नेभिगेशन
समाज

सर्पले टोकेपछि रुकुमका चार महिला बिरामी

रुकुम पश्चिममा सर्पको टोकाईबाट चार जना घाईते हुनुभएको छ । पछिल्लो दुई दिनमा विभिन्न स्थानमा सर्पले टोक्दा चार जना घाईते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार आईतबार र सोमबार सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका विभिन्न स्थानमा चार जनालाई सर्पले टोकेको हो ।

सोमबार बिहान सानीभेरी गाउँपालिका –३ ज्यामिरेकी २५ वर्षीया अमृता बिष्टलाई घरको कोठामा सुतिरहेको अवस्थामा सर्पले टोकेको छ । बिष्टको दाहिने कानमा सर्पले टोकेपछि बिरामी हुनुभएकी उहाँलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लिईएको प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो । 

आईतबार साँझ सानीभेरी गाउँपालिका –२ गिठाकोटकी २२ वर्षीया कोपिला महतारालाई पनि घरनजिकै खेतबारीमा घाँस काट्ने क्रममा सर्पले टोकेको छ । बायाँ हातमा सर्पले टोकेपछि बिरामी हुनुभएकी उहाँलाई उपचारका लागि मेहेलकुना अस्पताल सुर्खेतमा लिईएको छ ।

सोमबार राती चौरजहारी नगरपालिका –८ चिप्लेटीकी २३ वर्षीया दिपा विकलाई घरनजिकै खेतबारीमा हिँड्ने क्रममा सर्पले दाहिने खुट्टामा टोकेको छ । उहाँको पनि मेहेलकुना अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । 

त्यसैगरी चौरजहारी नगरपालिका –१ लामिछाने गाउँकी २२ वर्षीया कमला बिकलाई पनि आईतबार बिहान सर्पले टोकेको थियो । माइतीघर सल्यानको कुमाख गाउँपालिका–६ गएको अवस्थामा घरनजिकै बारीमा घाँस काट्ने क्रममा सर्पले बायाँ खुट्टामा सर्पले टोकेको थियो । उहाँलाई पनि मेहेलकुना अस्पताल सुर्खेतमा उपचारका लागि लिईएको छ ।

चारै जनाको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ । सर्प कुन प्रकारको र कति बिषालु हो भन्ने कुरा खुल्न सकेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्