नेभिगेशन
समाज

रुकुमका दुई सञ्चारकर्मीद्वारा टिकटकबाट प्राप्त गिफ्ट पीडित परिवारलाई हस्तान्तरण

रुकुम पश्चिमका दुई सञ्चारकर्मीहरुले आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल टिकटकमा प्राप्त उपहार (गिफ्ट)को केहि रकम पीडित परिवारलाई सहयोग गर्नुभएको छ । 

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष देवकुमार ओली र रेडियो मौराखाराका स्टेशन प्रमुख नारायण ओलीले दीर्घ रोगबाट पीडित गरिब परिवारलाई आर्थिक रकम प्रदान गर्नूभएको हो । 

सानीभेरी गाउँपालिका ६ सल्लीचौर निवासी धनबहादुर घर्तीका छोराछोरीलाई सञ्चारकर्मीद्वय ओलीले आर्थिक सहयोग गर्नुभएको हो । उहाँहरुले सात हजार पाँच सयका दरले १५ हजार हस्तान्तरण गर्नुभएको हो । यसका साथै सानीभेरी गाउँपालिकाको सिम्लीमा व्यवसाय गर्दै आउनु भएका युवा व्यवसायी हेम केसीले पनि पीडित परिवारलाई तीन हजार रुपियाँ थप सहयोग गर्नुभएको छ ।

सहयोगी देवकुमार ओलीका अनुसार पीडितका बालबच्चालाई १८ हजार रुपियाँ हस्तान्तरण गरिएको छ । आफूहरुलाई टिकटकमा विभिन्न देशका मनकारीहरुले प्रदान गुर्नभएको गिफ्टबाट पीडित परिवारलाई सानो रकम सहयोग गरिएको उहाँको भनाई छ । 

सल्लीचौरका धनबहादुर घर्ती फोक्सो सम्बन्धी गम्भीर रोगबाट पीडित हुनुहुन्छ। उहाँको श्रीमती देउकला घर्तीको गत वर्ष घाँस काट्न जाँदा रुखबाट लडेर मृत्यु भईसकेको छ । 

बुवा दीर्घ रोगबाट पीडित, आमाको असामायिक निधनको कारण अप्ठ्यारो अवस्थामा रहेका उहाँका सन्तानहरुको अवस्था दयनिय भएपछि सहयोग गरिएको सहयोगी नारायण ओलीले जनाउनुभयो । 

उहाँका अनुसार आमाको मृत्यु र बुवाको बिरामीपनका कारण पढाइमा निरन्तरता दिन नसकेकी जेठी छोरी अमृता घर्ती कक्षा १२ पढ्दै गर्दा विद्यालय छोड्ने अवस्थासम्म पुग्नुभएको छ। उहाँका छोरी लालमाया घर्ती कक्षा १० मा, सिता घर्ती कक्षा ४ मा र टिकाराम घर्ती कक्षा ६ मा अध्ययनरत छन्। कमजोर आर्थिक अवस्था, बिरामी बुवा र पारिवारिक समस्याले गर्दा यो परिवार अहिले अत्यन्तै कठिन अवस्थामा जीवन गुजारिरहेको ओलीले उल्लेख गर्नुभयो।

यही पीडादायी अवस्थालाई बुझेर सामाजिक सञ्जाल टिकटकमार्फत मनकारी साथीहरूले पठाउनुभएको गिफ्टबाट जम्मा भएको रकममध्ये केहि रकम सअयोग गरेको उहाँले जनाउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्