एकजना वृद्ध मृत्युशैयामा छट्पटाइरहेका थिए । उनका ४ छोराबुहारीहरू यी बाबुले क-कसलाई ऋण दिएका होलान् ? कमाएको सम्पत्ति कहाँ कहाँ लुकाएका होलान् ? भन्ने कुरा बाबुले प्राण नत्याग्दै ओकल्न लगाउन बाबुलाई घेरेर बसेका थिए ।
बाबुले प्राण जाँदै गर्दा छोराहरूलाई एउटा चिर्कटो दिँदै भने, 'यसमा लेखेको कुरा ख्याल राख्नू । यो जग्गा नबाँड्नु र नबेच्नु । मैले कमाएको सबै त्यसैमा छ ।'
बाबुले दिएको चिर्कटो कौतुहलतावश् जेठो, माइलो, साइँलो तीनै भाइले हेरेर फाल्तु कुरा भनेर फ्याँकिदिए । कान्छाले हेर्यो र पछि काम लाग्न सक्छ भनी खल्तीमा राख्यो ।
भोलिपल्टबाट चारै भाइले आफ्ना बाबुले कमाइ पत्ता लगाउन जमिन खन्न थाले । एक हप्तासम्म बारम्बार खन्दा पनि खेतमुनि काला ढुङ्गाहरूबाहेक अरूथोक केही भेटिएन । त्यो जग्गा चारै भाइलाई भाग लगाए ।
आफ्नो भाग पाएपछि जेठोले त्यही दिन त्यो जग्गा सस्तो मूल्यमा बेचिदियो र आएको पैसाले त्यसै बेलुका रक्सी खाएर सिध्यायो । माइलोले पनि आफ्नो भागको जग्गा बेच्यो र लागेको ऋण तिर्यो । साइँलोले जग्गा भाडामा लगायो । कान्छाले भने आफैसँग राख्यो ।
चारैजनाले मिहिनेतपूर्वक खनेकोले जग्गा निकै मलिलो भएको थियो । जग्गाबाट कान्छालाई प्रशस्त आम्दानी प्राप्त भयो । दाइहरूले जसलाई जग्गा बेचेका थिए र भाडामा लगाएका थिए त्यो व्यक्ति सामान्य व्यापारीबाट रातारात ठुलो हिरा व्यापारी बन्न पुगेको थियो ।
कौतुहलतावश् कान्छोचाँहि हिरा व्यापारीकहाँ पुग्यो । व्यापारीको सोकेशमा अगाडि चमचम चम्किरहेका हिराहरू थिए भने त्यसका पछाडि काला ढुङ्गाहरू असरल्ल थिए जुन दुरुस्तै उसको बारीमा भएका ढुङ्गाजस्ता थिए । उसलाई शङ्का लाग्यो । घरमा फर्किएर पहिले बाबुले दिएको चिर्कटो हेर्यो ।
त्यहाँ लेखिएको थियोः मु सी को ट । त्यसको पछाडिपट्टि हेर्यो । त्यहाँ मधुरो अक्षरमा लेखिएको थियोः मू = मूल्य चिन । सि = सिक र सिकाऊ । को = कोसिस गरिरहनु, बिचमै नछाड्नु । ट = टलक्क टल्काऊ, चिज उही भए पनि टल्काउँदाको महत्त्व निकै बढी हुन्छ ।
कान्छोले आफ्नो खेतमा पुगेर एउटा ढुङ्गा टिपेर फुटाएर हेर्यो । त्यहाँ चम्किला सेता निला धर्साहरू त थिए तर हिरा नै हो भन्ने ठोकुवा गर्ने स्थिति थिएन । त्यसैले ऊ हिरा व्यापारीकहाँ पुग्यो र आफ्नो कालो ढुङ्गालाई पनि हिरा बनाउने तरिका सिकाइदिन अनुरोध गर्यो । हिरा व्यापारीले नाइँनास्ति गर्न सकेन । उसले हिरा बनाउने तरिका सिकाइदिँदै टलक्क टल्काउने विधि पनि सिकाइदियो ।
कान्छो घरमा पुगेर काला ढुङ्गालाई हिरा बनाउने उद्यममा लाग्यो । कोसिस गर्दा गर्दा अन्तिममा कालो ढुङ्गा हिराजस्तो टल्किन थाल्यो । असली हिरा तयार भयो । भोलिपल्ट नै कान्छोले खेतीपाती छोडेर हिरा व्यापार गर्न थाल्यो ।
आफ्नो जग्गाको मूल्य आफैले चिन्न नसकेर फालेकोले अरूले नै फाइदा लिएको देखी अरू भाइहरू पछुताए । कान्छाले आफ्ना तीनवटै दाजुहरूलाई पनि आफ्नो व्यापारमा कर्मचारीको रुपमा नियुक्ति दिई उनीहरूको जीवनस्तर उकास्यो । उसको हरेक दिनको मूल मन्त्र नै 'मुसीकोट' बन्न पुग्यो र यही मन्त्रले उसको अवनति मृत्युपर्यन्त पनि भएन ।
यो बनीबनाउ कथाको धेरै अंश मेरा पाठकवृन्दलाई पनि प्रस्टै थाहा छ । चौतारीमा वरपिपल पहिलेदेखि नै त्यहीँ हुन्छ तर छहारीमा बस्नेले मात्र शीतलता प्राप्त गर्दछ ।
रुट अवलोकनको तयारी
अस्तिको हप्ता चौँरीखर्क पुग्दा जम्मै मुसीकोट त्यहीँ खनिएको अनुभूति भएको थियो । एकै दिन मुसीकोटका उपमेयरलगायत अधिकांश वडाअध्यक्षहरू र नगरपालिकाका कर्मचारीहरूसमेत त्यहाँ पुगेका थिए । त्यस दिनअघि र पछि गरी अधिकांश मुसीकोटवासी त्यहाँ पुगे होलान् । त्यहाँ पुगेर हामीले नजरलाई आनन्दित मात्र पारेर आयौँ कि केही सिकेर पनि आयौँ ?
