खानीखोलामा आजदेखि ‘कामकुरो’ सुरु

आइतबार, माघ १४, २०८०

काभ्रेपलान्चोक । खानीखोला गाउँपालिका काभ्रेपलान्चोकको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडक नाटक ‘कामकुरो’को प्रदर्शनी आजबाट सुरु हुने भएको छ । 

माघ १४ गतेदेखि माघ १८ गतेसम्म उक्त गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा नाटक प्रदर्शन हुने भएको हो । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक ‘कामकुरो’को प्रदर्शन आज गाउँपालिकाको बुद्ध मा.वि. धाप्लेमा र जनहित मा.वि. महाकाँलमा प्रदर्शन हुने बताईएको छ ।

त्यस्तै, भोलि माघ १५ गते बालविकास मा.वि. फलामेटार र धार्ने ज्योति मा.वि. धार्ने, मा १६ गते भृकुटी मा.वि. सौरे र कुमारी मा.वि. जगथली, माघ १७ गते शारदा मा.वि. देउराली र १८ गते जनविकास मा.वि. ताल्ढुङ्गामा नाटक प्रदर्शन हुनेछ ।  नाटकमा सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर परियार, सागर कार्की, शान्ति भट्टराई, प्रज्ज्वल अधिकारी र अन्जना दुलालको अभिनय रहेको छ । 

ac932e02-1e56-44f1-a8e2-ed9c101cd32e1706426347.jpeg

नाटकमा उपभोक्ता समिति, बालविवाह, किशोरकिशोरीको स्वास्थ्य, शिक्षा, र विशेष गरेर स्थानीय उत्पादनमा जोड दिनुपर्छ भन्ने विषयवस्तु समेटिएको छ । वैदेशिक रोजगारीका लागि विदेशीएर नेपाल फर्किएका युवाहरुले सिकेको सीपलाई प्रयोग गरी स्वदेशमा नै केही गर्नुपर्छ र गर्न पनि सक्छन् भन्ने यो नाटकले सन्देश दिएको छ ।

अहिले अधिकांश अभिभावकहरुले आफ्नो बालबच्चाहरुलाई समय दिएको देखिदैन । जसले गर्दा उनीहरुको स्वास्थ्य देखि शिक्षासम्म असर परिरहेको हुन्छ । त्यसैले अभिभावकहरुले किशोरकिशोरीहरुका लागि समय दिनु आवश्यक छ भन्ने विषयलाई पनि नाटकमा समेटिएको छ । 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्