नेभिगेशन
समाज

मुसिकोटमा मेलको बोटमा नासपाती कलमी गरिदैं 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले मेलको बोटमा नासपाती कलमी गर्ने अभियान सञ्चालन गरेको छ । जस अन्तर्गत नगरपालिकाको कृषि शाखाले तालिम समेत सम्पन्न गरेको छ । शुक्रवार मुसिकोट नगरपालिका ६, मेलचौरमा तालिम सम्पन्न गरिएको हो । 

तालिममा नासपातीको उन्नत जात छनोट, बिरुवा उत्पादन प्रक्रिया, सही समयमा कलमी गर्ने विधि तथा व्यावहारिक अभ्यास गराइएको थियो। कार्यक्रमले स्थानीय कृषकलाई व्यवसायिक फलफूल खेतीतर्फ प्रेरित गर्ने विश्वास नगरपालिकाले लिएको छ।

कार्यक्रमको प्रमुख आतिथ्यता मुसिकोट नगरपालिका नगर प्रमुख महेन्द्र के.सी.ले गर्नुभएको थियो भने विशेष आतिथ्यता उपप्रमुख विमल कुमार पुनले गर्नुभएको थियो। प्रमुख अतिथि के.सी.ले कृषिलाई आधुनिक तथा व्यवसायिक बनाउँदै स्थानीय उत्पादन वृद्धि गर्नु आजको आवश्यकता भएको बताउँदै यस्ता तालिमले कृषकलाई आत्मनिर्भर बन्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो।

विशेष अतिथि पुनले कृषकको आयआर्जन वृद्धि र सीप विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि कृषक केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

मुसिकोट कृषि शाखा प्रमुख अवधेश कुमार चौधरीले नासपाती खेतीको सम्भावना र बजार मागलाई ध्यानमा राख्दै कलमी प्रविधि अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले गुणस्तरीय बिरुवा उत्पादनमार्फत उत्पादन र आम्दानी दुवै वृद्धि गर्न सकिने उल्लेख गर्नुभयो।

d582fe92-7ce0-43c1-90eb-35d9db7a5253-1771664136.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्