नेभिगेशन
राष्ट्रिय

जलविद्युतमा लगानी गर्न आग्रह

सुर्खेत ।

कर्णाली प्रदेशका उद्योगी, व्यवसायीलाई जलविद्युतमा लगानी गर्न आग्रह गरिएको छ । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा आयोजित डुङ्गेश्वर गाउँपालिका–४ ब्यूराखेतमा निर्माणाधिन ‘अपरपराजुली खोला २।१५ मेगावाट जलविद्युत आयोजना’को परिचयात्मक कार्यक्रमका वक्ताले जलविद्युत्मा लगानी गर्न आग्रह गरेका हन् ।

आयोजनाको परिचयात्मक कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभाका सदस्य ठम्मर विष्टले जलविद्युत्को यथेष्ट सम्भावना रहेको कर्णालीमा प्रयाप्त लगानीको अभाव रहेको बताए ।

विद्युत उत्पादन गर्न सकेमात्र प्रदेशको अर्थतन्त्र सबल बन्न सक्नेमा जोड दिँदै उनले लगानी भित्र्याउन प्रदेश सरकारले लगानीकर्तालाई राजश्व छुट दिने नीतिगत निर्णय गरिसकेको जनाए ।

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले अपरपराजुली खोला जलविद्युत आयोजना प्रदेशको पहिलो खुट्किला भएको औँल्याउँदै आयोजनालाई पूर्णता दिन उद्योगी, व्यवसायीलाई अनुरोध गरे ।

रारा हाइड्रोपावरका अध्यक्ष नरसिंह मल्लले विद्युत प्राधिकरणले उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्ने पूर्वाधार लामो समयसम्म निर्माण नगर्दा आयोजना पछाडि परेको गुनासो गरे ।

न्यूनतम ५ लाखदेखि अधिकतम रु ५० लाखसम्म लगानी गर्न इच्छुक लगानीकर्ताले स्थलगत अध्ययन, अवलोकन गरेर लगानी गर्न उनले आग्रह गरे ।
कम्पनीले २०७५ फागुन मसान्तसम्म प्रति कित्ता रु ११५ र चैत्र मसान्तसम्म प्रति कित्ता रु १५० का दरले शेयर लगानीको आह्वान गरेको छ ।

आयोजना निर्माणमा एभरेष्ट बैंक, सिद्धार्थ बैंक र मेघा बैंकको ७० प्रतिशत र शेयर सदस्यकोे ३० प्रतिशतगरी करीब रु ५५ करोडको लागतमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय