ब्यवसायिक सीप तालिम पश्चात ब्यवसाय शूरु गर्न सामग्री हस्तान्तरण

शुक्रबार, असोज १२, २०८०

जाजरकोट/ जाजरकोटमा ब्यवसायिक सीप तालिम लिएका युवा उद्यमीहरुलाई आफ्नो ब्यवसाय शूरु गर्न सामग्री प्रदान गरिएकाे छ । पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालन गरिएकाे अवसर दोस्रो परियोजना मार्फत शुक्रवार युवाहरुलाई सामग्री हस्तान्तरण गरिएको हो ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोटले भेरी नगरपालिका कुशे गाउँपालिका र शिवालय गाउँपालिकाका पैचालिस जना युवाहरुलाई बिभिन्न सात बिधामा असार देखि भदौ सम्म पैसट्ठी दिने सीप विकास तालिम संचालन गरेको थियो । तालिम पश्चात मोटरसाइकल मर्मत, काष्ठकला, मार्वल टायल, हाउस वाइरिङ, मोवाइल मर्मत, ब्यूटिपार्लर र बुटिक डिजाइनमा सहभागि भएका युवाहरुलाई ब्यवसाय शूरुवाती सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष प्रदिपजंग शाहले बताउनुभयो ।

बिपन्न तथा सिमान्तकृत समुदायका युवाहरुमा बजार माग अनुरुपको ब्यवसायिक सीप विकास गर्ने र उद्यममार्फत आय आर्जन बृद्धि गरि बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र पोषणको अवस्थामा सुधार गर्नका लागि परियोजनामार्फत सहयोग गरिएको र औषतमा प्रतिब्यक्ति रु १ लाख ५० हजार बराबरको सहयोग हुने संस्थाका परियोजना संयोजक बिष्णु प्रसाद पन्थले जानकारी गराउनु भयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष प्रदिप जंग शाह, महासचिव राजु केसी, सदस्य बिराटजंग शाह, कार्यकारी निर्देशक रण बहादुर कार्की, परियोजनाका कर्मचारीहरु र तालिम प्राप्त युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका महासचिव राजु केसीले प्राप्त सामग्रीहरुको सही रुपमा प्रयोग गरी आम्दानीमा बृद्धि गर्न र आम्दानीलाई बालबालिकाहरुको विकास र शिक्षामा लगानी गर्न सुझाव दिनुभएको थियो । हाउस वाइरिङको सीप विकास तालिम पश्चात सामग्री पाएका बिष्णु कुमार पुनले भन्नुभयो; "सहयोगले ब्यवसायमा लाग्नका लागि प्रेरणा मिलेको छ । संस्थाले दिएको सहयोगलाई म मेरा बालबालिकाको शिक्षा र पालन पोषणका लागि प्रयोग गर्नेछु । सहयोग दिने पहाडी क्षेत्र विकास अभियान र सेभ द चिल्ड्रेनलाई धन्यबाद छ ।" 

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्