नेभिगेशन
समाज

चौरजहारीमा करार कर्मचारी हटाएको भन्दै माओवादीको आपत्ति

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले करार सेवा केहि कर्मचारीहरु हटाएको भन्दै नेकपा (माओवादी केन्द्र) चौरजहारी नगर कमिटिले आपत्ति जनाएको छ । 

आईतबार नगर कमिटी अध्यक्ष मोति प्रसाद पोखरेल र सचिव अर्जुन कुमालले एक विज्ञप्ती जारी गरेर हचुवाको भरमा गरिएको गैर जिम्मेवार निर्णय सच्याउन माग गरिएको छ । 

पूर्वाग्रही ढंगले करार कर्मचारी हटाएको भन्दै  तीन पेशागत संगठनहरु नेपाल राष्ट्रिय कर्मचारी संगठन, अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी श्रमिक संघ चौरजहारी नगर समितिले विज्ञप्ती प्रकाशन गरेर बिरोध जनाएका थिए । 

नेकपा माओवादी केन्द्र चौरजहारी नगर समितिले उक्त विज्ञप्तीमा ऐक्यबद्धता जनाउँदै सात जना कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

विज्ञप्तिमा चरम बेरोजगारीको समस्या बढिरहेको वर्तमान अवस्थामा थोरै ज्यालादारीमा विगत ८ वर्षदेखि सेवामा कार्यरत कर्मचारीहरूलाई कुनै पनि पूर्व जानकारी विना र विना कारण बर्खास्त गर्नु श्रम ऐन, २०७४ को दफा १४४ को उपदफा १ (ग) विपरीत कार्य भएको भन्दै तत्काल निर्णय सच्याई नियमित काममा खटाउन भनिएको छ । 

यस कार्यलाई गैर कानुनी भन्दै माओवादीले यस्ता गैर जिम्मेवार निर्णयहरू नगर्न चौरजहारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयलाई चेतावनी समेत दिएको छ । 

गत असार २७ गते सम्पन्न चौरजहारी नगरकार्यपालिका बैठकले सात जना करार कर्मचारीहरुको करार सम्झौता नविकरण नगर्ने निर्णय गरेको थियो । सोहि अनुसार साउन ९ गतेका दिन मात्र करार अवधि थप भएका १०७ जना मात्र कर्मचारीहरुको नाम सार्वजनिक भएको थियो । 

करार सम्झौता नविकरण नभएका कर्मचारीहरुमा असिस्टेन्ट सव इन्जिनियर पदमा कार्यरत मनोज शाह, सामाजिक परिचालक ९पशु सेवा प्राबिधिक० पदमा कार्यत प्रज्वल शर्मा, मनोसामाजिक परामर्श सेवा कार्यक्रममा कार्यरत मनोपरामर्शकर्ताहरु खिम बहादुर महतारा र अनिता शर्मा, द्वन्द्व पीडित स्वयंसेवक पदमा कार्यरत भद्रशिला बटाला, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत प्राविधिक सहयाक प्रबिण थापा र रोजगार सहायक खडक ढकाल रहनुभएको छ । 

5ef1b508-31bd-4d0c-af44-f77766524968-1753702682.jpeg

यसैबिच चौरजहारी नगरपालिकाले सात जना कर्मचारीहरु गैर कानुनी रुपमा नहटाएको जनाएको छ । केही कार्यक्रम सकिएको र केही रिक्त पदमा दरबन्दी अनुसारका स्थायी कर्मचारी आएपछि करारका कर्मचारीको करार सम्झौता नवीकरण गर्न नसकिएको नगरपालिकाको भनाइ रहेको छ ।  

नगरपालिकाले कुनै पनि पूर्वाग्रह नराखेको, कार्यक्रम फेज आउट भएपछि सम्बद्ध कर्मचारीको करार स्वतः समाप्त भएको नगरपालिकाले स्पष्ट पारेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज