नेभिगेशन
समाज

जिल्ला प्रहरीमा अपराधपीडितहरुसँग अन्तरक्रिया

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले विभिन्न अपराधका घटनाबाट पीडित व्यक्तिहरुका गुनासो र सुझाव सुनुवाईका लागि अन्तरक्रिया गरेको छ । 

मङगलबार जिल्ला प्रहरी कार्यालयमा जिल्लाका विभिन्न स्थानबाट सहभागी पीडितहरु बिच छलफल तथा अन्तरक्रिया गरिएको हो । नेपाल प्रहरीको समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो पटक विभिन्न अपराधबाट पीडित भएका व्यक्तिहरुसँग अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख  प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रमेश बिष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रहरीले विभिन्न घटना तथा मुद्धाहरु उपर अनुसन्धान तथा कारबाहि गर्ने क्रममा गरेको काम र व्यबहार पीडितहरुलाई कस्तो लाग्यो ? प्रहरी गतिविधिहरु कस्ता रहे ? भनेर जानकारी लिन र गुनासो तथा सुझावहरु भए सुधारका लागि संकलन गर्ने उद्धेश्यले अपराधपीडितहरुसँग अन्तरक्रिया गरिएको हो । 

Rukum-Police_Raju-(2)-1768289994.jpgविभिन्न मुद्धाका पीडितहरुको प्रहरीप्रतिको धारणा तथा बुझाई बुझ्न तथा उनीहरुको प्रतिक्रियाबाट प्रहरी योजना बनाउन, गुनासो समबोधन गर्न यो कार्यक्रम गरिएको डिएसपी बिष्टले जनाउनुभयो । यस अघि पीडितहरुसँग घरभेट तथा अन्य माध्यमबाट प्रतिक्रिया लिने गरेतापनि यस पटक पीडितहरुलाई सँगै राखेर अन्तरक्रिया गरिएको बताईएको छ । 

कार्यक्रममा पीडितहरुले विभिन्न जिज्ञासाहरु समेत राखेका थिए । अपराधका घटनामा संलग्नहरु धरौटीमा छुटेको, पुर्पक्षका लागि कारागार चलान भएको, थुनामा रहेको, फैसला भएको जस्ता विषयमा पीडितहरुले जिज्ञासा राखेका थिए । पीडितहरुका जिज्ञासाहरु डिएसपी बिष्ट, प्रहरी निरीक्षक झबिन्द्र परियारले सम्बोधन गर्नुभएको थियो । 

अन्तरक्रिया कार्यक्रममा सवारी दुर्घटना, जबरजस्ती करणी, लैङ्गिक हिंसा, बहुविवाह, अभद्र व्यवहार लगायतका घटनाका पीडितहरु सहभागी रहेका थिए । अन्तरक्रिया तथा छलफलमा २५ जना पीडितहरुले सहभागीता जनाएका थिए । जिल्ला प्रहरी कार्यालयले नागरिकका अन्य गुनासोहरु सुनुवाईका लागि समेत विभिन्न कार्यक्रमहरु गर्दै आएको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज