नेभिगेशन
समाज

रुकुम पश्चिममा लागुऔषध नियन्त्रणका लागि कार्ययोजना तयार

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले लागुऔषध नियन्त्रणका लागि कार्ययोजना निर्माण गरेको छ । कार्यालयले तीन महिने कार्ययोजना बनाएर कार्यान्वय समेत सुरु गरेको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीका अनुसार जिल्लामा हुनसक्ने लागुऔषधको अवैध उत्पादन, कारोबार तथा उपयोगलाई पूर्ण रुपमा नियन्त्रण गरी समाजलाई सभ्य, मर्यादित र सुरक्षित बनाउने लक्ष्यका साथ कार्ययोजना बनाएर कार्यान्वयन थालिएको हो । उहाँले लागुपदार्थको उत्पादन, भण्डारण तथा सेवन हुन नदिने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, अनुगमन तथा चेकजाँचलाई थप प्रभावकारी बनाउने, सेवनकर्ताहरुको पहिचान गरेर उचित व्यवस्थापन, उपचार तथा पुनःस्थापनाको व्यवस्था मिलाउने उद्धेश्यले तीन महिने कार्ययोजना कार्यान्वयमा ल्याएको जनाउनुभयो ।

कार्ययोजनामा विभिन्न क्रियाशिल निकायहरुसँग निरन्तर समन्वय, सहकार्य तथा साझेदारी गर्ने र जनचेतनामूलक तथा भण्डाफोर अभियान समेत सञ्चालन गरिने जनाईएको छ । प्रमुख जिल्ला अधिकारी थानीका अनुसार कार्ययोजनामा विद्यार्थी, अभिभावक, समुदाय, कार्यस्थल, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु, अवैध कारोबार तथा सेवनमा संलग्न व्यक्ति तथा समुह र सञ्चार माध्यामहरुलाई लक्षित समुह तय गरेर कार्ययोजना कार्यान्वयन गरिने बताउनुभयो । लागु औषध नियन्त्रण कार्ययोजना, २०७५ को मार्गदर्शनमा रही उक्त कार्ययोजना बनाईएको हो । 

प्रशासन कार्यालयले लागुऔषध नियन्त्रण बारेमा पत्रकारहरुलाई अभिमुखिकरण गर्नुका साथै कार्ययोजनाको जानकारी समेत गराएको छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा देवबहादुर ओलीले कार्ययोजनामा समावेश गरिएका गतिविधिहरु बारेमा जानकारी दिनुभयो । उहाँले समन्वय तथा सहजीकरण, लागुऔषधको खेती तथा उत्पादन नियन्त्रण, ओसारपसार, सञ्चय तथा खरिद बिक्रिमा नियन्त्रण, लागु औषध दुव्र्यसन नियन्त्रण कार्यक्रमलाई कार्ययोजनामा समावेश गरिएको जानकारी दिनुभयो ।

यसका साथै सचेतनामूलक तथा जनजागरण कार्यक्रम सञ्चालन, आमसञ्चार माध्याममार्फत लागु औषध बिरुद्ध अभियान र प्रभावकारी अनुगमन जस्ता कार्यक्रमहरु कार्ययोजनामा समावेश गरिएको छ ।  

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलले विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रमहरु र अवैध अफिम फडानी कार्यलाई तिब्र पारेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा १६५ रोपनी क्षेत्रफल जमिनमा लगाईएको अफिम नष्ट गरेको जानकारी दिनुभयो ।

आर्थिक वर्ष ०८२/०८३ को हालसम्म लागुऔषधको कारोबार सम्बन्धिका विभिन्न चार वटा मुद्धा समेत दर्ता भई कारबाहिको प्रक्रियामा रहेको डिएसपी पौडलले बताउनुभयो । डिएसपी पौडेलका अनुसार भौगोलिक बनावट, अन्य जिल्लासँगको सीमा नाकाको अवस्थिति, जनताको छिटो धनी हुने अपेक्षा, कृषिबाली भन्दा लागुऔषधजन्य उत्पादनले बढी नाफा दिने भ्रम लगायतको कारण जिल्लामा लागुऔषधजन्य पदार्थको उत्पादन र ओसारपसार हुने गरेको छ ।

कार्यक्रममा लागुऔषधको परिचय, अवस्था, असर, लक्षण तथा बच्ने उपायहरु बारेमा समेत अभिमुखिकरण गरिएको थियो । 

प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेल, सशस्त्र प्रहरी नायब उपरीक्षक जगदिशचन्द्र हमाल, प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राणा, जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा देवबहादुर ओलीले गर्नुभएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्