नेभिगेशन
समाज

त्रिवेणीको बाँठाकोटका चार घर पहिरोको उच्च जोखिममा 

राती पहिरो खदा त्रासमा स्थानीय

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका –६ बाँठाकोटको बस्तीका केहि घर पहिरोको उच्च जोखिममा रहेको छन् । त्रिवेणी गाउँपालिकाद्वारा ठेक्का लगाईएको खुरखुरे बाँठाकोट पटेरी ढुङगेघर सडक निर्माणको क्रममा बाँठाकोटमा खनिएको सडकको कारण चार घरपरिवार उच्च जोखिममा रहेका छन् । 

वर्षा लागेपछि सडक बनाउन थालेको र अधुरै छोडिदा पहिरोमा पुरिने डरले घर नै छोड्ने अवस्था आएको स्थानीय डिला खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सडक खन्नु अघि मेसीनरी वाल र जाली लगाएर घर जोगाउने आश्वासन दिईएतापनि अहिले डोजर लगाएर सडक खनिएको छ ।

लगातारको बर्षाको कारण सडकमा पहिरो झरेको छ भने सडकको माथिल्लो भागमा रहेका दुई घर सडकमा मिसिने जोखिम बढेको छ । खड्काले सडकको माथिल्लो तर्फका दुई घर र सडकको तल्लो भागमा रहेका दुई घर अहिले उच्च जोखिममा रहेको बताउनुभयो । कुनै पनि बेला पहिरोले पुरिने त्रासमा रहेकोले यसको समाधान गरिदिन उहाँले आग्रह गर्नुभएको छ । 

स्थानीयवासी समेत रहनुभएका शिक्षक कुबेर ओलीले पहिरोले सडक माथिल्लो तर्फका दुई घर खस्ने अवस्थामा रहेको र पहिरो झरेमा सडकको तल्लो भागका दुई घर पुरिने सम्भावना रहेको बताउनुभयो । यसका साथै ठुला रुख र विद्युत पोलको कारण समेत थप जोखिम रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले स्थानीयहरु घर छोडेर अर्कैको घरमा आश्रय लिने अवस्था रहेकोले सम्बन्धित निकायले तत्कालै ध्यान दिएर थप विपदको जोखिमबाट मुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । 

स्थानीयहरु डिल्ली ओली, यज्ञ ओली, डिला खड्का लगायतका घरहरु उच्च जोखिममा रहेका छन् । स्थानीयले जोखिममा रहेका घरहरुको संरक्षणका लागि तत्कालै रिटेनिङ वाल लगाउनुपर्ने रबन्दाबन्दै अधुरो छोडिएको सडक पूर्ण रुपमा सम्पन्न गर्न माग गरेका छन् । यसका साथै जोखिममा रहेका परिवारको जीवन र बासस्थानको सुरक्षाको समेत माग गरेका छन् । 

यस बिषयमा त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष राजकुमारी रेउलेले स्थानीयका घरहरु पहिरोको जोखिममा रहेको जानकारी रहेको तर जिम्मेवारी लिएको निर्माण कम्पनी बेखवर भएको बताउनुभयो । ठेक्काको प्राविधिक स्टिमेटमा ती घरहरुको सुरक्षाको लागि बलियो वाल निर्माण गर्ने व्यवस्था नै रहेको तर काममा आलटाल गरिरहेको उहाँको भनाइ रहेको छ ।

तत्कालै पालिकाको तर्फबाट आवश्यक कदम चाल्ने समेत उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्