नेभिगेशन
समाज

सानीभेरीका जेष्ठ नागरिकलाई घरदैलोमै भत्ता र स्वास्थ्य जाँच

अध्यक्षसँग एकीकृत सेवा कार्यक्रम सञ्चालन गरेको रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ भने निशुल्क स्वास्थ्य जाँच समेत गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले जेष्ठ नागरिकहरुलाई लक्षित गरेर यी दुई महत्वपूर्ण कार्यक्रमहरु गाउँमै पुगेर सम्पन्न गरेको जनाएको छ । 

चाल् आर्थिक वर्ष ०८२/८३ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता माघ ८ गतेदेखि २१ गतेसम्म प्रत्येक वडामा पुगेर बैंकमार्फत वितरण गरिएको हो भने सोहि अवसरमा ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबिर खड्काले जानकारी दिनुभयो । घरदैलोमै पुगेर भत्ता दिदा र उहाँहरुको स्वास्थ्य जाँच गर्दा जेष्ठ नागरिकहरुलाई प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ छ । 

गाउँपालिकाका जनस्वास्थ्य अधिकृत छबिलाल केसीले यस कार्यक्रमबाट ३९० जना महिला र २१८ जना पुरुष गरी जम्मा ६०८ जना ज्येष्ठ नागरिक लाभान्वित भएको जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरूको रक्तचाप, रगतमा चिनीको मात्रा (सुगर) लगायत आधारभूत स्वास्थ्य परीक्षण गरिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा १६ जना महिला र २२ जना पुरुष गरी ३८ जनामा उच्च रक्तचापको समस्या पहिचान गरिएको छ। त्यसैगरी १० जना महिला र ५ जना पुरुष गरी १५ जनामा मधुमेह देखिएको छ भने २ जना पुरुषमा पिसाब सम्बन्धी समस्या फेला परेको जनस्वास्थ्य अधिकृत केसीले जानकारी दिनुभयो।

ज्येष्ठ नागरिकहरू जटिल अवस्था भएपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने प्रवृत्ति न्यूनीकरण गर्ने उद्देश्यले घरदैलोमै स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। प्रारम्भिक चरणमै रोग पहिचान गरी आवश्यक परामर्श तथा उपचार प्रक्रिया अघि बढाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताइएको छ। घरदैलोमै दिईएको सेवाबाट जेष्ठ नागरिकहरु खुसी भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्