नेभिगेशन
समाज

कर्णालीकाे जलस्रोत तथा ऊर्जा मन्त्रालयद्वारा वार्षिक विकास कार्यक्रममाथि छलफल

कर्णाली प्रदेश सरकार, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट निर्माणको तयारीका क्रममा वार्षिक विकास कार्यक्रम तर्जुमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार मन्त्रालयमा जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

छलफल कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव डा. योगेन्द्र मिश्रले मन्त्रालयको हालसम्मको खर्च अवस्था, मन्त्रालय तथा मातहतका कार्यालयहरूको चैत मसान्तसम्मको वित्तीय तथा भौतिक प्रगति, आर्थिक वर्ष ०८२/०८३ मा स्वीकृत बहुवर्षीय आयोजनाहरूको अवस्था तथा सालवसाली आयोजनाहरूको कार्यान्वयन अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी आयोजना बैंकमा समावेश आयोजनाहरूको विवरण तथा प्रस्तावित नीति तथा कार्यक्रममा उल्लेख गरिएका कार्यहरूको प्रगतिसम्बन्धी विवरणसमेत प्रस्तुत गरिएको थियो। छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले आगामी बजेट निर्माण गर्दा बजेट सन्तुलन कायम गर्नुपर्ने, सबै स्थानीय तह समेटिने गरी योजना छनोट गर्नुपर्ने तथा अधुरा योजनालाई सम्पन्न गर्न प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने सुझाव दिएका थिए।

त्यस्तै, लिफ्ट सिँचाइ कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, लागत सहभागिता हटाउनुपर्ने, खानेपानी, सिँचाइ, ऊर्जा तथा तटबन्धका योजनालाई प्राथमिकतामा राख्नुपर्ने र “एक घर एक धारा” कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने सुझावसमेत सहभागीहरूले राखेका थिए। कार्यक्रममा मन्त्री बुढाले प्रदेश सभा सदस्यहरूले दिनुभएको सल्लाह तथा सुझावलाई आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दलका नेता मंगल बहादुर शाही, पूर्व मुख्यमन्त्री राज कुमार शर्मा, प्रदेश सभा अन्तर्गत विभिन्न समितिका सभापतिहरू, प्रदेश सभा सदस्यहरू तथा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज