संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन

मंगलबार, भदौ २६, २०८०

काठमाडाैं । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । तत्कालीन संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा गएराति हृदयघातबाट निधन भएको हो ।

काठमाण्डौको बालुवाटार बस्ने उहाँलाई हृदयघात भएपछि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालमा पुर्याउँदा उहाँको निधन भइसकेको अस्पतालले जनाएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनुभयो ।

उहाँ गएको मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो ।

२००९ साल फागुन २८ गते इलाममा जन्मनुभएका नेम्वाङ इलामबाटै २०५६ सालदेखि पाँच पटक विजयी हुनुभएको थियो । २०६३ सालमा पहिलोपटक सभामुख बन्नुभएका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख हुनुहुन्थ्यो ।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०६:०२
प्रतिक्रिया दिनुहोस्