नेभिगेशन
समाज

रुकुममा प्रहरी माथि खुकुरी हान्न खोज्ने दुई लागु औषध कारोबारी पक्राउ 

एक राउन्ड हवाई फायर गरेपछि छोपिए लागुऔषध कारोबारी 

रुकुम पश्चिममा दुई जना लागु औषध कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले हवाई फायर गरेर लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । 

प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार बिहिबार बेलुका आठविसकोट नगरपालिका –४ छोटेबगरमा तीन किलोग्राम अफिमसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा आठविसकोट नगरपालिका –३ स्यालाखदी बस्ने २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका –२ स्याला बस्ने २० वर्षीय गणेश ओली रहेको डिएसपी पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीबाट एक राउन्ड हवाई फायर गरिएको थियो । हवाई फायरपछि उनीहरुले प्रहरी माथिको आक्रमण रोकेका थिए । लागु औषध नियन्त्रण बयुरो कर्णाली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीले सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकर उनीहरुमाथि चेकजाँच गर्न खोज्दा टिकाराम बोहराले बोकेको झोलाबाट गणेश ओलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरी सहायक निरीक्षक निरज बहादुर पालले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको डिएसपी पौडेलले जानकारी दिनुभयो । 

नियन्त्रणपछि गरिएको शरीर तथा झोला खानतलासीका क्रममा तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्