नेभिगेशन
समाज

रुकुममा मनसुनजन्य विपद्को लागि पूर्वतयारी, उद्धारका लागि तीन रबर बोट उपलब्ध

रुकुम पश्चिममा मनसुनजन्य विपद् तथा नदी, ताल र पोखरीमा हुने डुबानका घटनालाई मध्यनजर तयारी पूर्वतयारी मजबुत पारिएको छ  । जिल्ला प्रशासन कार्यालयले उद्धार तयारीलाई थप मजबुत बनाएको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार कार्यालयसँग हाल तीन वटा रबर बोट उपलब्ध छन् । जसले बाढी तथा डुबानमा परेका नागरिकको शीघ्र उद्धारमा प्रभावकारी कार्य गर्न सकिन्छ । उपलब्ध रबर बोटमध्ये एउटा युएनडिपी नेपालले, अर्को सशस्त्र प्रहरी बल नेपालले उपलब्ध गराएको हो भने तेस्रो बोट जिल्लास्थित स्थानीय तहहरूको संयुक्त लगानीमा खरिद गरिएको हो ।

तीमध्ये एउटा रबर बोटमा मोटर समेत जडान गर्न मिल्ने व्यवस्था रहेको छ, जसले तीव्र बहाव भएका नदी तथा दुर्गम जलक्षेत्रमा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन छ । 

प्रजिअ गौतमले विपद् पूर्वतयारीलाई प्राथमिकतामा राखेर आवश्यक अन्य उद्धार सामग्रीहरु समेत व्यवस्थापन गरिएको बताउनुभयो । जिल्लामा रहेका सुरक्षा निकायहरुमा पनि जनशक्ति र उद्धार सामाग्रीहरु तयारी अवस्थामा राखिएको छ । उहाँले जिल्लामा आपतकालिन कार्य सञ्चालन केन्द्र व्यवस्थापन गरेर सूचना एकिकृत गर्ने गरिएको, मनसुन पूर्वतयारी योजना तर्जुमा गरेर कार्यान्वयन गरिएको, खोज तथा उद्धार समाग्री खरिद गरिएको उल्लेख गर्नुभयो ।

स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला संस्थाबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै विपद् व्यवस्थापनलाई व्यवहारिक बनाउने प्रयास भइरहेको पनि उहाँले जानकारी दिनभुयो । 

प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले रुकुम पश्चिम भौगोलिक रुपमा जोखिमयुक्त जिल्ला भएको र मनसुनको समयमा नदी तथा खोलामा आउने बाढी र डुबानका घटनालाई ध्यानमा राख्दै उद्धार सामग्री र जनशक्तिको तयारी गरिएको बताउनुभयो । जिल्ला सुरक्षा समितिमा रहेका तीनवटै रबर बोटलाई आवश्यक परेको अवस्थामा तुरुन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको उहाँले उल्लेख गर्नुभयो ।  

सशस्त्र प्रहरी बल नेपाल नम्वर ४७ गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुवेन बाबु कँडेलले जल उद्धारमा रबर बोटको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । उहाँका अनुसार नदी, ताल वा पोखरीमा डुबानमा परेका व्यक्तिको उद्धार गर्दा समय नै सबैभन्दा ठूलो कुरा हुने भएकोले रबर बोटले उद्धार टोलीलाई सुरक्षित रुपमा घटनास्थलसम्म पुग्न सहयोग गर्छ ।

सशस्त्र प्रहरी बलको उद्धार टोलीलाई आवश्यक तालिम तथा उपकरणसहित तयारी अवस्थामा राखिएको र जिल्ला प्रशासनसँग समन्वय गरेर जुनसुकै समयमा पनि उद्धार कार्यमा खटिन सकिने उहाँको भनाइ छ । 

रुकुमपश्चिममा वर्षायाममा सानीभेरी, ठूलीभेरी लगायतका नदी तथा विभिन्न खोलाहरुमा पानीको बहाव बढ्ने गरेको छ । विगतका वर्षहरुमा डुबान तथा बाढीजन्य घटनाहरु पनि हुँदै आएका छन् । भूकम्प प्रभावित क्षेत्र समेत भएकोले यहाँको कमजोर भूगोलका कारण बाढी र पहिरोले क्षति गर्ने गरेको छ ।

IMG_E7888-1786080497.JPG

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्