नेभिगेशन
समाज

द्वन्द्वकालमा बरामद गरी बंकरमा राखिएका ८६ बम सेनाद्वारा निष्क्रिय

जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा फेला परेका ८६ वटा बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

गत बुधबार दिउँसो शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा जग खन्ने क्रममा शङ्कास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको थियो । निरन्तरको उत्खननका क्रममा शनिबार बिहानसम्म कुल ८६ वटा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

फेला परेका विस्फोटक सामग्रीमध्ये ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एउटा बोतल बम रहेका छन् । साथै उत्खननका क्रममा सात थान रेडियो वेभ उपकरण, करिब ५०० ग्राम विस्फोटक पदार्थ, दुई केजी बम निर्माणमा प्रयोग हुने सामग्री तथा १० मिटर फायरिङ केबलसमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीका अनुसार बम फेला परेपछि तत्काल नेपाली सेनाको सिद्धीबक्स गणसँग समन्वय गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो । थप बम फेला परेपछि नं. १९ बाहिनी तुलसीपुर, दाङ र कालीभक्ती गण भैरहवाबाट आएको बम डिस्पोजल टोलीले ती सामग्री निष्क्रिय पारेका हुन् ।

शनिबार सेनानी श्रीप्रसाद रामजालीको नेतृत्वमा रहेको इन्जिनियर टोली तथा सिद्धीबक्स गण सल्यानबाट सेनानी महेश अधिकारीको नेतृत्वमा खटिएको टोलीले सबै बम सुरक्षित रूपमा निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुमानअनुसार ती बमहरू सशस्त्र द्वन्द्वकालमा बरामद गरी बंकरमा राखिएको र समयक्रममा पुरिएको हुनसक्ने देखिएको छ । हाल उक्त क्षेत्रको सुरक्षा अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्