सल्यानमा विवाह घरमा झडप हुँदा दुलहीका दाईको मृत्यु

बिहीबार, वैशाख १३, २०८१

सल्यानमा विवाह भएको एक घरमा झडप हुँदा दुलहीका दाईको मृत्यु भएको छ । 

कुमाख गाउँपालिका –५ कौछे मा भएको विवाहमा निमन्त्रणा नै नगरेका केहि युवाहरु आएर विवाद गरेपछि भएको झडपमा परी एक जनाको मृत्यु भएको हो । घटना गत मंगलबार राति करिब १० बजेको हो । 

इलाका प्रहरी कार्यालय रागेचौरका प्रमुख प्रहरी निरीक्षक शेरबहादुर बस्नेतले मृत्यु हुनेमा कुमाख गाउँपालिका ६ वडागाउँ घरभई हाल वडा नव्बर ५ कौछै निवासी २१ वर्षिय विकाश ओली रहेको बताउनुभयो ।

उहाँका अनुसार वैशाख ११ गते दिउँसो दाङबाट माइती मान्न गएका जन्तीहरु फर्किसकेको र राती नाचगान गर्ने क्रममा केही असम्बन्धित व्यक्तिहरू आएर विवाहका लागि बनाइएको गेट भत्काएपछि विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

सोहि वडाको झारकाँडाबाट आएका युवाहरुले मृतक ओलीसहित अन्य स्थानीयलाई आक्रमण गरेका थिए । गम्भिर घाईते भएका ओलीलाई अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो । 

झडपमा परी कुमाख गाउँपालिका -५ का १८ वर्षका सुशील केसी घाइते हुनुभएको छ । उहाँको नेपालगन्ज नर्सिङ्गअस्पतालमा उपचार भइरहेको छ ।

झगडामा संलग्न ११ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  भेरी अञ्चल अस्पतालमा पोष्ट मार्टमपछि मृतकको आज दाहसंस्कार गरिएको छ । 

मृतक ओलीका भिनाजु गोबिन्द केसीका अनुसार जन्तीहरु फर्केपछि दुलहीको आमा बिरामी हुनुभएको थियो । घरमा मान्छे बिरामी भएको बेला निमन्त्रणा नै नगरिएका युवाहरु आएर नाचगान गर्ने भन्दै होहल्ला गरेका थिए । आमा बेहोस् हुनुभएकोले अहिले होहल्ला र नाचगान नगरौ भन्दा दुलहीका दाई विकास ओली लगायतलाई उनीहरुले आक्रमण गरेको केसीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्