नेभिगेशन
समाज

रुकुम पश्चिमका सरकारी कार्यालयमा प्रशासनको छड्के : ४३ कर्मचारी अनुपस्थित, ३१ जनाले कर्मचारी पोशाक नलगाएको भेटिए

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लास्थित विभिन्न १० वटा सरकारी कार्यालयहरूको छड्के अनुगमन गरेको छ । 

मंगलबार गरेको छड्के अनुगमनका क्रममा ४३ जना कर्मचारी अनुपस्थित भएका छन् भने ३१ जनाले कर्मचारी पोशाक नलगाएको भेटिएको छ । 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीमा अनुसार अनुगमनका क्रममा १० वटा कार्यालयमा २५८ जना कर्मचारी उपस्थित भएका छन् भने ४३ जना कर्मचारी 

अनुपस्थित देखिएका छन् । काज/विदामा बसेका कर्मचारी २९ रहेका छन् भने ३१ जना कर्मचारीलाई पोशाक लगाउन सचेत गराइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ओलीका अनुसार शिक्षा विकास तथा समन्वय इकाइ, डिभिजन वन कार्यालय, कृषि विकास कार्यालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, सामाजिक विकास कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, खानेपानी, सिंचाइ तथा उर्जा विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय र  मुसिकोट नगरपालिकाको नगरकार्यपालिकाको कार्यालयमा छड्के अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा कर्मचारीहरुलाई नियमित समय पालना गर्ने, काज/विदा स्वीकृत गरेर मात्र खटिने/बस्ने, कर्मचारी पोशाक तथा परिचयपत्रको अनिवार्य प्रयोग गर्ने, सेवाग्राहीप्रति सेवामैत्रीभाव प्रकट गर्न निर्देशन दिइएको छ । 

त्यसैगरी कार्यालय तथा कार्यालय परिसर सरफाईमा विशेष ध्यान दिने, कर्मचारीको हाजिर/काज/विदाको अद्यावधिक गराई हाजिरी अभिलेख व्यवस्थापन गर्ने, सेवाग्राहीसम्म सूचनाको सहज पहुँच पुर्‍याउन वेबसाइट तथा सामाजिक सञ्जालहरूलाई सक्रिय तुल्याउने र ई-हाजिरी जडान नगरेका कार्यालयहरुले यथाशीघ्र जडान गर्ने व्यवस्था मिलाउनको लागी पनि निर्देशन दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्