नेभिगेशन
समाज

होप परियोजनाले आठबिसकोट र बाँफिकोटमा के-के गर्दैछ ? 

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सञ्चालित जलवायु उत्थानशील समुदायहरूको प्रवर्द्धन 'होप' परियोजनाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 

ग्रामीण युवा सरोकार केन्द्र रुकुम पश्चिम र सहयोगी हातहरूको समूह साहस नेपालको साझेदारीमा सञ्चाचित परियोजनाको बारेमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई जानकारी गराउन शुक्रबार अभिमुखिकरण गरिएको हो । 

कार्यक्रममा परियोजनाका जलवायु न्याय अधिकृत टेकेन्द्र नेपालीले परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा लक्षित समुदायबारे जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेशका समुदायहरूको जीवनस्तर सुधार गर्न सामाजिक तथा आर्थिक समावेशीकरणलाई प्रवर्द्धन गर्दै न्यायपूर्ण, समतामूलक र दिगो समाज निर्माणमा परियोजनाले काम गर्ने बताउनुभयो ।

यो परियोजना सन् २०२६ देखि २०२९ सम्म रुकुम पश्चिमको आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा सञ्चालन हुने बताईएको छ । परियोजनामार्फत जलवायु परिवर्तनबाट प्रभावित समुदायको उत्थानशीलता वृद्धि, सामाजिक समावेशीकरण र आर्थिक सशक्तीकरणमा काम गरिने ग्रामीण युवा सरोकार केन्द्रका सचिव भीमराज ओलीले जानकारी दिनुभयो।

परियोजनाले जिल्लाका एक हजार ८५० घरधुरीलाई प्रत्यक्ष रूपमा समेट्ने लक्ष्य लिएको छ। दलित, महिला, अपाङ्गता भएका व्यक्तिका परिवार, एकल महिला, युवा तथा किशोरीहरूलाई केन्द्रमा राखेर ७४ वटा समूह र २४ वटा संवाद केन्द्रमार्फत गतिविधि सञ्चालन गरिने जनाइएको छ।

परियोजना अन्तर्गत आठविसकोट नगरपालिकामा ४४ वटा समूह र १४ वटा संवाद केन्द्र तथा बाँफिकोट गाउँपालिकामा ३० वटा समूह र १० वटा संवाद केन्द्र गठन गरिनेछन्।

कार्यक्रममा बोल्दै नगर प्रमुख रबि केसीले जलवायु परिवर्तनका कारण बढ्दो जोखिम न्यूनीकरण तथा समुदायको क्षमता अभिवृद्धिमा परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख रवि केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्षहरू, विभिन्न विषयगत शाखाका प्रमुखहरू, ग्रामीण युवा सरोकार केन्द्रका सचिव भीमराज ओली, होप परियोजनाका एडभोकेसी कोर्डिनेटर हरिप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन जलवायु न्याय प्राविधिक दिपेन्द्र महताराले गर्नुभएको थियो।

Hope-(1)-1781925354.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्