नेभिगेशन
समाज

पत्रकार लक्ष्मण केसीलाई गणेश शाह स्मृति पत्रकारिता पुरस्कार प्रदान

नेपाल पत्रकार महासंघ  कर्णाली प्रदेश समितिका उपाध्यक्ष लक्ष्मण केसी पुरस्कृत एवम् सम्मानित हुनुभएको छ । 

सहिद गणेश शाहको ३१ औ स्मृति दिवसको अवसरमा आज चौरजहारी नगरपालिका वडा नम्बर ११ मा आयोजित स्मृति सभामा उहाँलाई सहिद गणेश शाह स्मृति पत्रकारिता पुरस्कार, २०८२ बाट सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । 

मुसिकोट नगरपालिका १३ निवासी पत्रकार केसी नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँले पत्रकारीता क्षेत्रमार्फत सामाजिक न्याय, लोकतन्त्रको स्थापना तथा कार्यान्वयन, ग्रामीण बिषयवस्तुको उजागर गरेर समाज रुपान्तरणको लागि उच्च योगदान गरेको भन्दै नगद पुरस्कारसहित खादा ओढाएर सम्मान गरिएको हो ।

लामो समय शिक्षा  र सामाजिक विषयवस्तुका क्षेत्रमा कलम चलाउनुभएका केसी हाल उजेली न्युज अनलाईनको सम्पादक हुनुहुन्छ । उहाँ करिब दुई दशक यता पत्रकारीतामा संलग्न हुनुहुन्छ । 

स्मृति सभाको अवसरमा उहाँलाई सहिद गणेश शाहको श्रीमती तुला कुमारी शाह, नेपाली काङ्ग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओली, जिल्ला सदस्य एवम् संगठन विभाग प्रमुख यदु कुमार आचार्य, चौरजहारी नगर सभापति प्रेम बहादुर ओली लगायतले सम्मान तथा पुरस्कार प्रदान गर्नु भएको हो । 

दिवसकै अवसरमा सहिद स्मृति नगर अस्पतालमा फलफूल वितरण समेत गरिएको नेपाली काङ्ग्रेस चौरजहारी ११ का वडा सभापति खिम बहादुर ओलीले जानकारी दिनुभयो । 

२०५१ साल भदौ १७ गतेका दिन तत्कालीन सिम्ली गाविसको सुलिहालेमा शाहको हत्या भएको थियो । खोलागाउँ गाविसका अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहेको बेला तत्कालिन बिद्राेही पक्ष (नेकपा माओवादी) ले उहाँको हत्या गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्