मुसीकोटवासीले छातीमा हात राखेर भनौँ त, आफ्नै मुसीकोटका सम्पदा स्थलहरूमध्ये कति ठाउँमा हामी पुगेका छौँ ? के हाम्रा दस्ताबेज वा पाठ्यक्रममा जे लेखियो त्यति मात्र छन् हाम्रा सम्पदाहरू ? हामीसँग चौँरीखर्कभन्दा अझै सुन्दर सम्पदा स्थल पनि पो छन् कि !
हाम्रा अनुपम सौन्दर्ययुक्त अकुत सम्पदाको कुनै सोधखोज नै नगरी सुन्दै आएको भरमा मात्र सतही अनुमानले घोषणा गरिदिँदा त्यसको असर के पर्छ ? परीक्षामा पास हुने बिद्यार्थीहरूलाई फेल र फेल भएकालाई भकाभक पास गराउन थाले समाजको भविष्य के हुन्छ ? यदि हामीले नै कोमल दिमागमा बुद्धिको सट्टा गोबर भर्न थाले त्यसको प्रभाव के पर्छ ? सक्षमलाई नै जानी जानी कानुनी रुपमै विभेद र वञ्चनामा राखिरहे के हुन्छ ?
मूल्य थाहा नभएकाको हातमा हिरा र मूल्य नबुझेको समाजमा प्रतिभा दुवै बर्बाद हुन्छन् । यस्तै अनर्गल कुराहरू मनको कुनामा कुदाकुद गरेर मलाई केही दिनदेखि निद्राहराम गरिरहेका थिए ।
यसैको कारणले पुरस्कार राशि सीमित राखेर राप्ती साहित्य परिषद् रुकुम पश्चिम शाखाको साउन १६ गतेको बैठकबाट लामो दौड प्रतियोगिता आयोजना गर्ने निर्णय गराइयो । यसको परिकल्पना भने केही महिनाअघि मुसीकोटकै भेरा काट्ने थाम जाँदा नै तयार भइसकेको थियो । जुन टोलीमा रासाप रुकुम पश्चिमका अध्यक्ष मनलाल ओली, साहित्यकार खगेश्वर भण्डारी, एक्कबहादुर केसी, नरसिँह बुढा, हरिचन्द्र केसीलगायतका साथीहरूबिच छलफल पनि भएको थियो । तर त्यो कुरा यत्तिकै सेलाइरहेको थियो । मूर्त रूप दिन कसैले न कसैले अगुवाइ गर्नै पर्थ्यो ।
एक्कबहादुरको एक्लो साथ
पछिल्लो समयमा उदीयमान साहित्यकार एक्कबहादुर केसी जो थर्पू आसपासकै बासिन्दा हुनुहुन्छ । उहाँसँग रनिङ रुटको बारेमा विस्तृतमा जानकारी लिएँ । उहाँ जति जिज्ञासु हुनुहुन्छ उति नै सहयोगी पनि । हरेक विषयलाई कारण र परिणामको आधारमा विश्लेषण गर्ने एक्कजीले हर विषयमा तथ्यपरक ज्ञान पनि बटुल्नुभएको छ ।
अरू ठाउँहरूमा म बारम्बार पुगिसेकेको थिएँ तर खारादहदेखि ठुलदहको रुट मेरो लागि सर्वथा नौलो थियो । भाद्र १२ गते जन्ती लेक र ठुलदहमा बारभदौ मेला पनि लाग्ने भएकोले मेलारुको ध्यान पनि आकर्षित गर्न सकिन्थ्यो । जुन आउन एक महिनाभन्दा कमै समय बाँकी थियो ।
अतः छिट्टै खेलाडी तथा आम पाठकहरूमा सूचना सम्प्रेषण गर्नुपर्ने भएकोले साउन १२ गते नै सामाजिक सञ्जालमार्फत् दौड प्रतियोगिताको मोटामोटी कार्यक्रमको जानकारी दिइसकेको थिएँ ।
कुनै पनि कार्यक्रममा एकभन्दा धेरै क्रियाकलापहरू हुनसक्छन् । दौड प्रतियोगिताका प्रत्येक क्रियाकलापमा सर्वसम्मत् सहमति जुटाउनु ठेकीको बिर्को भुइँबाट टप्प टिपेर ठेकीको मुखमा थप्प बसाल्नुजस्तो सजिलो कुरा थिएन ।
पुरस्कार राशि घोषणा गर्ने बित्तिकै साउदी अरबमा कार्यरत कमल महतजीबाट प्रथम पुरस्कार प्रायोजन गरिदिने प्रस्ताव आयो । अन्य पुरस्कारका बारेमा थप सम्भावित मान्छेहरूसँग पनि निरन्तर कुरा भइरह्यो । कार्यक्रममा मुख्य चुनौती आर्थिक व्यवस्थापनको नै हुन्छ । आर्थिकको कुरा आयो कि विश्वासिला साथीहरू पनि पर पर भाग्न थाल्छन्, तत्परताका साथ खट्ने साथीहरूको त कुरै छोडौँ ।
दुर्गहरूका राजा 'दुर्गराज'
छिटोभन्दा छिटो दौडको रुट निर्धारण र मिति सुनिश्चित गर्नु थियो । मुख्य मुख्य रुटमा पुगिसकेपछि मात्र मिति निर्धारणको कुरा आउँथ्यो । अघिल्लो दिन मात्र राष्ट्रिय धावक दुर्गराज बुढा मगरसँग दौड प्रतियोगिता कसरी सम्पन्न गर्न सकिन्छ भनी छलफल भइसकेको थियो ।
यो कार्यक्रम आयोजना हुनुले उहाँलाई निकै हर्षित तुल्याएको थियो । दौड प्रतियोगिताको महत्त्व नै नबुझ्ने कागहरूलाई त बेल पाके पनि हर्ष न विस्मत । उहाँले भोलिदेखि नै दौड रुट अवलोकन गर्दै रुट संकेत राख्न आफूले साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दुर्गराजजीले आफ्नो व्यवहारकुशलता मिलनसारिता सरलपनाको नमूना प्रदर्शन गरेर पहिलो भेटमै प्रभावित तुल्याइदिनुभयो । उहाँले आजसम्म एउटा मोबाइलसम्म बोक्नुभएको रहेनछ । सामाजिक सञ्जालका कुरा त निकै परका भए । उहाँलाई भेट्न मन लागे कि उहाँ आफै उपस्थित हुनुपर्यो कि तेस्रो व्यक्तिलाई सम्पर्क गरेर भेट्ने कोसिस गर्नुपर्यो । अहिले आफ्नै छेउमा रहेका दुर्गराज केही समयमै अर्को जिल्लामा पुगेको जानकारी पाइन्छ । उनी सितिमिति गाडी पनि चढ्दैनन् ।
उमेरले ४१ वर्षका मात्र दुर्गराज । जन्मस्थल मुसीकोट रुकुमकै सुन्दर साँख गाउँ । उहाँ नदौडिएको स्वदेशको कुनै दुर्ग वा मार्ग नै छैन । उहाँलाई थाहा नभएको विदेशको कुनै ट्रेकिङ रुट नै छैन । दौड प्रतियोगितामा उहाँले जितेका पुरस्कारहरूको कुनै गन्ती नै छैन ।
यति भएर पनि उहाँ प्रचारप्रसारमा पटक्कै आउन चाहनुहुन्न् । यो देशको त कुरै छोडौँ आफ्नै जिल्लामा समेत उहाँ गुमनाम हुनुहुन्छ । पुरस्कारबाट जति आम्दानी हुन्छ त्यो जम्मै अर्को ठाउँमा घुम्दा खर्च भइहाल्छ । भन्नुहुन्छः अरूलाई देखाउनको लागि होइन आफू बाँच्न र स्वान्तसुखायःको लागि मैले यो पेसा अँगालेको हुँ ।
उहाँ विद्यालय शिक्षाको प्रथम विद्यार्थी । उच्च शिक्षाको विज्ञान विषयका विद्यार्थी । तर पढेर भन्दा परेर नै उहाँले असीमित ज्ञान आर्जन गरिसक्नुभएको छ । उहाँमा अहमको कुनै लवलेश नै छैन । छरितो जिउ र निर्दोष पाराले मुस्काइरहने अनुहार नै उहाँका मुख्य पहिचान ।
उहाँसँग सल्लाह भएअनुसार २०८२ साल साउन २४ गते बिहान ७ बजे नै खलङ्गाबाट रुट अवलोकनको लागि आयोजक समितिका साथीहरू डिग्रेतिर प्रस्थान गर्ने कुरा भयो । सहकर्मी एक्कबहादुर केसीलाई यो अवलोकन भ्रमणमा पनि साथ दिन अनुरोध गरेपछि उहाँ तुरुन्तै सहमत भइसक्नुभएको थियो । आयोजक संस्थाका साथीहरू भने रुट अवलोकन निरीक्षणको लागि साथ दिन आउनुभएन ।
जाने भनेका साथीहरू कोही नआइदिएपछि दुर्गराज र म मात्र साढे सात बजेतिर खलङ्गाको बागबजारबाट रावलबारा हुँदै पैदल हिड्न थाल्यौँ । डिग्रेसम्म अटोरिक्सामा पनि जान सकिन्थ्यो तर दुर्गराजजीले गाडी चढ्न मान्नुभएन । एक्कजीलाई लराभिजाउने बोलाइएको थियो तर अगुवाइ दुर्गराजजीले गर्नुभएकोले घोयलपानी पुर्याइदिएको पत्तै भएन । त्यस माथिको बाटोभरि ढलेको लामोलामो खरको शीतले जुत्तामोजालगायत अधोवस्त्र जम्मै भिजाइसकेको थियो ।
बिचमा सम्धी भिमसेन केसीको घरमा पानी खाँदै विश्राम गर्यौँ । डिग्रे मन्दिर पुग्दा ९ बजिसकेको थियो । एक्कजीसँग डिग्रेमै भेट भयो । जनै पूर्णिमा परेकोले डिग्रे साईकुमारी मन्दिरमा पूजाआजाको साथै धागो बाँध्न र जनै फेर्न आउनेको घुइँचो थियो ।
चाडपर्वको आध्यात्मिक महत्त्व त छँदै छ नाता कुटुम्बसँग भेटघाट, खानपान र मनोरञ्जनका माध्यम पनि हुन् । चाडपर्वले घरको टाइबिमजस्तै सम्बन्धहरूलाई कसिलो राखिरहन्छ ।
मन्दिर व्यवस्थापन समितिका लालबहादुर केसी सरले धागो र जनै दिँदै गर्दा दौड प्रतियोगिताको तयारीको बारेमा महत्त्वपूर्ण सुझावहरू पनि दिनुभयो । त्यहाँ आएका दौड्न इच्छुक व्यक्तिहरूसँग कुरा गर्दा गर्दै साढे नौ बज्यो ।
डिग्रे - घिमाने (अनुमानित दूरी ३ किमि)
हामी डिग्रेको गेटमा आएर संकेत चिन्ह स्वरुप राता र पहेँला रिबनका टुक्राहरू रुखहरूमा झुन्ड्याउन थाल्यौँ । डिग्रेबाट घिमाने सडकका छेउछाउमा रहेका रुखहरूमा करिब २५ मिटरको अन्तर पारी राता रिबनहरू बाँध्दै गयौँ ।
मुसीकोट जाने बाटो छोडेर थोरै माथि लागेपछि उत्तम परिधान र आकर्षक शृङ्गारले सुसज्जिता शस्यशाली घिमाने गाउँ दृष्टिगोचर भयो । हामीले बाटोबाटोमा संकेत राख्दा गाउँलेहरू घरघरबाट निस्केर रिबन किन बाँधिएको हो भनी जिज्ञासा राख्नेहरूलाई प्रयोजन बताउँदै पनि गयौँ ।
यसले सोही दिनको प्रतियोगीहरूलाई संकेतको मात्र काम नगरी अहिलेदेखि नै स्थानीयमा प्रचारप्रसार हुने माध्यम पनि बनेको थियो ।
घिमाने पुगेपछि स्थानीय पर्यटन व्यवसायी चन्द्रबहादुर केसी चट्टान पनि हाम्रो टिममा सामेल भएकोले हामी ४ जना पुग्यौँ ।
चन्द्रबहादुर केसी 'चट्टान'
मुसीकोट घिमाने निवासी चट्टान रुकुमको पर्यटन क्षेत्रको विकासको परिकल्पनाकार र चिन्तक पनि हुनुहुन्छ । अल्पभाषी भए पनि पर्यटनसम्बन्धी उहाँसँग थुप्रै अनुभव र ज्ञान पनि छ । उहाँ पर्यटन र कृषिलाई व्यावसायिक बढाउँदै सँगसँगै लग्नुपर्ने धारणा राख्नुहुन्छ ।
हाम्रो सानो अनुरोधमा उहाँ रुट अवलोकन र रुट संकेतमा सहयोग गर्न सँगसँगै सहर्ष आउनुभएको हो । उहाँको यामानको काया जस्तै छाती पनि उस्तै विशाल रहेछ र अत्यन्तै सरल र मिजासिलो स्वभावको धनी हुनुहुँदो रहेछ ।
घिमाने-जन्तीलेक (१.५ किमि)
हामी घिमानेका बासिन्दाहरूलाई कार्यक्रमको जानकारी गराउँदै र रुखमा रिबन बाँध्दै जन्ती ओलप्पेको लेकतिर उकालो चढ्यौँ । अधिकांशले दुर्गराज र चन्द्रबहादुरलाई चिनेकोले कार्यक्रमको बारेमा बताउनै पर्दैनथ्यो । उहाँहरूलाई अघि लगाउनु नै हाम्रो प्रचार हुन्थ्यो ।
चट्टानजीको तालिम प्राप्त कुकुर पनि साथमै आएको थियो जसले मालिकको हातको गन्ध चाल पाई धेरै टाढा फ्याँकिएको ढुङ्गा पनि टप्प टिपेर ल्याउँथ्यो र आफ्नो मालिकलाई बुझाउँथ्यो ।
घिमानेको बिच गाउँबाट सडक धेरै घुमेकोले ढलान गरिएको छोटो बाटोतिर रुट निर्धारण गर्यौँ । गाउँ सकिएपछि ढलान गरेको बाटो पनि सकियो र केही वर्षअघि खनेर बिस्तुरिएको गोरेटोमा उकालो चढ्न थाल्यौँ । घिमाने आइपुग्दा सुकिसकेका अधोवस्त्रहरू यो उकालोमा फेरि भिजे ।
जति माथि पुग्यो उति कुहिरो बाक्लिन थाल्यो । हुँदा हुँदा अगाडिको बाटै पग्याउन कठिन हुनेसम्म बनायो । जलमिश्रित कुहिरोले टोपीसमेत लुछुप्पै भिजाउँदा पनि हाम्रो उत्साह भने झरिलो नै थियो ।
जन्ती ओलप्पेको लेक जतिजति नजिक सर्थ्यो त्यति जुकाको आक्रमण पनि बढ्दै गयो । तैपनि हामीले नआत्तिएर जुका झार्दै र ठाउँठाउँमा रिबन बाँध्दै गयौँ । उकालो सकिएपछि घोडाको पिठजस्तो भूभागमा पुग्यौँ । लेकको यही भागमा स्टोनहेज जस्तै ढुङ्गाहरू लहरै गाडिएका भेटिए । यसैलाई जन्ती अलप भएको भनी नाम राखिएको रहेछ ।
हामी त्यताबाट शिरभागतिर उक्लिँदै गयौँ । केही वर्षअघि घिमानेदेखि टेलिकमको टावरसम्म खनिएको पर्यटकीय बाटो बिस्तुरिए पनि सिँढीका ढुङ्गे गारोहरू स्पष्ट देख्न सकिन्थ्यो । बाटो सरासरी थियो, झुक्किने खालको थिएन । कुकुरको नाकमा समेत जुका पसेछ । आत्तिँदै ठ्याँकठ्याँक गर्न थाल्यो । यहीँ चरिरहेका गाईवस्तुलाई जुका कति लाग्दा हुन् भन्ने सम्झेर जिउ सिरिङ्ग भयो ।
ठिक १२ बजे हामी टेलिकमको टावरमा पुग्यौँ । टावरका रक्षक खिमबहादुर केसीले खाने नुन दिएपछि जुका झार्न सजिलो भयो र जुकाले हत्पत्ति आक्रमण गर्न छोडे ।
मौसम सफा भएको भए यहाँबाट स्यार्पुताल, सानीभेरी र सिस्नेलगायतका रुकुमका थुप्रै गाउँवस्तीहरूको सुन्दर दृश्य देख्न सकिन्छ । आफ्नै आँखाले भूस्वर्ग देख्न पाउँदा यहाँ पुगेका यात्रीहरू अच्चम्भित र पुलकित हुन्छन् । खुसीले मखलेल हुँदै धेरै बेरसम्म अनिमिष वारिपारि हेरिरहन्छन् ।
एक गुरुले आफ्नो शिष्यलाई भनेः“हिरा साधारण कार्बन हो, तर निरन्तर दबाबले कालान्तरमा हिरा बन्दछ । तिम्रो असाध्य दुक्खले तिमीलाई हिरा बनाउँदै छ ।”
जन्तीलेक-पातिहाल्ने (दूरी ०.५ किमि)
त्यहाँबाट हामी पातिहाल्नेतिर झर्यौँ । पातिहाल्नेमा तलतिरबाट उक्लिएको सडकको अवशेष भेटियो । पहाडै पहाडहरूले बनेको रुकुममा भन्ज्याङ पनि प्रशस्तै छन् । भन्ज्याङमा तितेपाती चढाउने चलन छ र यस्तो ठाउँलाई स्थानीयले पातिहाल्ने नामाकरण गरेका छन् ।
सायद पछि आउने साथीहरूलाई संकेत गर्न वा यहाँसम्म सफलतापूर्वक आइपुगेकोमा सर्वशक्तिमानलाई धन्यवाद् दिन पाती चढाउन थालियो होला । यहाँबाट उत्तर लागे स्यालापाखा हुँदै रुकुम पूर्व पुगिन्छ ।
पातिहाल्ने-डँयरीचौर (०.५ किमि)
पातिहाल्नेबाट ओरालो र स्याँली लागेको चिप्लो बाटो झरेर डँयरीचौर पुग्यौँ । प्राकृतिक रूपमा रहेको विशाल चौरका रुखहरूमा रिबनहरू बाँध्यौँ । कटुज खर्सु गुहेली मेल तथा डिम्मुरको बाक्लो जङ्गल फेरि सुरु भयो ।
त्यहाँबाट मानवनिर्मित् लभलेक प्रेमतालतिर सोझियौँ । त्यहाँ केही बेर फोटो खिँच्यौँ । त्यता दौड रुट पुर्याउँदा धावकलाई दोहोरो कुदाइ पर्ने भएकोले हामीले डँयरीचौरबाट सातदुले पोखरीतिर सिधा रुट निर्धारण गर्यौँ ।
डँयरीचौर-सातदुले जुम्लेपोखरी (२.० किमि)
डँयरीचौरबाट बाटो अझै ओरालो र चिप्लो थियो । निरन्तर वर्षाले गर्दा धूलधूसरित पातहरू ढाडिएर बटोहीहरूका खुट्टा चिप्ल्याउन काफी छन् । हामी केही तल झरेपछि घिमाने हुँदै आएको कच्ची सडक भेट्टायौँ र त्यही सडक हुँदै पूर्वाभिमुख सोझियौँ ।
वरिपरि समुदायले पालेको सातदुले वन घनघोर देखिन्थ्यो । बडेमानका रुखहरूबाट भुइँमा लत्रिएका काँडेदार लहराले ऐसेलुको लहराजस्तै अङ्कुशेले कपडा र जिउ तान्थे । फुस्काउन गाह्रो पर्थ्यो । केही पर पुगेपछि सडकको १०० मिटरजति तल सातदुले जुम्ले पोखरी थियो । मुसीकोटका धेरैजसो बासिन्दालाई यस पोखरीसम्म पुग्नु त कहाँ हो कहाँ यसको नामसमेत थाहा छैन ।
एउटा प्रशिक्षण कार्यक्रममा एउटा प्रशिक्षार्थीलाई सयौँ ढुंगामध्ये एउटा हिरा छान्न भनियो । उसले धेरै प्रयास गरे पनि चिन्न सकेन । प्रशिक्षकले भने, "आँखा मात्र भएर हुँदैन, साँचो सौन्दर्यलाई महसुस गर्न सकेमा मात्र हिरा चिनिन्छ।”
हामीले धावकलाई धेरै असहज नहोस् भन्ने हेतुले दौड रुटलाई तल जुम्लेपोखरीतिर नझार्ने निर्णय गर्यौँ ।
सातदुले जुम्लेपोखरी-पोखरा (२.० किमि)
पानी नभरिएको तर मुलायम घाँसले ढपक्कै ढाकेको सुन्दर पोखरीलाई घुमी घुमी हेरेर करिब १५ मिनेटमा हामी पोखरा गाउँमा पुग्यौँ । नामै पोखरा सायद यो गाउँ पनि पहिले पोखरी नै थियो होला । चारैतिर घना जङ्गलको बिचमा बसेको सुन्दर गाउँ ।
त्यस गाउँमा खाना पकाइदिने व्यवस्था गर्न पहिले नै सबइन्जिनियर भाइ चिताराम खडकालाई अनुरोध गरिसकेका थियौँ । उहाँले आफ्नो माइला दाइ पर्नेको घरमा खानाको लागि भनिदिनुभएछ । हामीले त्यो घरमा पुग्दा दीपा बहिनी मात्र हुनुहुन्थ्यो । यसै वन्य जीवन निस्पृह, निरालम्ब, निःस्वार्थ र अनासक्त हुन्छ ।
झन् उहाँको त एउटा छोरा पनि छातीभरि घरभित्र पसेर चुलाको वरिपरि गुन्द्रीमा बसी गहुँका नरमनरम र गरमगरम रोटी आलुसाग र दहीसँग चोब्दै खाँदै गर्यौँ । तीब्र भोकले होला खानाको स्वाद बेहद मिठो लाग्यो । पोखराबाट सहयात्री चन्द्रबहादुर केसी आफ्नो घरतिर फर्कनुभयो ।
पोखरा-खारादह (४.० किमि)
अब दुर्गराज र एक्कजीसहित हामी तीनजना मात्र रुट संकेत गर्दै अगाडि बढ्यौँ । जङ्गल झन् झन् बाक्लिँदै गएको थियो । बाटोबाहेक यताउता छिर्नै गाह्रो पर्ने । होसियारी नअपनाउँदा काँडेदार बुट्यानहरूले जिउ कोतर्न सक्थे । खुट्टामा काँडा बिझ्न सक्थ्यो । तर अलिकति डोरेटोमा हिँडेपछि फराकिलो गोरेटो बाटो भेटियो । झ्याम्म परेका जङ्गली वटवृक्ष पर पर सरे । हामी त्यही खुला बाटो हुँदै खारा दहको डिलमा पुग्यौँ ।
पानी सिमसिम परिरहेकोले हो वा जङ्गलका वन्य पशुपन्छी लुप्त भएर हो, न चरोमुसो देखियो, न त तिनीहरूको आवाजले वन उपवन गुलजार तुल्याएको नै सुनियो । वर्षौँदेखि परित्यक्त खण्डहर भुतबङ्गलाजस्तो पशुपन्छी तिरोहित त्यो जङ्गलको दुर्दशाले कलेजी भित्रभित्रै तरक्क चिरियो ।
खारादह पुग्न अलिकति ओरालो झर्नुपर्दो रहेछ । हाम्रो अगाडि पूर्ण गोलाकार खारादह स्वर्गकी अप्सराझैँ लचक्क लच्किएको देखियो । दहमा अझै पानी भरिएको रहेनछ । खारादहको पश्चिमपट्टि नाङ्ना धुरी मुलायम घाँसे आभुषण बेरेर ठाँटिएको थियो ।
खारादहमा फुटबल मैदान बनाउने कि नबनाउने भन्ने सम्बन्धमा हामी तीनबिच केही बेर बहस नै चल्यो । प्रकृतिनिर्मित बहुमूल्य सम्पदामा कृत्रिम संरचना बनाउन हुँदैन भन्ने कुरामा मैले ढिपी नै गरेँ ।
खारादह-ठुलदह (३.० किमि)
खारा दहका वरिपरि संकेत डोरी बाँधिसकेपछि हामी उत्तर पूर्वको कुनाबाट अगाडि बढ्यौँ र सिधै पूर्वाभिमुख हुँदै सिधै अगाडि बढ्यौँ । खारादहबाट स्यानदह निस्कने बाटो भुलेर हामीहरू जङ्गलमै हराउने अवस्था आउला वा काँडेदार वनस्पतिको बाटो काट्नै मुस्किल हुने आशङ्का विपरीत गोरेटो बाटो पनि फराकिलो थियो ।
स्यानदहको आधा भाग मात्रमा पानी जमेको भए पनि स्वर्गसरी सुरम्य थियो । अधिकांश चहुर सिउरजस्तो घाँसले टम्म ढाकेको थियो । पर्वको दिनमा भएर होला अघिपछि सयौँको सङ्ख्यामा आउने आन्तरिक पर्यटकहरूको उपस्थिति आज भने शून्य थियो ।
एक्कजीले दुर्गराजसँग खेलका नियम अनुभूति ज्ञानको बारेमा एकएक गरी सोध्न थाल्नुभयो । एथलेटिक्सका अनुभवी दुर्गराजले लामो दौडको खेलको आनन्दानुभूति एक एक गरी बताउँदै जानुभयोः "खुट्टाहरू मगजको विनित सेवक हुन् । जे अह्रायो त्यही गर्न तत्पर हुन्छन् । दौडमा जत्तिको आनन्द अर्को खेलमा हुँदैन । दौड्न थालेपछि आकाशमा उडेको जस्तो अनुभूति हुन्छ । स्वर्गका परिजस्तै लाग्छ आफूलाई । उचाइमा जाँदा शरीरले आवश्यक मात्रामा ग्लुकोज उत्पादन पनि गर्छ र बढी भएको ग्लुकोज निष्काषण पनि गर्दछ ।"
दुर्गराजजीले गाउँ पाखो उच्च लेक हुँदै जङ्गलको बिचैबिच फराकिलो बाटोमा कुद्न सहज हुनुको साथै ४ वटा ताल र थुप्रै घाँसे मैदानहरू भेटिने भएकोले यो जत्तिको प्राकृतिक हिसाबले उपयुक्त रुट कतै नभएको जिकिर गर्नुभयो ।
हरियो घाँसले आच्छन्न मनोरम ताल तलैया तथा झ्याम्म परेका वृक्षलताहरू भदौ दोस्रो हप्तासम्म देख्न सकिने भएकोले भदौ १२ नै सर्वोत्तम रहेको बताउनुभयो । र दौडलाई बारभदौमा लाग्ने सांस्कृतिक मेलासँग पनि जोड्न सकिने भएकोले अन्य समय उपयुक्त नहुने बताउनुभयो ।
ठुलदहको पूर्वी किनाराको रुखमा संकेत डोरी बाँधेपछि हाम्रो आजको मिसन पूरा भयो ।
ठुलदह-बयरीदह (२.५ किमि)
हामी ठुलदह छोड्नै थाल्दा आकाश खुल्न आँटेको थियो । सुरम्य शीतल समीरले हामीलाई अहिल्यै बिदाइ नहुन फकाउँदै थियो । तर समयमा हामी फर्कनै पर्थ्यो ।
त्यहाँबाट तल मुसीकोट नगरपालिकाले भर्खरै तयार गरेको ढुङ्गे पदमार्ग सुरु भएको थियो । त्यो पदमार्ग साँखको बयरीदहसम्मै थियो । त्यहाँ रुकुम पूर्वबाट मुसीकोट जाने मध्यपहाडी लोकमार्ग भेटिएकोले संकेत चिन्ह राखिरहन आवश्यक थिएन । बयरीदहमा आधा दर्जनजति साना होटेलहरू छन् ।
खास बयरीदह मध्यपहाडी लोकमार्गको १०० मिटरजति तल पर्छ । यही दहको नामले यस ठाउँको नाम बयरीदह नै रहेको छ । तर बयरीदह अहिले दहको रूपमा छैन । वर्षा ऋतुमा यहाँ मुहान फुट्छ र हिउँद ऋतुमा सो मुहान सुकिसक्छ । दौड रुटलाई दहको अवशेष रहेको ठाउँतिर झार्न आवश्यक देखिएन ।
बयरीदह-साँखदह (२.५ किमि)
बयरीदहमा त्यहाँबाट एउटा हाइस भेटिएकोले त्यसैमा चढ्यौँ । साँखदह पुग्न गाडीमा ५ मिनेट पनि लागेन । साँखको समथर गाउँ र ठिक बिचमा लाम्चो आकारको पोखरी छ ।
सडकभने साँख गाउँको उत्तरी सीमाबाट पश्चिमतिर लाग्छ । सडकबाटै साँखदह प्रस्ट देखिने भएकोले दौड रुटलाई साँख दहसँगै छुवाउने आवश्यकता देखिएन ।
साँखदह- डिग्रे मन्दिर (७.० किमि)
हामी गाडी यात्राबाटै साँखबाट अगाडि बढ्यौँ । हामीलाई नुनथला गेटबाट छिरेर डिग्रे मन्दिरतिर लाग्ने अब समय उब्रेको थिएन । झमक्क साँझ पर्न थालिसकेको थियो। मध्यपहाडीको पक्की लोकमार्ग नुनथलाबाट तल झर्छ भने दौड रुट तेर्पायाँ तेर्पायाँ उकालोतिर लाग्छ ।
पछि रहेका धावकहरूले अगाडिकोलाई जित्नको लागि बाटो काट्न बाटो फराकिलो छ । धावकहरूको अन्तिम दौड हेर्ने दर्शकहरू साँखदेखि डिग्रेसम्मका गाउँहरूबाट आउन सक्छन् ।
यस दौड प्रतियोगिताको अधिकांश धावनमार्ग अत्यन्तै सजिलो छ । माथि दिइएका अनुभूतिहरू र तलको तालिकाको गहन अध्ययन गरेमा तपाईँले पनि जित्नसक्नुहुनेछ यो प्रतियोगिता ।
शीघ्र पुनरागमनको अभिलाषा राख्दै सुहृद र हितैषी मित्रहरूसँग फुक्काफाल र स्वच्छन्द वन विचरणको क्रम टुङ्ग्याएर आ-आफ्नो घरतिर रवाना भयौँ ।
घरतिर फर्कँदै गर्दा मैले कसैले सुनाएको प्रसङ्ग सम्झिएँ : एक व्यापारी आफ्नो जवानीको उत्तरार्द्धतिर हिरा खोज्न थाले । हिरा खोजीमा उनको २० वर्ष त्यत्तिकै बित्यो । हिरा खोज्दा खोज्दा उनी बुढो हुन थालिसकेका थिए । गाउँलेहरूले उनलाई मूर्ख भन्थे । तर बीसौँ वर्षमा उनले अद्वितीय तथा बहुमूल्य हिरा भेटे । उनले गाउँलहरूलाई भनेः "समय र लगाव कहिल्यै बेकार हुँदैन ।"
मुसीकोटका ४ अक्षरको विस्तृत अर्थ पनि कहिल्यै बेकार हुनेछैनः मूल्य चिन ! सिक र सिकाऊ ! कोसिस गरिरहू ! हरेक कर्मलाई व्यवस्थित गर र टलक्क टल्काऊ ! जय मुसीकोट !!
मुसीकोट सम्पदाको धावन तालिकाः
क्रम
|
मार्ग
|
समुन्द्री सतहबाट उचाइ
|
दूरी (किमि)
|
धावकलाई लाग्ने समय (किमि)
|
पैदल यात्रीलाई लाग्ने समय
|
भू-स्वरूप
|
१
|
डिग्रे मन्दिर → घिमाने
|
२१५० मि.
|
३.०
|
१० मिनेट
|
४५ मिनेट
|
तेर्सो र हल्का उकालो
|
२
|
घिमाने → जन्तीलेक
|
२६०० मि.
|
१.५
|
१५ मिनेट
|
१ घण्टा
|
ठाडो उकालो
|
३
|
जन्तीलेक → पातिहाल्ने
|
२५५० मि.
|
०.५
|
२ मिनेट
|
५ मिनेट
|
ठाडो ओरालो
|
४
|
पातिहल्ने → डँयरीचौर
|
२५०० मि.
|
०.५
|
२ मिनेट
|
५ मिनेट
|
ठाडो ओरालो
|
५
|
डँयरीचौर → सातदुले पोखरी
|
२३०० मि.
|
२.०
|
८ मिनेट
|
३० मिनेट
|
ठाडो ओरालो
|
६
|
सातदुले पोखरी → पोखरा
|
२३०० मि.
|
२.०
|
७ मिनेट
|
३० मिनेट
|
तेर्सो
|
७
|
पोखरा → खारादह
|
२४५० मि.
|
४.०
|
१५ मिनेट
|
१ घण्टा
|
तेर्सो र हल्का उकालो
|
८
|
खारादह → ठुल्दह
|
२४०० मि.
|
३.०
|
१० मिनेट
|
४५ मिनेट
|
तेर्सो
|
९
|
ठुल्दह → बयरी दह
|
२१२५ मि.
|
२.५
|
१० मिनेट
|
४५ मिनेट
|
घुमाउरो ओरालो
|
१०
|
बयरी दह → साँख दह
|
१९०० मि.
|
२.५
|
८ मिनेट
|
४० मिनेट
|
घुमाउरो ओरालो सडक
|
११
|
साँख दह → नुनथला गेट
|
१८३० मि.
|
४.०
|
१० मिनेट
|
१ घण्टा
|
तेर्सो पक्की सडक
|
१२
|
नुनथला गेट → डिग्रे मन्दिर
|
२०२५ मि.
|
२.५
|
८ मिनेट
|
४० मिनेट
|
हल्का उकालो सडक
|
जम्मा दूरी र लाग्ने समयः
|
२८.० किमि
|
१ घण्टा ४५ मिनेट
|
७ घण्टा ४५ मिनेट
|
|