नेभिगेशन
घटना/दुर्घटना

मुसिकोटका दुई र आठबिसकोटको एक स्थानमा मोटरसाईकल दुर्घटना

रुकुम पश्चिमका छुट्टाछुट्टै तीन स्थानमा मोटरसाईकल दुर्घटना भएका छन् । आज (बिहिबार) जिल्लाको मुसिकोट नगरपालिकाको दुई र आठबिसकोट नगरपालिकाको एक स्थानमा भएको मोटरसाईकल दुर्घटनामा परेर तीन जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो मुसिकोट नगरपालिका १ त्रिवेणीचोक नजिकै बागबजारबाट आउँदै गरेको क.प्र.०३–००१ प ०९१८ नम्वरको मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा परेर बाँफिकोट गाउँपालिका ३ निवासी २४ वर्षीय भिमबहादुर परियार घाईते हुनुभएको छ ।

परियार आफैले चलाएको मोटरसाईकल सडकबाट पाँच मिटर तल खस्दा उहाँको घाईते हुनुभएको र उपचारको लागि जिल्ला अस्पताल सल्ले लिईएको प्रहरीले जनाएको छ । 

त्यसैगरी आजै मुसिकोट नगरपालिका १ बाट वडा नम्वर ५ को सेरीगाउँ तर्फ गईरहेको मोटरसाईकलले एक बालकलाई ठक्कर दिदाँ बालक घाईते भएका छन् ।

प्रहरीका अनुसार मुसिकोट नगरपालिका ९ चौखाबाङ निवासी शसिराम पुनले चलाएको लु १ ब २१२९ नम्वरको मोटरसाईकलले मुसिकोट नगरपालिका ९ निवासी मुना कुमारी पाण्डे ओलीका ५ वर्षीय छोरा आर्यन ओलीलाई ठक्कर दिएको हो । बालकलाई चालक आफैले स्थानीय संगिनी मेडिकलमा उपचार गराईरहेको प्रहरीले जनाएको छ । 

आजै आठबिसकोट नगरपालिकाको सिमबजारस्थित भित्रि सडकमा मोटरसाईकलले एक पैदल यात्रीलाई ठक्कर दिएको छ । आठबिसकोट नगरपालिका ४ निवासी १९ वर्षीय सुनिल बिकले चलाएको भे १० प १७०७ नम्वरको मोटरसाईकलले सोहि नगरपालिकाको वडा नम्वर ५ निवासी ६० वर्षीया कुसुमी सार्कीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाईते हुनुभएकी सार्कीलाई उपचारको लागि नगर अस्पताल आठबिसकोटमा लिईएको छ । उहाँको बाँया हात र छातीमा चोट रहेको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्