नेभिगेशन
समाज

रुकुम पश्चिममा १० किलो अफिमसहित चार जना पक्राउ 

रुकुम पश्चिममा १० किलो बढी लागु औषध (अफिम) सहित चार जना पक्राउ परेका छन् । गत शनिबार बेलुका जिल्लाको आठबिसकोट नगरपालिका १४ छेपारेस्थित भेरीकरिडोरबाट अवैध अफिमसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार जाजरकोटको कालिमाटीबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु २ ख ५१९५ नम्वरको यात्रुबहाक फोर्स गाडी चेकजाँच गर्ने क्रममा अफिम फेला परेको हो । 

इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाँईको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाडीको डिक्कीमा बेसारको बोरा भित्र प्लाष्टिकको पोको बनाएर लुकाई छिपाई राखेको अवैध लागु औषध बरामद गरेको हो ।

प्रहरीले १० किलो १६० ग्राम अवैध अफिम बरामद गरेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त घटनामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेहरुमा जाजरकोटको नलगाड नगरपालिका ३ कैन बस्ने २८ वर्षका खड्क पुन, सोही गाउँकी ३० वर्षीया बृहस्पती पुन थापा, बाँकेको कोहलपुर नगरपालिका २ शक्तिनगर निवासी ३६ वर्षका गाडी चालक रामबहादुर सार्की र सोही स्थान निवासी १८ वर्षका सुरज बिक रहेका छन् । 

घटनास्थलबाट रितपूर्वक बरामद भएको १० वटा प्लाष्टिकको पोका भित्रको अवैध अफिम र पक्राउ परेका व्यक्तिहरु उपर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज