नेभिगेशन
समाज

पुथामा शिक्षकको क्षमता विकासका लागि पाँच दिने तालिम सम्पन्न

पुथा उत्तरगङ्गा गाउँपालिका रुकुम पूर्वमा सञ्चालन गरीएको शिक्षक क्षमता विकास सम्बन्धी ५ दिने तालिमको समापन गरीएको छ । एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा निरन्तर विद्यार्थि मूल्याङ्कन सम्बन्धी शिक्षक क्षमता विकास तालिमको सोमवार समापन गरीएको हो ।

पुथा गाउँपालिका रुकुम पूर्वको आयोजना र कालिका स्वावलम्वन सामाजिक केन्द्र कपिलवस्तु, यूनिसेफ-इयूको प्राबिधिक सहयोगमा उक्त तालिम जेठ १४ गतेदेखि १८ गतेसम्म तकसेरामा सञ्चालन गरीएको थियो ।

आधारभूत तह कक्षा १-३ को एकीकृत पाठ्यक्रम कार्यान्वयन र निरन्तर विद्यार्थि मूल्याङ्कनलाई विद्यालयमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि शिक्षक तालिमको आयोजना गरीएको पुथा उत्तरगङ्गा गाउँपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद खड्काले बताउनुभयो ।

तालिमले शिक्षकहरुमा एकीकृत पाठ्यक्रम कार्यान्वयन र निरन्तर विद्यार्थि मूल्याङ्कन प्रणालीमा भएको अन्यौलतालाई सम्बोधन गरेकाले र प्रयोगात्मक बिधिको प्रयोग गरीएकाले निकै प्रभावकारी भएको जनसहयोग माध्यमिक विद्यालय रिवाङचौरका शिक्षक मोहन कुमार सेनले बताउनुभयो । समापन सत्रमा बोल्दै शिक्षक सेनले विद्यालयमा गई कार्यान्वयन गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।

५ दिने उक्त तालिममा पुथा उत्तरगङ्गा गाउँपालिकाका सामुदायिक विद्यालयका ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो भने तालिमको सहजिकरण माध्यमिक विद्यालय कुचिवाङ भूमे-८ रुकुम पूर्वका प्रधानाध्यापक लोकप्रसाद शर्मा र कालिका स्वावलम्वन सामाजिक केन्द्र कपिलवस्तुका शिक्षा प्राविधिक अधिकृत केशव कुमार विसीले गर्नुभएको थियो ।

तालिमको औपचारीक समापन पुथा उत्तरगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुव बिकले गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत बिकले शिक्षकहरुको आवश्यकता र मागका आधारमा यो तालिमको आयोजना गरीएकोले विद्यालयमा यसको पूर्ण कार्यान्वयन हुने अपेक्षा रहेको बताउनु भयो ।

पुथा उत्तरगङ्गा गाउँपालिकले शैक्षिक बर्ष २०८३ लाई शैक्षिक सुधार बर्षको रुपमा अगाडी बढाएकाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि समुदाय, शिक्षक र सरोकारवाला हातेमालो गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको समेत अधिकृतले बताउनु भयो । 

तालिम समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुव बिक, शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद खड्का, शिक्षा प्रशासन सहायक सपना ओली र गाउँपालिका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज