नेभिगेशन
समाज

फर्किएनन् आफन्तको विवाहमा गएका एकाघरका तीन छोरी

दुईको शव फेला, एक अझै वेपत्ता

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –३ गरालागोठबाट र मुसिकोट नगरपालिका –१ को भलखोला गाउँलाई सानीभेरी नदिले छुट्याएको छ । सोमबार गरालागोठबाट भलखोला आफन्तको विवाहमा गएका एकाघरका तीन छोरी बेलुका घर फर्किएनन् ।

रातभर आफन्तकोमा खबर गरियो, छिमेकी गाउँमा सोधिखोजी गरियो । मंगलबार बिहान भने दुई जनाको शव सानीभेरी नदिको किनारमा फेला पर्यो । एक जना अझैसम्म बेपत्ता हुनुहुन्छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार तीन किशोरीहरु बाँफिकोट गाउँपालिका –३ निवासी पूर्णबहादुर ओली र निराजन ओलीका छोरीहरु हुन् । पूर्णबहादुर र निराजन एकाघरका सहोदर (माईलो र साँइलो) दाजुभाई हुनुहुन्छ । 

डिएसपी पौडेलले निराजनका दुई छोरीहरु १४ वर्षीया उर्मीला ओली र १२ बर्षीया कल्पना ओली नदि किनारमा मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो । पूर्णबहादुरको १३ वर्षीया छोरी सपना ओलीको भने अवस्था अज्ञात रहेको छ ।

मंगलबार अबेलासम्म डिएसपी पौडेल लगायतको प्रहरी टोली, जनप्रतिनिधि, आफन्त र स्थानीयवासीले नदि किनार र अन्यत्र खोजी गर्दा पनि सपनाको अवस्थ अझै सम्म अज्ञात रहेको छ । बुधबार बिहानबाटै पनि खोजी कार्य जारी रहेको छ । 

khoji-hudai-1773203781.jpg
बेपत्ताको खोजीमा सक्रिय डिएसपी बेदबहादुर पौडेल ।

उर्मीला र कल्पनाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ भने सपनाको खोजी कार्य जारी रहेको छ । डिएसपी पौडेलले नदि पारी रहेको भलखोला गाउँमा आफन्तको बिहेबाट फर्कने क्रममा नदि तर्न खोज्दा उनीहरुलाई बगाएको अनुमान गरिएको बताउनुभयो । अनुसन्धान कार्य जारी रहेको उहाँले भनाइ छ । 

घटनास्थलमा रहनुभएका बाँफिकोट गाउँपालिका –३ का वडा सदस्य देवराज उपाध्यायले घटना अत्यन्त दुखद रहेको बताउनुभयो । भलखोलाबाट घर जाँदा सानीभेरी तर्नलाई घर नजिकै झोलुङगे पुल पनि छ । पुलबाट नतरेर उनीहरु के, कति कारणले नदि तर्न खोजे भन्ने कुरा खुल्न नसकेको उहाँको भनाई छ । 

मृतक उर्मीला र कल्पनाको निधारमा विवाहमा लगाएको टिका रहेको, शरिरमा कहिकतै चोटपटक नरहेको, नाक र कानमा गहना रहेकोले नदिले बगाएको अनुमान गर्न सकिएतापनि पुल हुँदाहुँदै किन नदि तर्न गए भन्ने कुरा रहस्यमा रहेको उहाँले जनाउनुभयो । उर्मीला र कल्पनाको शव करिब पाँच सय मिटरको दुरीमा फेला परेका हुन् । घटनास्थल उनीहरुको घरभन्दा करिब १५० मिटरको दुरीमा रहेको छ ।  

उर्मीला र सपना मुसिकोट नगरपालिका १ मा रहेको त्रिपुरा माविका कक्षा ६ मा अध्ययरत थिए भने कल्पना स्थानीय जनविकास आविमा कक्षा ५ मा अध्ययनरत छात्रा हुन् । निराजनका चार सन्तान मध्य उर्मीला माईली र कल्पना कान्छी छोरी हुन् ।

निराजन रोजगारीको लागि भारतमा जानुभएको छ । पूर्णबहादुरका पनि चार सन्तान मध्य सपना कान्छी छोरी हुन् । उहाँ ज्यामी काम गर्नुहुन्छ । प्रहरीले पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्