नेभिगेशन
समाज

६ महिनामा रुकुम प्रहरीमा ११५ मुद्धा दर्ता, ३८ प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा जम्मा ११५ वटा मुद्धा दर्ता गरेर कारबाहि अगाडी बढाएको छ ।

आज कार्यालय परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर प्रहरीले साउन महिनादेखी हालसम्म गरेका गतिविधिहरुको जानकारी दिने क्रममा उक्त जानकारी दिएको हो । 

कार्यक्रममा प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रमेश बिष्टले दर्ता भएका मुद्धा मध्य १५ वटा जघन्य तथा गम्भीर अपराधका रहेको जनाउनुभयो । यसका साथै महिला तथा बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित अपराधका १२ वटा र आर्थिक अपराधका १९ वटा मुद्धा दर्ता भएको उहाँले जनाउनुभयो । यस अवधिमा पुराना तीन वटा मुद्धाको अनुसन्धान पुरा गरेर सम्बन्धित निकायमा पठाईएको उहाँले बताउनुभयो । 

डिएसपी बिष्टले यस अवधिमा विभिन्न मुद्धामा फरार ३८ जना प्रतिवादीलाई पक्राउ गरिएको र उनीहरुबाट एक लाख सात हजार ३२० रुपियाँ जरिवाना असुल गरिएको जानकारी दिनुभयो । प्रहरीले महिला, बालबालिका तथा जेष्ठ नागरिकतर्फका अन्य ५२ उजुरी दर्ता भएको र सबै फछ्र्यौट भईसकेको जनाएको छ । 

यस अवधिमा घरेलु हिंसाका ३७ वटा उजुरी मध्य २९ वटा मिलापत्र गराईएको र आठ वटा थप कारबाहिको लागि अदालत पठाईएको डिएसपी बिष्टले जानकारी दिनुभयो । 

ठाडो उजुरीतर्फ जिल्ला प्रहरी कार्यालयमा आएका ६३ र जिल्ला प्रशासन कार्यालयमार्फत आएका सात उजुरी पनि फछ्र्यौट गरिएको पत्रकार सम्मेलनमा बताईएको छ । यस अवधिमा प्रहरीले लागु औषधतर्फ एक ग्राम ७३० मिलिग्राम ब्राउनसुगर र ७० वटा ट्रामाडोल ट्याबेलट बरामद गरेको जनाएको छ । 

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीको बिशेष उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राना, प्रहरी निरीक्षक झबिन्द्र परियार, सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गोपाल प्रसाद रेग्मी लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज