आज सरस्वती पूजा विविध कार्यक्रम गरेर मनाइदै

बुधबार, फागुन २, २०८०

विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्तपञ्चमी तथा सरस्वती पूजा आज बुधबार विविध कार्यक्रमसाथ मनाउन लागिएको छ । 

यही दिनको साइत पारेर अभिभावकले नानीबाबुलाई अक्षर चिनाउने कार्य शुभारम्भ गर्दै छन् । यस दिनमा नवीन कार्य प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ । 

वसन्तपञ्चमीकै दिनदेखि शिक्षण संस्थाले पनि विविध छुट कार्यक्रमसाथ विद्यार्थी भर्ना आह्वान गरेका छन् । यस दिन भर्ना हुन आएका विद्यार्थीलाई भर्ना शुल्क नलाग्ने तथा मासिक शुल्कमा समेत आकर्षक छुट दिने प्रस्तावसाथ शिक्षण संस्थाले प्रचार प्रसार गरिरहेका छन् । 

वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई यस पर्वले दर्शाउने गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्