चौरजहारीमा परिक्षणका लागि रोपिएको चैते धानमा ‘हिस्पा’ किराको प्रकोप

मंगलबार, वैशाख ११, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा परिक्षणका लागि रोपिएको चैते धानमा ‘राईस हिस्पा’ किराको प्रकोप देखिएको छ । कृषि विकास कार्यालय मार्फत चौरजहारी नगरपालिका क्षेत्रका सिमसार क्षेत्रमा गत चैत दोश्रो सातातिर रोपिएको चैते धानमा किराको प्रकोप देखिएको हो । 

चौरजहारी नगरपालिकाका कृषि अधिकृत राजेश्वर शर्माका अनुसार नगरपालिकाको ३, ४ र ७ नम्वर क्षेत्रमा परिक्षणका लागि रोपिएको चैते धानमा बढी मात्रामा किराको प्रकोप देखिएको छ । राईस हिस्पा नामक किराको कारण भर्खरै बढ्न थालेको धानमा सेतो धब्बा बस्न थालेको शर्माले बताउनुभयो ।

उहाँका अनुसार यो किराले बोटमा सेतो धब्बा बसाउने, सनलाईट लिन नदिने र बृद्धिविकास रोकिने समस्या निम्त्याउँछ । यो किरा नियन्त्रण नभएमा चैते धानको खेती चौपट हुने किसानहरुको चिन्ता रहेको छ । 

कृषि अधिकृत शर्माले तत्कालको लागि संस्कृति विधिमार्फत किराको नियन्त्रण गर्न नगरपालिकाले किसानको बारीमै पुगेर सिकाउन थालेको छ । धान रोपेको जग्गामा पानी जम्मा गर्ने र डोरीको सहायताले किरालाई बोटबाट झार्ने उपाय सिकाईएको छ । किरा झरेर जम्मा भएको पानी बगाउन उहाँले किसानहरुलाई अनुरोध गर्नुभयो ।

यसो गर्दा किराका अण्डा र लार्भाहरु बगेर जाने भएकोले प्रकोप नियन्त्रण गर्न सकिन्छ । यो पहिलो चरणको प्रकोप नियन्त्रणको प्रयास हो । यसो गरेर पनि किरा नियन्त्रणमा नआएमा बिषादी प्रयोग गर्न सकिने कृषि अधिकृत शर्माले जनाउनुभयो ।

केहि किसानहरुले भने सल्लीकुसुम र बेलको पातको रसमा गाईभैसीको पिसाब मिसाएर धान रोपिएको खेतमा छर्न थालेका छन् । यो उनीहरुको परम्परागत तरिका हो । 

धानको उत्पादन बढाउने भन्दै कृषि विकास कार्यालयले चैते धान बिस्तार कार्यक्रम सञ्चालन गरेको थियो । कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले चौरजहारी नगरपालिकाको ३, ४, ५, ७, ८, १० र १३ नम्बर वडामा परीक्षण स्वरूप चैते धान रोपिएको बताउनुभयो । जहारीखोला आसपासको करिब एक हेक्टर क्षेत्रफलमा चैते ५ नामक धानको रोपाई गरिएको हो ।

निमित्त प्रमुख केसीका अनुसार गहुँ उत्पादन नहुने सिमसार क्षेत्रमा चैते धानको खेती गरी धान उत्पादनमा वृद्धि गर्ने उद्देश्यले जिल्लामा चैते धान विस्तार कार्यक्रम सञ्चालन गरिएको हो । गत वर्ष मुसीकोट नगरपालिकामा चैते धानको परीक्षण सफल भएको थियो । 

खोला आसपासका सिमखेतमा गहुँको उत्पादन नहुने भएकोले एक सिजन उक्त खेत बाँझै रहने अवस्थालाई रोक्न चैते धानको परीक्षण थालिएको केसीको भनाई छ । बर्षेको तुलनामा चैते धानको उत्पादनदर राम्रो हुने बताईन्छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्