नेभिगेशन
समाज
नयाँ शहर

नयाँ शहरमा जग्गा विकाससँगै बन्दैछन् सडक र नाला 

नयाँ शहरको रुपमा विकास भईरहेको रुकुम पश्चिमको चौरजहारीमा जग्गा विकास तथा एकिकरण कार्यसँगै भित्रि सडक र नाला निर्माणको काम समेत भईरहेको छ । 

नयाँ शहर आयोजना कार्यालय चौरजहारीले वडा नम्वर १ मा रहेको घारीगाउँ जग्गा विकास आयोजना अन्तर्गत पूर्वाधार निर्माणको क्रममा नाला र भित्रि सडक निर्माण गरिरहेको हो । आयोजना प्रमुख ई.गौरी पण्डितका अनुसार घारीगाउँ जग्गा विकास आयोजना अन्तर्गत रहेको दतुले खोलामा अहिले आरसिसी नाला निर्माण र नाखिरा भित्रि सडक निर्माणको काम तिब्र रुपमा भईरहेको छ ।

यसअघि मुख्य बजार क्षेत्र र अन्य स्थानमा समेत सडक र नाला निर्माण गरिएको छ । आयोजना प्रमुख पण्डितका अनुसार अहिले आधुनिक रुपले डिजाईन गरिएको नाला र छ मिटर चौडाई रहेको भित्रि सडकमा धमाधम काम भईरहेको छ । उहाँले आगामी असार मसान्तसम्म यी दुवै योजनाको काम पुरा हुने जनाउनुभयो । 

आयोजना कार्यालयका ईन्जिनियर बिष्णुबहादुर शाहीका अनुसार १२२ मिटर आरसिसी नाला र दुई सय मिटर भित्रि सडक निर्माण भईरहेको छ । यो कार्यका लागि निर्माण व्यवसायी बि.एन.एस./एम.एन.एस. जेभि र आयोजना कार्यालय बिच भ्याट रकम बाहेक दुई करोड ५० लाख ३५ हजार ३८१ रुपियाँमा सम्झौता भएको छ । नालाको दुबै तर्फको भागमा समेत आरसिसी वाल निर्माण हुने भएकोले बलियो नाला निर्माण हुने ईन्जिनियर शाहीले जनाउनुभयो । 

यो कार्य सम्पन्न भएमा जग्गा एकिकरण भएको क्षेत्रमा बर्षायाममा खोलाको पानी जाने र सडक अव्यवस्थित हुने समस्या समाधान हुने चौरजहारी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष ईन्द्रे गिरीले बताउनुभयो । उहाँले नयाँ शहरले जग्गा विकास गरिरहेको क्षेत्रमा बलियो र व्यवस्थित नाला र सुन्दर सडक निर्माण गर्न थालेको जानकारी दिनुभयो । 

वि.सं. २०७२ सालमा स्थापना भएको नयाँ शहर आयोजना कार्यालयले चौरजहारी क्षेत्रका विभिन्न सडकको निर्माण, कालोपत्रे लगायतका काम समेत सम्पन्न गरेको छ । हालसम्म ५७.१ किलोमिटर सडकको ट्रयाक खोल्ने, स्तरोन्नती र ग्राभेल गर्ने काम सम्पन्न भएको छ भने ११.४ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

आयोजना प्रमुख पण्डितले २.२ किलोमिटर सडक ढलान गरिएको, ४२० मिटर सडक क्षेत्रमा सोलिङ गरिएको र ३१.७ किलोमिटर नाली निर्माणको काम पुरा गरिएको जानकारी दिनुभयो । यसअघि हिलाम्य र धुलाम्ये हुने सडकहरु व्यवस्थित हुँदा यहाँका सर्वसाधारण र अन्य आगन्तुकहरुलाई समेत सहज भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्