नेभिगेशन
समाज

अब रुकुमबाट सुतेरै काठमाडौं जाने बस सेवा 

बसमा सोफा सिट, एसी, वाईफाई, मोबाइल चार्जिङ पोइन्ट र टिभी जडान

अब रुकुमबाट काठमाडौं र काठमाडौंबाट रुकुम बसमा यात्रा गर्दा सुतेरै यात्रा गर्न मिल्ने सेवा ल्याईएको छ ।  रुकुम पश्चिममा रहेको कमलताल यातायात प्रालिले चारवटा एसी सुपर बस थप गरेसँगै यस्तो सेवा लिन पाईने भएको हो । 

प्रालिले रुकुम देखि काठमाडौँ तथा काठमाडौँबाट रुकुम पश्चिम चल्ने गरी एकैसाथ चारवटा नयाँ एसी बस थप गरेको हो । कमलताल प्रालिका अध्यक्ष ललित बुढाका अनुसार रुकुमेली नागरिकलाई लामो दुरीको आरामदायी यात्रा दिने गरी एक करोड बढी लगानीमा नयाँ सुपर बस थप गरिएको छ । ३२ सिट क्षमताका चारवटै बसमा ६/६ जना यात्रुलाई सुतेर यात्रा गर्ने व्यवस्था पनि राखिएको छ ।

नयाँ सुविधायुक्त बसमा सोफा सिट, एसी, वाईफाई, मोबाइल चार्जिङ पोइन्ट र टिभी जडान गरिएको छ । यी बसमा यात्रा गर्दा यात्रुलाई अन्य बसको भन्दा २० प्रतिशत बढी भाडा लाग्ने छ । आज भित्रिएका नयाँ एसी बस सोमबार रुकुम देखि काठमाण्डौ छुट्नेछन् ।

जिल्लावासीलाई स्तरीय बस सेवा दिने उद्देश्यले जिल्लामा पहिलो पटक स्लिपर बस भित्र्याइएको  प्रालिका कार्यालय प्रमुख डेबिट गौतमले जानकारी दिनुभयो । अब सुतेर तथा स्तरीय सेफा सेटमा बसेर यात्रा गर्न सकिने छ । बसाइका हिसाबले मात्र नभई व्यवहारका हिसाबले पनि स्तरीय सेवा प्रदान गर्नु प्रालिको उद्देश्य रहेको र अबका दिनमा पनि यात्रुमैत्री गुणस्तरीय सेवालाई विशेष जोड दिने गौतमले बताउनुभयो । 

२०८० मा स्थापना भएर सेवा दिइरहेको कमल ताल यातायात प्रालिले जिल्लामा पहिलो पटक ४ वटा एसी स्लिपर बस भित्र्याएको हो । नयाँ बसलाई आज बाजागाजा सहित मुसिकोटमा स्वागत गरिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ को शेरिगाउँ देखि वडा नम्बर १ को सल्लेसम्म बाजागाजा सहित पुर्‍याइएको हो ।

सल्लेमा एक कार्यक्रमका बिच बसको उद्घाटन समेत गरिएको छ । मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले रिबन काटेर ४ वटै बसको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्