नेभिगेशन
समाज

रुकुममा मानव–वन्यजन्तु द्वन्द्व रोक्न संयुक्त सुरक्षा गस्ती गरिने

रुकुम पश्चिममा मानव र वन्यजन्तु बिचको द्वन्द्व रोक्न संयुक्त रुपमा सुरक्षा गस्ती गरिने भएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख बसन्तबाबु श्रेष्ठले मानव–वन्यजन्तु द्वन्द्वका कारण हुनसक्ने सम्भावित क्षति रोक्न जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग विच संयुक्त गस्ती र सूचना आदान प्रदान गर्ने सहमति भएको जनाउनुभयो । शनिबार डिभिजन वन कार्यालयमा भएको जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठकमा यस विषयमा सहमति भएको डिभिजनल वन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मानव र वन्यजन्तु बिचमा द्वन्द्वका कारण प्रतिशोध लिई पासो, विद्युतीय धराप, विपलगायतका विधिवाट वन्यजन्तु मार्ने र तिनको आखेटोपहारको अवैध व्यापार हुने कार्यलाई नियन्त्रण र निरुत्साहित गर्न यस्तो निर्णय गरिएको हो । डिभिजन कार्यालय र सुरक्षा निकायहरुबीच संयुक्त रुपमा गस्ती परिचालन एवम् सूचना आदान प्रदान कार्यले थप क्षति हुनबाट जोगाउने उहाँको बुझाइ छ ।

यसका साथै वन्यजन्तु चोरी शिकारी नियन्त्रण र वन्यजन्तुको अवैध व्यापार नियन्त्रणलाई प्रभावकारी बनाउन सिमाना जोडिएका जिल्लाहरु बिचमा सहकार्य गरिने भएको छ । रुकुम पश्चिम, जाजरकोट, डोल्पा, रुकुमपूर्व र सल्यान जिल्लाबीच समन्वयात्मक बैठक आयोजना गरेर थप योजना निर्माण गरिने भएको हो ।

बैठकले वन्यजन्तुवाट भएको क्षतिको राहत रकम पीडीत पक्षलाई डिभिजन वन कार्यालयबाटै वितरण गर्दा छिटो, छरितो र सहज हुने भएकाले सोको व्यवस्थाका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई अनुरोध गर्ने निर्णय गरेको डिभिजनल अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि डिभिजन वन कार्यालयले मानव वज्यजन्तु बिचको द्वन्द्व कम गर्न विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ । कार्यालयले वडा कार्यालय, वन उपभोक्ता समुह लगायतसँगको सहकार्यमा अभिमुखिकरण, छलफल लगायत सचेतनाका कार्यहरु गर्ने गरेको छ । 

जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाईका संयोजक एवम् डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी निशान राज गौतमको प्रमुख आतिथ्यतामा भएको बैठकमा चण्डी दल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठ, प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेल, सशस्त्र प्रहरी नायब उपरीक्षक जनदिशचन्द्र हमाल, प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राणा, मुसिकोट नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्