चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाडौका मेयर शाहद्वारा चीन भ्रमण रद्द

बिहीबार, भदौ १४, २०८०

काठमाडाैं । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चीन भ्रमण रद्द गर्नुभएको छ । चीनले नेपालको नयाँ चुच्चे नक्सा स्वीकार नगरेको भन्दै उहाँले भ्रमण रद्द गर्नुभएकाे हाे । 

केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतको क्षेत्रमा देखाएर नक्सा प्रकाशन गरेको भन्दै मेयर शाहले असन्तुष्टि जनाउनुभएको छ । नेपाली भूभागलाई  चीनले नेपाललाई नै नसोधी भारतको देखाउनुलाई हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदमका रूपमा लिएको मेयर बालेन्द्र शाहको भनाइ छ ।

चीनको कदमको विरोधमा आज बिहीवारदेखि हुने भनिएको पाँच दिने चीन भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको उहाँले उल्लेख गर्नुभएको छ । नेपालले २०७७ साल जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्