नेभिगेशन
समाज

सानीभेरीमा शैक्षिक सुधारका लागि प्रधानाध्यापकहसँग सम्झौता 

यस्ता छन् सम्झौताका ४३ बुँदाहरु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरुँग कार्यसम्पादन सम्झौता गरेको छ। 

गाउँपालिका र गाउँपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच ४३ बुँदे कार्यसम्पादन सम्झौता भएको गाउँपालिकाले जनाएको छ । 

शैक्षिक सत्र २०८२ को पहिलो प्रधानाध्यापकहरुसँगको बैठकमा शैक्षिक सुधारका लागि  ४३ बुँदे सम्झौता गरेको गाउँपालिकाले शिक्षा अधिकृत भुपाल सिं बिष्टले जानकारी दिनुभयो । 

उहाँले गाउँपालिकामा रहेका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्य राखेर सम्झौता गरिएको बताउनुभयो । शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत भूपाल सिं विष्ट र विद्यालयको तर्फबाट प्रधानाध्यापकहरूले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताका ४३ बुँदाहरु : 

१. विद्यार्थी भर्ना अभियान, पाठपपुस्तक वितरण, विद्यार्थीको तथ्याङ्क अद्यावधिक तथा बार्षिक कार्यतालिकाको निर्माण वैशाख मसान्त भित्र सम्पन्न गर्ने गराउने।

२. स्थायी शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फाराम वैशाख ३० गते भिव विद्यालयमा दर्ता गर्न लगाई जेठ ७ गते भित्र विद्यालय तथा शिक्षा शाखा मार्फत सुपरीवेक्षण गर्ने गराउने प्रबन्ध गर्ने।

३. जेठ मसान्त भित्र विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गरी विद्यालय व्यवस्थापन समिति बाट स्वीकृत गरी शिक्षा शाखामा अनिवार्य रुपमा पेश गर्ने।

४. शिक्षण सिकाइलाई प्रभावकारी बनाउनको लागि प्रत्येक विषय शिक्षकलाई वैशाख मसान्त भित्र वार्षिक कार्ययोजना, एकाइ योजना, दैनिक पाठयोजना निर्माण हरेक दिन। तथा वैशाख र असोज मसान्त भित्र अर्धवार्षिक रुपमा शिक्षण सुधार योजना (Teaching Improvement Plan) को निर्माण गर्न लगाई त्यसको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्ने।

५. दुई हप्तामा कम्तिमा एक पटक शिक्षकको कक्षा अवलोकन गरी आवश्यक पृष्ठपोषण प्रदान गर्ने तथा कक्षा अबलोकनमा देखिएका कैफियतहरुलाई स्टाफ बैठकमा छलफलको विषयवस्तु बनाउने। साथै सहपाठी कक्षा अबलोकन र कार्यमूलक अनुसन्धानलाई समेत कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था गर्ने गराउने।

६. प्रत्येक महिनाको अन्त्यमा शिक्षक तथा विद्यालय कर्मचारीको स्टाफ मिटिङ गरी विद्यालयको शैक्षिक गुणस्तर सुधारको बारेमा छलफल गर्ने। स्टाफ बैठकमा पठनपाठन लगायत विद्यालयको समय पक्षको बारेमा समिक्षा गरी सुधारको योजना निर्माण गर्ने।

७. प्रधानाध्यापकको मासिक बैठकमा अनिवार्य रुपमा स्वयम सहभागी हुने। बैठकमा सहभागी हुँदा विद्यालयमा मासिक रुपमा भएका नवप्रर्तनहरु तथा असल अभ्यासहरुको अनिवार्य रुपमा प्रतिवेदन पेश गर्ने। साथै प्रधानाध्यापक बैठकमा भएका निर्णयहरुको बारेमा अनिवार्य रुपमा विद्यालयमा स्टाफ बैठकमा जानकारी गराउने।

८. प्रत्येक त्रैमासिक परीक्षाको नतिजा अभिभावक भेलाको आयोजना गरी शैक्षिक क्यालेन्डर अनुसार सार्वजनिक गर्ने। परीक्षाको नतिजा विश्लेषण गरी प्रत्येक शिक्षकलाई सुधारको कार्ययोजना निर्माण गर्न लगाउने।

९. शिक्षकहरुको संचित बिरामी विदाको अभिलेख तोकिएको ढाँचामा भरी त्यसलाई प्रमाणित गराएर जेठ मसान्त भित्र शिक्षा शाखामा अनिवार्य रुपमा पेश गर्ने।

१०. सामाजिक परीक्षण मापदण्ड, २०७८ चमोजिम भदौ मसान्त भित्र विद्यालयको सामाजिक परीक्षण गराई सोको प्रतिवेदन शिक्षा शाखामा पेश गर्ने र कार्तिक मसान्त भित्र विद्यालयको अन्तिम लेखा परीक्षण गराई सोको प्रतिवेदन समेत शिक्षा शाखामा पेश गर्ने ।

