नेभिगेशन
समाज

रुकुमका वडा वडामा मतदाता शिक्षा कार्यक्रम

रुकुम पश्चिमका गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भईरहेको छ । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वयम् सेवकमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख मोहनलाल केसीका अनुसार जिल्लाका ७३ वटै वडामा एक÷एक जनाको दरले स्वयम् सेवक परिचालन गरिएको छ । निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले मतदाता शिक्षा सञ्चालन गरिएको हो । फागुन ३ गतेबाट सञ्चालन भएको मतदाता शिक्षा कार्यक्रम १७ गतेसम्म सञ्चालन हुने कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो । 

मतदाता शिक्षा कार्यक्रममा मतदानको महत्व, सही तरिकाले मतदान गर्ने तरिका, मतपेटिका पट्याउने तथा मतपेटिकामा खसाल्ने बिषयमा सिकाउने गरिएको छ । तालिम प्राप्त स्वयम् सेवकहरुले टोलटोलमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् । 

मतदाता शिक्षाका लागि छुट्टै नमुना मतपत्र रहेको छ । हरेक स्थानीय तहमा एक जना कर्मचारीलाई अनुगमनकर्ता तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयले अनुगमनकर्तालाई तालिम प्रदान गरेको थियो । स्थानीय पालिकामार्फत मतदाता स्वयंसेवकको माग गरिएको थियो । तालिमप्राप्त अनुगमनकर्ताले स्वयंसेवकलाई मतदाता शिक्षा सम्बन्धि तालिम सञ्चालन गरेर गाउँमा पठाइएको हो । 

जिल्लाका छ स्थानीय तहमा कुल एक लाख छ हजार ६६० मतदाता रहेका छन् । तीमध्ये ५२ हजार ३९६ महिला, ५४ हजार २६३ पुरुष र एक जना अन्य मतदाता रहेका छन् । 

cae50b0f-d2a1-48a0-8d2c-c4a48ef23464-1771573413.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्