नेभिगेशन
समाज

रुकुम निवासी नेपाली कांग्रेसका महासमिति सदस्य भण्डारीको निधन  

सिंगो पार्टी र जिल्लाले गुमायो होनहार नेता : नेपाली कांग्रेस  

नेपाली कांग्रेसका नेता तिलक भण्डारीको निधन भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१ घारीगाउँ निवासी भण्डारीको आज शनिबारका दिन भेरी अञ्चल अस्पताल नेपालगञ्जमा निधन भएको हो । 

५८ वर्षीय भण्डारी नेपाली काग्रेसको महासमिति सदस्य एवम् रुकुम काँग्रेसको अगुवा नेता हुनुहुन्थ्यो । नेपाली काँग्रेस चौरजहारीका नगर सभापति प्रेमबहादुर ओलीले दिनुभएको जानकारी अनुसार स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा जानु भएका उहाँ शौचालयमा मृत अवस्थामा फेला परेपछि परिवार तथा आफन्तलाई खबर आएको हो ।

नियमित स्वास्थ्य जाँच तथा गुरु पूर्णिमाको अवसरमा भारतको लखनउमा रहनु भएका गुरुलाई भेट्न र आर्शिवाद लिन भनेर उहाँ जानु भएको थियो । त्यहिबाट फर्कने क्रममा नेपालगञ्जमा उहाँको निधन भएको हो । अहिले घरपरिवार तथा आफन्जनहरु अस्पताल पुगीसक्नु भएको छ ।

अस्पतालले भोली बिहान ९ बजे मात्र शव आफन्तलाई बुझाउने भएको छ । पोष्टमार्टम पछि मात्रै भण्डारीको शव आफन्तलाई दिने अस्पतालले जनाएको छ । नगर सभापति ओलीले भोली नै उहाँको शव चौरजहारी ल्याईने जानकारी दिनुभयो । पोष्टमार्टम रिपोर्टपछि मृत्युको खास कारण खुल्ने भएतापनि हृदयघातको कारणको कारण उहाँको निधन भएको हुनसक्ने अस्पतालको भनाइ रहेको छ । 

भण्डारी नेपाली कांग्रेस भित्र हक्कि र निधर नेताको रुपमा चिनिनुहुन्थ्यो । लामो समय कांग्रेसको राजनीतिमा समय बिताएता पनि कुनै पनि लाभको पद नलिने, अवसरको पछि नलाग्ने नेताको रुपमा उहाँलाई चिनिन्छ । दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा ठुलो सम्पती क्षति बेहोर्नु भएका उहाँको परिवारले लामो समयसम्म बिस्थापित हुनुपरेको थियो । उहाँले सञ्चालन गरेको बोर्डिङ स्कुल, मिल, कपडा व्यवसाय, घर द्वन्द्वको क्रममा जलाईएको थियो । 

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गर्नुभएका उहाँ २०४६ सालको आन्दोलनमा प्रजातन्त्र पुनस्थापनाको माग गर्दै अग्रभागमा उभिनुभएको थियो भने ०६२/०६३ को जनआन्दोलनमा अग्रभागमा खटिएर तत्कालिन राजतन्त्र बिरुद्ध र गणतन्त्र प्राप्तीका लागि खटिने मध्यका एक नेता हुनुहुन्छ । 

710332327_122105547141304092_3268728823820945781_n-1785602622.jpg
नेपाली कांग्रेस रुकुमको जिल्ला कार्यसमितिको सचिव, नेपाली जनसम्पर्क समिति समन्वय विभागको सदस्य लगायतका पार्टीका महत्वपूर्ण विभिन्न जिम्मेवारीहरु सम्हालिसक्नुभएका भण्डारी पछिल्लो समय नेपाली कांग्रेसको महासमिति सदस्य हुनुहुन्थ्यो भने चौरजहारीमा होटेल व्यवसाय सञ्चालन गर्नुभएको थियो । 

उहाँ राजनीतिक रुपमा पीडित, आर्थिक रुपमा पनि धेरै गुमाएका र पारीवारिक जीवनमा पनि उतारचढाव बेहोर्न बाध्य व्यक्ति हुनुहुन्थ्यो । करिब पाँच वर्ष अघि उहाँको जेठी श्रीमतीको मृत्यु भएको थियो । उहाँका छ बहिनी छोरी र एक छोरा हुनुहुन्छ । हाल उहाँ कान्छी श्रीमतिको साथमा बस्दै आउनुभएको थियो । 

उहाँको निधनले सिंगो कांग्रेस पार्टीलाई अपुरणिय क्षति पुगेको नेपाली कांग्रेस रुकुम पश्चिमले जनाएको छ । पार्टीका जिल्ला उपसभापति हर्कसिं खत्रीले अकल्पनीय र अपत्यारिलो मृत्युको खबरले पीडाबोध भएको बताउनुभयो । जिल्लाले होनहार, ईमानदार कर्तव्यनिष्ठ, असल नेता गुमाएको उहाँले उल्लेख गर्नुभयो । 

नेता भण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसको केन्द्रिय कार्यालयले पनि शोक वक्तव्य जारी गरेको छ । काग्रेसको संठगन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका भण्डारीको निधनले नेपाली कांग्रेसले एक अग्रज र अनूभवि व्यक्तित्व गुमाएको वक्तव्यमा उल्लेख गरिएको छ । 

762475480_3200436113680624_1219678403784242893_n-1785602440.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्