११. विद्यालय व्यबस्थापन समितिको बैठक कम्तीमा दुई महिनामा एक पटक बस्ने व्यवस्था मिलाउने। विद्यालय व्यवस्थापन समितिका बैठकका निर्णयहरु त्रैमासिक रुपमा शिक्षा शाखामा पेश गर्ने।

१२. पदावधि सकिनु भन्दा कम्तीमा १५ दिन अगावै विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठनको लागि आवश्यक प्रक्रिया अगाडी बढाउने।

१३. बिदा स्वीकृत नगरी बिदामा बस्न नदिने। बिदा स्वीकृती नगरी बिदामा बस्नेको गयल कट्टी गरी शिक्षा शाखामा जानकारी गराउने। साथै शिक्षक तथा विद्यार्थीको हाजिरी अभिलेख चुस्त, दुरुस्त र व्यवस्थित रुपमा राखे।

१४. विद्यालयमा गठन गर्नुपर्ने विभिन्न किसिमका समिति तथा संयन्त्रहरु जस्तैः गुनासो सुनुवाइ समिति, बालिका तथा समावेशी शिक्षा सञ्जाल, दिवा खाजा व्यवस्थापन समिति, परीक्षा समिति, विभिन्न विषयगत समितिहरु, बालक्लव, बाल सञ्जाल तथा अन्य संयन्त्रहरु समयमै गठन गरी तीनको कार्य प्रभावकारिता अभिवृद्धि गर्दै बिद्यालय सुशासन कायम गर्ने।

१५. सङ्घीय सरकार, प्रदेश सरकार, सानीभेरी गाउँ कार्यपालिका र शिक्षा समितिका निर्णयहरु, शैक्षिक क्यालेण्डर तथा अन्य समयसामयिक निर्देशन तथा परिपत्रको पूर्ण रुपमा कार्यान्वयन गरी विद्यालय सञ्चालन गर्ने।

१६. विद्यालयमा कम्तीमा २१० दिन पठनपाठन सञ्चालनको सुनिश्चितता लागि शिक्षक तथा विद्यार्थी नियमितता कायम गर्ने।

१७. विद्यालय समयमा शिक्षक तथा विद्यार्थी पोसाकलाई अनिवार्य तथा नियमित गर्ने।

१८. शिक्षकको मासिक रुपमा तलब भत्ता खुवाउने प्रयोजनको लागि प्रत्येक त्रैमासिकको पहिलो महिनाको शैक्षिक क्यालेन्डरमा तोकिएको समय भित्र तलबी माग फाराम भरी शिक्षा शाखामा पेश गर्ने।

१९. पहिलो  त्रैमासिक परीक्षा, दोस्रो  त्रैमासिक परीक्षा र बार्षिक परीक्षाको विधार्थीको सिकाइ उपलब्धिको अभिलेख व्यवस्थित रुपमा राख्ने साथै कक्षा १-३ को निरन्तर बिधार्थी मूल्याङ्कन पद्धत्ति (Continuous Assessment System) प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने।

२०. विद्यालयमा भएका सम्पूर्ण अभिलेखहरुलाई अद्यावधिक (Up-to-Date) गरी अभिलेख व्यवस्थापन प्रभावकारी बनाउने ।

२१. विद्यालयको वातावरण स्वच्छ राख्ने साथै हरित विद्यालय र बालमैत्री विद्यालयको अवधारणालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने ।

२२. विद्यालयमा गाउँपालिका द्वारा स्वीकृत मेनु बमोजिम दिवा खाजा (Mid Day Meal) खुवाउने प्रवन्ध गर्ने साथै विद्यालयमा पत्रु खाना (Junk Food) पूर्ण रुपमा बर्जित गर्ने।

२३. कक्षागत रुपमा विद्यार्थीका अभिभावकको भेला गरी मासिक रुपमा अभिभावक सँग विषयगत शिक्षक सहित अन्तरक्रिया संचालन गरी पृष्ठपोषण लिने दिने व्यवस्था गर्ने।

२४. संघ, प्रदेश र स्थानीय तहवाट विद्यालयमा प्राप्त भौतिक निर्माण लगायतका अन्य शैक्षिक कार्यक्रमहरुलाई समयमै सम्पन्न गर्ने गराउने व्यवस्था गर्ने।

२५. तीनै तहका सरकार बाट विद्यालयमा प्राप्त विभिन्न किसिमका अनुदान रकमलाई तोकिएको शिर्षकमै खर्च गरी प्रभावकारी रुपमा समयमै कार्यान्वयन गरी आवश्यक कागजातहरु शिक्षा शाखा तथा सम्बन्धित निकायमा समयमै पेश गर्ने।

२६. विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि सम्बन्धित सबै सरोकारवालाहरुको सहभागितामा शैक्षिक योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्ने।

