नेभिगेशन
समाज

एसइई परिक्षा दिनुहुँदै वडा अध्यक्ष केसी

सल्यानको दार्मा गाउँपालिका–५ का वडा अध्यक्ष सुदीप केसी २० वर्षपछि पुनः अध्ययनमा फर्किएर माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनुभएको छ। ४० वर्षको उमेरमा उहाँले दार्माकोटस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट यस वर्षको एसइई दिनुभएको हो।

२०६२ सालमा कक्षा १० सम्म अध्ययन गर्नुभएका केसीले पारिवारिक समस्या र जिम्मेवारीका कारण पढाइ बिचमै छोड्नुपरेको थियो। तर अध्ययनप्रतिको चाहना भने निरन्तर रहँदै आएको उहाँ बताउनुहुन्छ।

“पढ्ने इच्छा सधैं थियो, तर परिस्थितिले साथ दिएन,” उहाँले भन्नुभयो, “अहिले फेरि हिम्मत गरेर विद्यालय भर्ना भएँ र एसइई दिइरहेको छु।” परीक्षामा सहभागी हुन पाउँदा आफूलाई ठूलो उपलब्धि जस्तो लागेको उहाँको भनाइ छ। 

वडा अध्यक्ष केसी परीक्षा केन्द्रमा पुगेपछि विद्यार्थीहरूमा पनि उत्साह थपिएको देखिएको छ। “वडा अध्यक्ष पनि हामीजस्तै परीक्षा दिनुभएको छ भन्ने सुनेर विद्यार्थीहरू झन् प्रेरित भएका छन्,” उहाँले मुस्कुराउँदै भन्नुभयो।

उहाँका आफ्नै छोरा–भतिजा समेत सोही केन्द्रबाट परीक्षा दिइरहेका छन्, जसले उहाँलाई थप जिम्मेवार बनाएको छ। परीक्षा अनुभव सन्तोषजनक रहेको बताउँदै उहाँले “पढाइ उमेरले होइन, इच्छाले हुन्छ” भन्ने महसुस भएको बताउनुभयो। एसइईपछि पनि अध्ययनलाई निरन्तरता दिने योजना उहाँको छ। “११ र १२ कक्षा पढ्ने इच्छा छ, सकेसम्म अघि बढ्ने सोच बनाएको छु,” उहाँले भन्नुभयो।

जनप्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गर्दै अध्ययनमा फर्किनुभएको उहाँको कदमले स्थानीयस्तरमा शिक्षाप्रति सकारात्मक सन्देश दिएको अपेक्षा गरिएको छ। - गोरखापत्र अनलाइन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्