बागबजारमा सडक क्षेत्रमा बनाईएका संरचना आफै हटाउन सुरु 

शनिबार, भदौ ३०, २०८०

रुकुम पश्चिम । राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको सदरमुकाम मुसीकोट क्षेत्रमा सडक क्षेत्र मिचेर बनाएका अवैध संरचनाहरु हटाउन थालिएको छ । घर, घुम्ती तथा सिढिहरु स्थानीयहरु आफैले हटाउन सुरु गरेर सडक फराकिलो बनाउने अभियानमा साथ दिएका हुन् । 

जिल्लाको मुसीकोट नगरपालिकाले नगरपालिकाले सडक क्षेत्र मिचेर बनाईएका संरचना हटाउने कार्यका लागि सांकेतिक (रातो) चिन्ह लगाएको स्थानभित्रका संरचना हटाउन सुरु भएको मुसीकोट नगरपालिकाका प्रवक्ता समिर जंग मल्लले जानकारी दिनुभयो ।

मुसीकोटको बागबजार भिम बहादुर परियारले स्थानीय सरकारले निकालेको सूचना र लगाएको चिन्ह अनुसार आफूले संरचना खाली गर्न लागेको बताउनुभयो । उहाँले कामदार लगाएर सडक क्षेत्रमा परेको घरसँगै साटिएको सिढी भत्काएको बताउनुभयो । सडक चौडा गर्नमा सबैले सहयोग गर्नुपर्ने उहाँको भनाई रहेको छ । 

सोहि ठाउँमा बिरबहादुर केसीले पनि घरको बरण्डा र सिढि भत्काउन थालेको जानकारी दिनुभयो । नगरपालिकाको डोजर लगाएर संरचना भत्काउनु भन्दा आफैले मान्छे लगाएर सडक क्षेत्रका संरचना हटाउन लागि परेको उहाँको भनाई छ । स्थानीय सरकारले गर्न थालेको यस काममा स्थानीयवासीको साथ हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

राप्ती राजमार्ग अन्तर्गतको सडकक्षेत्रमा सरकारबाट मुआब्जा बुझेका बागबजार, खलंगा, सेरिगाउँ, सल्ले र सोलाबाङ क्षेत्रमा बनाएका अवैध संरचनाहरु हटाउन नगरपालिकाले रातो चिन्ह लगाएको थियो ।

नगरपालिकाले निकालेको सूचना अनुसार भदौ ३० गते एक महिना पुगेपछि स्थानीयवासी आफैले संरचना हटाउन थालेका हुन् । गत साउन ३० गते सूचना प्रकाशन गरेर नगरपालिकाले मुआब्जा लिईसकेका जग्गामा निर्माण गरिएका संरचना आँफै हटाउन अनुरोध गरेको थियो । नगरपालिकाले खाली गर्न लागेको सडक क्षेत्रमा विभिन्न व्यक्तिहरुका घर, टहरा, घुम्ती पसल तथा व्यवसायीक प्रयोजनका विभिन्न संरचनाहरु रहेका छन् ।

सडक साँघुरिदै गएको कारण सवारी व्यवस्थापनमा असहजता भएपछि नगरपालिकाले मुआब्जा बुझिसकेका राप्ती राजमार्गको क्षेत्रमा पर्ने मुसीकोट नगरपालिकाको वडा नम्वर १ सल्लेदेखि वडा नम्वर ५ सेरिगाउँ र वडा नम्वर ४ को सोलाबाङ बजारमा  निर्माण गरिएका संरचना हटाउन थालेको हो ।

सडकको दायाँ र बायाँको एरियामा रातो चिन्ह लगाइएको र आफैले हटाएर सहयोग गर्न अपिल गरिएको नगरपालिकाका प्रवक्ता मल्लले बताउनुभयो ।

राजमार्गको १५ मिटरभित्र कुनैपनि संरचना बनाउन नमिल्ने भएतापनि बाक्लो बजार क्षेत्रको कारण हाललाई नगरपालिकाले सडकको बिच भाग देखि पाँच–पाँच मिटरभित्रका संरचना खाली गर्न सूचना गरेको नगर प्रमुख महेन्द्र केसीले बताउनुभयो । भिमबहादुर र बिरबहादुरले जस्तै सडक क्षेत्रमा संरचना भएका सबै नगरवासीले संरचना आफै हटाएर सहयोग गर्ने विश्वास लिएको नगरप्रमुख केसीले उल्लेख गर्नुभयो । 

सदरमुकाम क्षेत्रमा दिनहुँ सवारी चाप बढ्दै गएका कारण सवारी चाप व्यवस्थापनमा कठिनाई हुने गरेको छ । बजार एरियाका सडक तथा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गर्ने क्रम बढेपछि राप्ती राजमार्गको मिचिएको जग्गा खाली गर्न लागिएको नगर प्रमुख केसीले बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्