२७. विद्यार्थीको विद्यालय छाड्‌ने, कक्षा दोहोर्याउने, अनुत्तीर्ण हुने दर र अनुपस्थिति दरलाई घटाउने।

२८. पाठ्यक्रम, शिक्षक निर्देशिका, शैक्षिक सामग्री, सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई शिक्षण सिकाइ क्रियाकलाप लगायत विद्यालयको व्यवस्थापनमा अनिवार्य प्रयोगको व्यवस्था मिलाउने।

२९. प्रारम्भिक बाल विकास केन्द्रलाई विद्यालय संरचना भित्रै राष्ट्रीय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार संचालन गर्ने व्यवस्था गर्ने।

३०. आधारभूत तह (कक्षा १-५) मा वि.व्य.स. अध्यक्ष र प्र.अ. तथा आधारभूत तह (कक्षा ६-८) र माध्यमिक तह (कक्षा ९-१०/१२) मा प्र.अ. र विद्यालय सहायक लेखा सम्बन्धी काम गर्ने शिक्षकको संयुक्त दस्तखतमा विद्यालयको खाता सञ्चालन गर्ने साथै विद्यालयको खाता एउटै बैंकमा मात्र सञ्चालन गर्ने।

३१. राष्ट्रीय शिक्षा नीति, शिक्षा ऐन र शिक्षा नियमावली तथा प्रचलित कानूनको पूर्ण रुपमा पालना गर्ने गराउने।

३२. कार्यालयको कामकाज वाहेक विद्यालयमा अनुपस्थित हुन नहुने। विदामा वस्नु परेमा शिक्षा शाखाको अनुमति लिने।

३३. गाउँपालिकाबाट खटिएको अनुगमनकर्ताले दिएको सल्लाह सुझाबलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने गराउने ।

३४. अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७७ का प्रावधानहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने प्रबन्ध गर्ने।

३५. विद्यालय समायोजन, दरबन्दी मिलान तथा प्रधानाध्यापक छनौट सम्बन्धी कार्यविधि, २०७९ र शैक्षिक सुधारको कार्ययोजना, २०८२ को प्रावधान वमोजिम आ-आफ्नो विद्यालयको स्वःमूल्याङ्कन गरी जेठ महिनाको पहिलो हप्ता भित्र विद्यालय समायोजनको प्रक्रिया अगाडी बडाउने तथा यस सम्वन्धमा गाउँपालिकालाई आवश्यक सहयोग र सहजीकरण गर्ने।

३६. विद्यालयको समग्र बिकासको लागि वडा शिक्षा समितिको अगुबाई, सहकार्य र समन्वयमा अभिभावक सहयोग तथा साझेदारी जुटाउने साथै समुदाय परिचालन गरी विद्यालय प्रति समुदायको अपनत्व विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने।

३७. विद्यालयको पुनर्निर्माण कार्य अन्तर्गत भौतिक संरचना निर्माण गर्दा Build Back Better को अवधारणालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने गराउने। साथै विद्यालयमा विभिन्न कारणले भएको सिकाइको क्षतिलाई वैकल्पिक माध्यमको उपयोग गरी सिकाइ आपूरण गर्ने।

३८. विद्यालयका प्रत्येक शिक्षक सँग मासिक रुपमा पुरा गर्नुपर्ने कार्यसम्पादन सूचक तथा सम्पादन गर्नुपर्ने विस्तृत क्रियाकलापसहितको कार्य सम्पादन सम्झौता गर्ने।

३९. माथी उल्लेखित कार्यसम्पादन सूचकहरुको प्रगति प्रतिवेदन त्रैमासिक रुपमा शिक्षा शाखामा पेश गर्ने। प्रतिवेदन साथ सम्पादन भएका कार्यहरु प्रमाण सहित र सम्पादन हुन नसकेको हकमा कारण सहित प्रतिवेदन पेश गर्ने।

४०. माथी उल्लेखित कार्यसम्पादन सूचकहरु कार्यान्वयन भए नभएको सम्बन्धमा अनुगमन गर्न शिक्षा समितिले आवश्यक संयन्त्र गठन गर्ने।

४१. माथी उल्लेखित कार्यहरु सम्पादनको लागि सानीभेरी गाउँपालिकाले आवश्यकता अनुसार सहजीकरण, समन्वय र सहयोग गर्ने।

४२. कार्यसम्पादन सम्झौताको मूल्याङ्कनको आधारमा विद्यालयमा सेवा सुविधा वितरण गर्नुका साथै यसलाई दण्ड र पुरस्कारको आधारको रुपमा उपयोग गर्ने।

४३. यो कार्यसम्पादन सम्झौता शैक्षिक सत्र २०८२ तथा आर्थिक वर्ष २०८१/८२ र आर्थिक वर्ष २०८२/८३ सम्म लागू हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज