नेभिगेशन
समाज

रुकुम पश्चिममा तीन वर्षमा १०२ जनाले गरे आत्महत्या

मुसिकोटमा सबैभन्दा धेरै, त्रिवेणी र सानीभेरीमा सबैभन्दा कम

रुकुम पश्चिममा पछिल्लो तीन आर्थिक वर्षको अवधिमा १०२ जनाले आत्महत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ देखि चालु आर्थिक वर्षसम्म जिल्लाका छ वटा स्थानीय तहमा १०२ जनाले आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार आत्महत्या गर्नेमा पुरुषको संख्या महिलाको तुलनामा निकै बढी रहेको छ। तथ्यांक अनुसार तीन वर्षको अवधिमा ३८ महिला र ६४ पुरुषले आत्महत्या गरेका छन्।

जिल्लामा आत्महत्याका घटनामा पुरुषको संख्या निरन्तर उच्च देखिएको छ। पछिल्लो तीन वर्षको तथ्यांकमा कुल आत्महत्यामध्ये करिब ६३ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला रहेका छन्। 

स्थानीय तहगत विवरण अनुसार मुसिकोट नगरपालिकामा सबैभन्दा धेरै २८ जनाले आत्महत्या गरेका छन्। त्यसमध्ये १० महिला र १८ पुरुष रहेका छन्। त्यसपछि चौरजहारी नगरपालिका मा २० जना, आठबिसकोट नगरपालिका मा १९ जना, बाँफिकोट गाउँपालिकामा १३ जना तथा सानीभेरी र त्रिवेणी गाउँपालिका मा समान ११/११ जनाले आत्महत्या गरेका छन्।

तथ्यांकले आर्थिक वर्ष २०८१/०८२ मा आत्महत्याका घटना सबैभन्दा बढी भएको देखाएको छ। उक्त वर्ष ४१ जनाले आत्महत्या गरेका थिए, जसमा १६ महिला र २५ पुरुष रहेका छन्। आर्थिक वर्ष २०८०/०८१ मा २५ जना र चालु आर्थिक वर्षमा हालसम्म ३६ जनाले आत्महत्या गरेका छन्।
आर्थिक वर्ष २०८०/०८१ मा १२ महिला र १३ पुरुष गरी २५ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०८१/०८२ मा १६ महिला र २५ पुरुष गरी ४१ जनाले आत्महत्या गरेका छन् भने चालु आर्थिक वर्षमा १० महिला र २६ पुरुष गरी ३६ जनाले आत्महत्या गरेका छन्।

मानसिक स्वास्थ्य सम्बन्धी समस्या, पारिवारिक विवाद, आर्थिक तनाव, सामाजिक दबाब तथा व्यक्तिगत कारणहरू आत्महत्याका प्रमुख कारकका रूपमा देखिने गरेको सरोकारवालाहरू बताउँछन्। आत्महत्याका घटनामा वृद्धि देखिन थालेपछि मानसिक स्वास्थ्य सचेतना, परामर्श सेवा तथा समुदायस्तरमा सहयोगी वातावरण निर्माण गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज