कविता : प्रिय कर्णाली !

सोमबार, फागुन १४, २०८०
  • बिन्दु चन्द

म तिम्रो काखमा लुट्पुटिएर
हरेक दुखलाई भुलिरहेकी छु
आनन्दको सास फेरिरहेकी छु
तिमीसँग गहिरो सम्बन्ध गाँसेर
तिम्रो अङ्गालोमा बाँधिएकी छु 
कति सुन्दर छौ तिमी ।

तिमीलाई नियालेर हेरिरहँदा
तिम्रो छातीमा टाँसिएर सुनिरहेकी छु 
तिम्रा ढुकढुकिका कथाहरु
मन मष्तिस्कमा तिमीलाई राखेर
सोचिरहेकी छु एउटै कुरा
म पनि स्वतन्त्र बिउ बनि 
तिम्रो आँगनभरि छरिएर उम्रिन पाए

प्रिय कर्णाली, 
तिमी आफु कर्णाली हुनुमा
कतिको गर्व गर्छौ ?
म त तिम्रो सन्तान हुन पाउँदा
आफुलाई भाग्यशाली ठान्छु
किन थाहा छ ?
तिमी हजारौँ सम्भावना बोकेर मुस्कुराइरहेका छौ
तिम्रो सभ्यता, संस्कृति, भेषभुषा, भाषाले
धेरै आयामहरु उजागर गरेका छन्
तिम्रो समृद्धिमा जल, जमिन, खनिज, जडिबुटिले
महत्वपुर्ण हिस्साको रुपमा आफ्नो हक जताइरहेका छन् ।

तिम्रो आँगनमा मुठि रोपेर 
मुरि उब्जाउन सकिन्छ
प्राकृतिक र साँस्कृतिक विविधतासँगै 
लाखौँ पर्यटन भित्र्याउन सक्ने क्षमता छ तिमिसँग
परिपक्क छौ तिमी
सबथोक छ तिमीसँग
हर कुराले भरिपुर्ण छौ तिमी
तिम्रो भौगोलिकतासँगै हरकुराहरु फराकिलो छ ।

अब एकचोटि ... अब एकचोटि
तिमीभित्र राज्य गर्नेहरुको हृदयलाई पनि 
अलिकति फराकिलो बनाइदेउन
जहाँ गरिब, दुखी, निमुखा जनताको
कठिनपूर्ण र सङ्घर्षशील जीवनको 
कथा व्यथाहरु अटाउन सकोस्
आवाजबिहिन व्यक्तिहरु पनि बोल्न सकुन्
फक्रदै गरेका ससाना कोपिलाहरु
तिम्रै माटोको कण बनेर
त्यहि माटोमा अङ्कुराउन र मुस्कुराउन सकुन्
निरन्तर प्रगतिशील विकासले
दुर्गमतालाई घटाउन सकोस्
सोच खोजमा सकारात्मक परिवर्तन गरेर
सिर्जनशिलता र बौध्दिकतामा निखारपन ल्याइ
विकासका ढोकाहरु सजिलै खोल्न सकियोस्
आफ्नो हक जताएर 
समाजमा निरङ्कुस जाल फिजाउनेहरुको अन्त्य होस्
अनि दुर्गमलाई सुगममा परिणत गरेर
सुगन्धित वास्ना जताततै छर्न सकियोस् ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०६:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : त्यो युद्ध र सपनाहरु
सोमबार, फागुन १४, २०८०

कविता : छोरा तिमी पुलिस बन !
सोमबार, फागुन १४, २०८०

कविता : पालमुनीको बसाई 
सोमबार, फागुन १४, २०८०