पाँच मुक्तक - रत्ना पुन मगर

२०७९ फागुन २१
  • रत्ना पुन मगर

मुक्तक - १

डाक्टर चाहिने रहेछ धामी चाहिने रहेछ
कसै कसैलाई फेरि हामी चाहिने रहेछ ।
कहाँ जान्छौ तिमी आफैसँग दिक्क भएर
चितासम्म पुग्न पनि मलामी चाहिने रहेछ । 

मुक्तक - २

अभाव छ यहाँ जीउने आधार पाइदैन
केहि गरौं भन्दा गतिलो तारबार पाइदैन ।
यसकारण युवा परदेश जान बाध्य छन्
आफ्नै गाउँमा भने जस्तो रोजगार पाइदैन ।।

मुक्तक - ३

सोच्नुहुन्न चानचुने सपना सबैको हुन्छ
पुरा हुने कि नहुने सपना सबैको हुन्छ ।
दुख कष्ट केहि नभनी परिश्रम गरेपछि
उडेर एक चन्द्र छुने सपना सबैको हुन्छ ।।

मुक्तक - ४

बिन्ती म कोटि कोटि सहिद भइसकेँ
घट्यो ज्यान छैन मोटि सहिद भइसकेँ ।
बाँकी छ मेरै नामको सालिक निर्माण गर्न
उनको मायामा कयौंचोटि सहिद भइसकेँ । ।

मुक्तक - ५

छदैछ मेरो आफ्नै धन्दा के को चिन्ता गर्छौ ?
चाहिदैन गाउँको चन्दा के को चिन्ता गर्छौ ?
जीउन सक्ने बुद्धि विवेक क्षमता छ मसँग
मेरो विश्वास गर भन्दा के को चिन्ता गर्छौ ?

- रुकुम पश्चिम

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्