नेभिगेशन
समाज
दुर्गम गाउँमा स्वास्थ्य शिविर

दुर्गम पेल्मा गाउँमा नेपाली सेनाको स्वास्थ्य शिविर सम्पन्न 

गाउँमै पहिलो पटक सेवा पाउँदा सर्वसाधारण खुसी  

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्र्वको दुर्गम गाउँमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविरमार्फत प्रभावकारी सेवा प्रदान गरेको छ । मङगलबार चण्डी दल गण रुकुमपश्चिमले पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर २ को पेल्मा गाउँमा शिविर सम्पन्न गरेको हो । 

विपन्न सर्वसाधारणलाई लक्षित गरेर नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरमार्फत प्रभावकारी सेवा प्रदान गरेको छ । निशुल्क स्वास्थ्य शिविरबाट २२४ सर्वसाधारणले सेवा पाएका छन् । सेवा पाउनेहरुमा १४५ जना महिला र ७९ जना पुरुष रहेका । जसमध्य ५५ जना बालालिकासमेत रहेका छन् । 

health-camp-(5)-1774350723.JPGचण्डीदल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठका अनुसार सैनिक नागरिक सम्बन्ध सुदृढ बनाउने र ग्रामीण क्षेत्रमा आर्थिक तथा भौगोलिक रुपले पछाडि परेका गरीब तथा विपन्न समुदायलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने लक्ष्यसहित शिविर सञ्चालन गरिएको हो । उहाँले शिविरबाट नशा तथा हाडजोर्नी, बाल रोग, स्त्री रोग जाँच तथा उपचार, परामर्श सेवा, स्वास्थ्य परिक्षण तथा औषधि वितरण लगायतका सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।

चण्डीदल गणले श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्म, साझा मुराल अस्पताल प्रा.लि रुकुम पश्चिम, रुकुम पूर्व जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालय रुकुम पूर्व र पुथा उत्तरगंगा गाउँपालिकाको सहयोगमा शिविर सम्पन्न गरेको जनाएको छ । 

health-camp-(3)-1774350719.JPGगाउँमै पहिलो पटक शिविरमार्फत निःशुल्क सेवा पाउँदा यहाँका सर्वसाधारणहरु खुसी भएका छन् । पेल्मामा रहेको नमूना आमा समुहका अध्यक्ष जोगमाया पुनले दुर्गम गाउँमै दक्ष चिकित्सकसहितको टोलीले स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच र उपचार गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । आर्थिक अभाव र समय व्यवस्थापन गर्न नसकेर रोगको शिकार भईरहेका जनताले गाउँमै सेवा पाउँदा उनीहरुसमेत खुशी रहेको उहाँले उल्लेख गर्नुभयो ।

निःशुल्क स्वास्थ्य जाँच, परामर्श र औषधि समेतको व्यवस्थाबाट सर्वसाधारणहरुमा ठुलो राहत भएको उहाँको भनाइ छ । यो क्षेत्रमा यातायात सुविधा समेत नहुँदा सर्वसाधरणले सहज स्वाथ्य सेवा पाउन मुश्किल रहेको जनाएका छन् ।

health-camp-(1)-1774350716.JPGश्री नं. १९ बाहिनी गुल्मका डा.मिलन भण्डारीको नेतृत्वमा रहेको मेडिकल टोली शिविरमा परिचालन भएको थियो । शिविरमा डा. भण्डारी, डा. दिपक पुन, डा.कृष्ण खराल र डा. विजय बस्नेत लगायतको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको छ । 

चण्डीदल गणका गणपति बिनिश श्रेष्ठको मुख्य उपस्थितिमा सम्पन्न शिविरमा सेनानी सुस्पन कटुवाल, पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत ध्रुव बिक लगायतको उपस्थिति रहेको थियो भने पेल्मा र आसपास गाउँका सर्वसाधारणहरुले समेत सेवा पाएका छन् । 

सेनाले घरआँगनमा नै गएर प्रभावकारी स्वास्थ्य सेवा र औषधी उपचार गर्ने अभियानको निरन्तरता स्वरुप जिल्लाका अन्य स्थानमा पनि शिविर सञ्चालन गर्ने जनाएको छ । यस अघि रुकुमपश्चिमको आठबिसकोट, चौरजहारी, त्रिवेणीमा चण्डीदल गणले स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

IMG_2021-1774350724.JPG

health-camp-(2)-1774350715.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्