित साथीलाई पनि सहज भए छ क्यारे । झोला निकाल्ने बित्तिकै उनी पिठ्युँमा टाँसिन पुगिन ।
उनका ठुला स्तन मेरो ढाडमा बजारिए । यसको तरङ्ग तत्काल मेरो पुरुसत्वसम्म पुग्नुपर्ने थियो तर मुटु सम्म पो पुग्यो । पुथा र सिस्ने जस्तै उनको छाती चिसो थियो । दुईओटा ज्याकेट छेडेर त्यो चिसो ढाड हुँदै मुटुसम्म पुग्यो । मान्छे यतिसम्म पनि चिसो हुनसक्छ भन्ने मैले पहिलोपटक थाहा पाएँ । बाइकको लुकिङ ग्लासमा उनको अनुहार हेर्ने कोशिस गरेँ । अँध्यारोका कारण उनको अनुहार राम्ररी ठम्याउन सकिएन ।
मलाई कतिबेला बोलम भैसकेको थियो । उसैले कुराको शुरुवात गरोस् भन्ने मेरो अपेक्षा हो । उनले पनि सायद यही सोचेर होला बोल्ने केही छनक देखाइनन् । "कस्तो घमण्डको घैला रहिछे । यहीनेर झारिदिम कि क्या हो"- एक मन भन्थ्यो । फेरि अर्को मन भन्थ्यो - "हतार नगर् गणेश यो यात्रा, यो साथ र यो सम्बन्ध आज खास हुनेवाला छ ।"
°°°
किटनीको भीरनेर पुग्दा बाइकको पछाडिको टायरमा ढुङ्गो लाग्यो । बाइक थोरै अनियन्त्रित हुन पुग्यो । मैले फिल्मी स्टाइलले बाइक रोकेँ । मैले देखाउनु पनि थियो पछाडि बसेकी घमण्डी केटीलाई । यसैपनि बाइकमा पछाडि केटी राखेपछि केटा मान्छेलाई शरीरमा अहमताको भुत सवार हुन्छ ।
अँ, बाइक थाम्दै गर्दा मेरो देब्रे कुमबाट झोलाको फिता झर्यो । एउटा हातले बाइक हाँकेर झोलाको फिता मिलाउन खोज्दै थिएँ । उसले बिस्तारै आफ्ना कोमल हातले झोलाको फिता माथि सारीदिई । सायद सोची होला फिता लुज भएर यस्तो भएको हो । उसैले फिता टाइट गरी । मैले मनमनै भनेँ -"माया त रैछ नि घमण्डी केटी ।"
°°°
हाम्रो यात्रा शुरु भएको झन्डै आधा घण्टा बित्यो होला । अहँ अझै बोलचाल भएको छैन् । म सकभर सम्बन्धको हात अर्कैले फैलाओस् भन्ने चाहन्छु । म मान्छेसित छिट्टै घुलमिल हुनपनि सक्दिन । त्यसैले कतिले मलाई घमण्डी पनि भन्दा रहेछन् । यदी म घमण्डी हुँ भने यो केटी महाघमण्डी हो ।
यदि बाइकमा लिफ्ट दिएका कारण बोल्ने चाहना राख्ने म स्वार्थी हुँ भने यस्तो परिस्थितिमा लिफ्ट दिनेसँग पनि नबोल्ने यो केटी महास्वार्थी हो । अव त अति नै भयो जस्तो लाग्यो ।
मैले मुख खोलेँ - "अनि बहिनी कहाँ सम्मको यात्रा हो नि ?" उसले कुनै जवाफ फर्काइन् ।
"अनि यस्तो रातिमा केटी मान्छे एक्लै हिड्ने किन हो ?" - मैले सोधेँ । फेरि पनि जवाफ आएन ।
यो त अति नै भयो । मेरो रिसको पारो चढ्यो । अलिक कडा स्वरमा भनेँ - "यति बोलाउँदा पनि नबोल्ने मान्छे हो कि लास हो ?"
म अवाक भएँ ।
म चाहन्थे झर्केरै सही बोल्न त बोलोस् । तर फेरिपनि बोलिन । महिलाहरू कोमल हृदयका हुन्छन् । छिट्टै रिसाउँछन् । छिट्टै फकिन्छन पनि । उत्तिकै डराउँछन् । अव मैले तर्साउनेको डर हालिदिएर बोल्न बाध्य पार्ने अस्त्र प्रयोग गर्ने बिचार गरेँ र भनेँ - "हेर बहिनी, तिमीले यसरी मौन बर्त राख्यौ भने म तिमीलाई यहीँनेर झारिदिन्छु । तिमीलाई थाहै होला यो आसपासको क्षेत्रमा खुव तर्साउँछ । मेरै पूर्व प्रेमिका पनि चुडेल बनेर यही बोटो भौतारी रहन्छे । मलाई त चिनेकी छे । तिमीलाई खान सक्छे है ।"
°°°
मलाई लागेको थियो केटी मान्छे हो यती डर देखाएपछि कसो नबोल्ली । कसो पिलिज भन्दै टाँसिन नआउली । बोल्नु, टाँसिन आउनु त परको कुरा बाइकमा पनि छोईएला जस्तो गरेर टाढै बसेजस्तो भान भयो मलाई ।
बाइकको ऐनामा हेरेँ कोही देखिएन । फरक्क पछि फर्केर हेरेँ कोही थिएन । बाइकबाट ओर्लेर हेरेँ । अहँ कोही थिएन । म त रुकुमकोट कमल तालको छेउमै पुगेछु । जिल्ला अस्पतालको शव गृहको ठिक मुनि । अघि केटी बसाल्न पिठ्युँबाट अगाडि सारेको झोला पिठ्युँमै फर्काएँ । रुकुमकोट बजार मस्त निद्रामा थियो । जलवायु परिवर्तनले त होला कमल ताल छेउको पिपल रुखबाट बेसिजनमा कोईली चरी कराइरहेको थिई - "को हो ? को हो ? को हो ?"
को हो ? के हो ? किन हो ? म आफैँ अन्यौलमा थिएँ । मलाई हेलुसिनेसन भएको हो त ? कि कुनै पूर्व प्रेमिका चुडेल बनेर आएकी ? म निरुत्तर थिएँ ।