२७ हजार भूकम्पपीडितको खातामा पहिलो किस्ताको रकम जम्मा, १८ हजार टहरा निर्माण

शनिबार, माघ १३, २०८०

रुकुम पश्चिमका २७ हजार बढी भूकम्प पीडितहरुको खातामा अस्थायी आवास निर्माणको लागि अनुदान रकम जम्मा गरिएको छ । जिल्लामा लाभग्राही कायम भएका करिब ३० हजार भूकम्पपीडितहरु मध्य २७ हजार ३६ जनाको खातामा पहिलो किस्ता वापतको रकम जम्मा गरिएको हो ।
 
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषबाट स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा जम्मा गरिएको रकमबाट उक्त रकम लाभग्राहीलाई उपलब्ध गराईएको हो । स्थानीय तहले हालसम्म ६७ करोड ५९ लाख रुपियाँ लाभग्राहीलाई भुक्तानि गरेका छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले चौरजहारी नगरपालिकाका छ हजार २५४ जना, आठविसकोट नगरपालिका नौ हजार ६६७, मुसीकोट नगरपालिकाका एक हजार ४०, सानीभेरी गाउँपालिकाका पाँच हजार ६२४, त्रिवेणी गाउँपालिकाका दुई हजार ७५२ र बाँफिकोट गाउँपालिकाका एक हजार ६९९ जना लाभग्राही खातामा पहिलो किस्ताको रकम जम्मा गरिसकेको जाउनुभयो । एक जना लाभग्रहीलाई २५ हजार रुपियाँका दरले पहिलो किस्ताको अनुदान रकम जम्मा गरिएको हो । 

सहायक प्रजिअ बढुवालले अस्थायी आवास निर्माणको लागि हालसम्म जिल्लाका छ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा ७३ करोड ५१ लाख ५० हजार रुपियाँ पठाईसकिएको बताउनुभयो । यो रकम २९ हजार ४०६ वटा अस्थायी आवास निर्माणका लागि निकाशा गरिएको हो । 

अनुदान रकमबाट हालसम्म जिल्लामा १८ हजार ८६६ वटा टहरा (अस्थायी आवास) निर्माण भएका छन् । भूकम्पको कारण क्षति भएका करिब ३० हजार घर मध्य १८ हजार बढी परिवारले टहरा निर्माण गरेका हुन् । 

12 gate samma update1706337923.jpg

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्