नेभिगेशन
समाज

रुकुम पश्चिममा आयोडिनयुक्त नुनको प्रयोग बढ्यो, तर कोटा घट्यो

नुनकाे कोटा बढाउन आग्रह

रुकुम पश्चिम। पछिल्लो समय रुकुम पश्चिममा आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका छ वटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपोे कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा छ हजार क्विन्टल नुन बिक्री भएको थियो । हाल जिल्लाको मुसीकोट नगरपालिकाकोे सेरिगाउँ र चौरजहारी नगरपालिकाको चौरजहारी वितरण केन्द्रबाट नुनको बिक्री हुँदै आएको डिपो कार्यालयको प्रमुख पूर्णराज गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आवमा सेरिगाउँबाट चार हजार नौ सय ५१ र चौरजहारी वितरण केन्द्रबाट नौ सय २० क्विन्टल नुन बिक्रीवितरण भएको थियो । कार्यालयले माग गरेकोभन्दा एक हजार पाँच सय क्विन्टल नुन गत आवमा कम आएको जनाएको छ । 

चालु आवका लागि पनि जिल्लामा माग गरेको भन्दा झण्डै आधा साढे चार हजार क्विन्टल मात्र नुन आएको छ । जिल्लामा एक वर्षमा झण्डै आठ हजार आयोडिन नुन प्रयोग हुने भए पनि चार हजार पाँच सय क्विन्टल मात्र नुन उपलब्ध भएको कार्यालय प्रमख गौतमले जानकारी दिनुभयो ।

चालु आवका लागि डिपो कार्यालय सेरिगाउँलाई तीन हजार सात सय र चौरजहारी वितरण केन्द्रलाई आठ सय क्विन्टल आयोडिनयुक्त नुन उपलब्ध भएको उहाँले बताउनुभयो । 

आव २०७९/०८० को भन्दा चालु आवमा जिल्लामा नुनको कोटा घटेर आएको छ । कार्यालय प्रमुख गौतमले नुन कोटा बढाउन आग्रह गर्नुभयो । सेरिगाउँबाट हरेक हप्ताको आइबार र बिहीबार तथा चौरजहारी वितरण केन्द्रबाट हरेक महिनाको ५ र ६ गते नुन बिक्री हुँदै आएको छ । 

प्रतिकिलो नौ रुपियाँका दरले आयोडिनयुक्त नुन बिक्री गर्दै आइरहेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज